समाज


चितवन दुर्घटनामा प्रहरीको निष्कर्ष: भ्यान चालकको लापर्बाही देखियो

एउटै घटनामा आमाबुवा र हजुरआमा गुमाएर टुहुरी बनिन् ४ वर्षीया बालिका
चितवन दुर्घटनामा प्रहरीको निष्कर्ष: भ्यान चालकको लापर्बाही देखियो

दुर्घटनामा ज्यान गुमाउने गर्भवती रेनुका र उनका पति सरोज पहाडी।


सुनिता विष्ट
असार ९, २०८२ सोमबार १३:२२, हेटाैँडा

गएको शनिबार हेटौँडाबाट नारायणगढ जाँदै गरेको इभी भ्यान चितवनको राप्ती नगरपालिका–३ स्थित पूर्व पश्चिम राजमार्गमा दुर्घटना ग्रस्त भयो। 

हेटौँडा–१० बसपार्कबाट १० जना यात्रु लिएर नाराणगढको लागि छुटेको ०३–००१ ज २९९ नम्बरको ईभी भ्यान धनगढीबाट काकडभिट्टा जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको यात्रु बससँग ठक्कर खाँदा एकै घरका तीनसहित (एक गर्भवती महिलासमेत) सात जनाले ज्यान गुमाए।

हेटौँडाबाट नारायणगढतर्फ जाँदा देब्रे लेनबाट गुड्नुपर्ने इभी भ्यान राप्ती नगरपालिकाको लक्ष्मी नारायण चोक नजिकै पुगेपछि एक्कासी ढलपल गर्दै दाहिने लेनमा पुग्यो। जसमा चालक थिए,  हेटौंडा-१० का राजु थिङ। दुर्घटनामा उनले पनि ज्यान गुमाए।  

ईभीमा सवार घाइते यात्रुले प्रहरीलाई दिएको जानकारी उदृत गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्रीराज शर्माले भने, ‘अगाडी एउटा ट्रक आफ्नै स्पिडमा कुदिररहेको थियो। सोही ट्रकलाई ओभरटेक गर्न इभीका चालकले आफ्नो गाडीको स्पिड बढाए। यत्तिकैमा हुइकिएर आएको बसमा ईभी भ्यान ड्याम्मै ठोकिँन पुग्यो।’ 

दुर्घटनामा परेर भ्यानका चालक थिङसहित ७ जनाको मृत्यु भयो। जसमा एक गर्भवती महिलासहित एकै परिवारका ३ जनाले ज्यान गुमाए। 

दुर्घटनामा हेटौँडा उपमहानगरपालिका- ५ कि ५३ वर्षीया मैंयाकुमारी न्यौपाने पहाडी, उनका ३५ वर्षीय छोरा सरोज पहाडी र गर्भवती बुहारी २७ वर्षीया रेनुका कँडेल, हेटौंडा-४ का ५५ वर्षीय सोमप्रसाद रूपाखेती, रौतहटको चन्द्रनिगाहपुर-६ की ३१ वर्षीया सिता कुमारी, भ्यान चालक हेटौंडा - १० का राजु थिङ र लमजुङको बेसीसहर-३ घर भई हाल भरतपुर-६ चोकबजार बस्ने पूर्णकुमारी खड्काको दुर्घटनामा मृत्यु भयो। 

यो दुर्घटनामा नयाँ सन्तानलाई संसार देखाउन अस्पताल हिडेँकी एउटी आमा आफैँले संसारबाट बिदा लिनु पर्‍याे। घरमा रहेकी चार वर्षीया छोरी (रिद्या)लाई नयाँ सानुमान्छे (भाइ) लिन जान लागेको भनेर फकाएर रेनुका पति र सासुआमासँग अस्पताल जाँदै थिइन्। 

पति, सासु र जन्मने तयारीमा रहेको पेटको बच्चासहित उनी अब कहिल्यै नफर्कने गरी बिदा भएकी छन्। एउटै घटनामा आमाबुवा र हजुरआमा गुमाएकी चार वर्षीया बालिकालाई अहिले मावलीले जिम्मा लिएका छन्। 

बालिका (रिद्या पहाडी)का मावली तर्फका हजुरबुवा महोत्तरीको बर्दिबास निवासी केदार कोइरालाले नेपालखबरसँग भने, ‘हामीले एउटै घटनामा पेटको बच्चासहित चारजना आफन्त गुमाऔँ। दुर्घटनामा आमाबुवाको मृत्यु हुँदा चार वर्षीया नातिनी टुहुरी भएकी छन्। घरमा हेरचाह गर्ने कोही नभएपछि उनलाई हामीले हिजो (आइतबार) यतै (बर्दिबास) लिएर आएका छौँ।’

रिद्यालाई यसैवर्ष आमाबुवाले घर नजिकैको स्कुलमा भर्ना गरेका थिए। उनलाई आमाबुवाले ‘हामी भाइ लिएर आउँछौँ, तिमी घरमै बस है’ भनेर फकाएर अस्पतालतिर लागेका थिए। 

‘भान्जी (रेनुका) सानै हुँदा ज्वाइँ बित्नुभयो। उनलाई बहिनी (आशा)ले हाम्रै साथ सहयोगमा  हुकाएकी थिइन्,’ कोइरालाले भने, ‘एउटा चालकले लापरबाही गर्दा सानी नानी टुहुरी बन्नुपर्‍याे।’

काेइरालाले आजभोलि सार्वजनिक गाडी चढ्न पनि डरमर्दो अवस्था सिर्जना हुँदै गएको बताए। 

‘हामी कुन गाडी चढ्ने, कुन नचढ्ने दोधारमा पर्न थालेका छौँ। जनताले दिनहुँ ज्यान गुमाउँदा पनि सरकारी निकायलाई वास्ता छैन। सर्वसाधारण त्रासमा छन्। सडकको अवस्था त्यस्तै छ। यातायात व्यवसायीको दादागिरी छ। उनीहरुको दादागिरीमा सरकार मुकदर्शक बन्छ,’ काेइरालाले आक्राेस व्यक्त गरे।

ईभीका चालकको चरम लापरबाही देखियो प्रहरी

चितवन दुर्घटनमा मृत्यु भएका प्रायः सबैको घटनास्थलमै ज्यान गएको प्रहरी बताउँछ। बसको अगाडिको भाग इभी गाडीको अगाडिको भागलाई किच्याएर बीचको सिटसम्मै पुगेको थियो। जसकारण इभीमा सवार ४ जना बाहेक सबैको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा दुर्घटनाको सबै गल्ति इभी भ्यानकै देखिएको ट्राफिक प्रमुख प्रहरी निरीक्षक शर्मा बताउँछन्। उनका अनुसार दुर्घटना हुँदा बस आफ्नै लेनमा थियो भने इभी भ्यान पुरै विपरित लेनमा थियो। इभी भ्यानको ओभरस्पिडका कारण नै दुर्घटना भएको प्रहरीको निष्कर्ष छ। आफ्नै लेनमा गुडिरहेको बसमा गएर इभी भ्यान ठक्कर खाएको उनले बताए। 

यो दुर्घटनामा इभी भ्यानको पछाडी सिटमा बसेका ४ जनाको भने ज्यान जोगिएको छ। घाइते ४ जनामध्ये हेटौँडा–८ बस्ने ३४ बर्षकी गंगा घलानको अवस्था गम्भीर छ भने हटौँडा–१३ बस्ने वर्ष १६ का सक्षम थापा, हेटौँडा–१२ का ३२ वर्षका सिंहबहादुर घलान र हेटोँडा–४ का विष्णु लम्सालको अवस्था मध्यम छ। उनीहरु बसैको चितवनको एलाईभ अस्पतालमा उपचार भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad