काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रमा वर्षाको पानी जमेको खाल्डोमा बालक डुबेपछि खाल्डाखुल्डी पुर्न नगरपालिकाले वडाहरुलाई परिपत्र गरेको छ।
मेयर उपेन्द्र कार्कीले त्यो घटना हुनेबित्तिकै सबै वडाहरुलाई त्यसमा ध्यान दिन परिपत्र गरेको नेपालखबरलाई जानकारी दिए। ‘यस्ता खाल्डाखुल्डी नहोस् भनेर हामीले ध्यान दिएका छौँ,’ उनले भने, ‘वडाहरुलाई पनि परिपत्र गरेका छौँ यसमा ध्यान दिनुहोस् भनेर।’
मेयर कार्कीले वडाहरुलाई यस्ता काम गर्न बजेट समेत दिइएको बताए। उनले भने, ‘यस्ता खाल्डाखुल्डी तत्कालै पुर्न, मर्मत कार्य गर्न हामीले वडा–वडालाई बजेटसहित एउटा कार्यक्रम दिएका छौँ।’
घटना कागेश्वरी मनोहरा नगरपालिका–६ को मुलपानी बाबाचोकनजिकै गत शुक्रबार साँझ अन्दाजी ५ वर्षीय बालक खेल्दाखेल्दै खाल्डोमा खसेका थिए।
सीसीटीभी क्यामेरामा कैद भएको त्यो दृश्य समाजिक सञ्जालमा भाइरल बनेको थियो। मेयर कार्कीले त्यो घटना घट्ने बित्तिकै वडा–६ का वडासदस्यले गएर खाल्डो पुरेको बताए।
‘त्यही बेलामा तत्कालै हाम्रो वडासदस्यहरु गएर पुर्नु भएको छ,’ उनले भने, ‘तर, त्यो बाटो बन्दैछ। अहिले अस्थायीरुपमा खाल्डो नहुनेगरी पुरिएको छ।’
डुबेका बालकको करिब ३० सेकेन्डपछि सकुशल उद्धार भएकाे थियाे।
Shares

प्रतिक्रिया