समाज


बमले क्षतविक्षत भएका गौरीशंकर : आलमलाई सफाइ दिने न्यायाधीशले अस्वीकार गरेको प्रमाण

काठमाडौँ आए पीडा सुनाउन
बमले क्षतविक्षत भएका गौरीशंकर : आलमलाई सफाइ दिने न्यायाधीशले अस्वीकार गरेको प्रमाण

उजिर कार्की
असार २२, २०८२ आइतबार १९:३५, काठमाडौँ

उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले नदेखेको आफ्नो शरीरको खत देखाउन काठमाडौँ आइपुगेका छन्, भारतको बिहार राज्यको सितामाढीका गौरीशंकर राम चमार। 

उनका कान चुँडिएका छन्। ओठदेखि, घाँटी, छाती सबै जलेको छ। देख्दै गाह्रो लाग्ने उनका शरीरका यी भाग उनी सेतो कपडाले ढाक्छन्। 

तर उनले कपडाले ढाकेका यी भाग न्यायाधीशले पनि नदेख्लान् भन्ने उनलाई लागेको थिएन। आज जोकोहीलाई देखाउँदै र सुनाउँदै हिँडेका आफ्ना पीडा उनले जिल्ला अदलात रौतहट र उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीशलाई पनि देखाइसकेका र सुनाइसकेका थिए। 

जिल्ला अदालतले ठहर गरेको घटना उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनले नदेखेपछि उनी बाध्य भएर काठमाडौँ आउन परेको हो। थारु र महर्जनले बमको छर्रामा परेका चमारका यी भागलाई स्टोभ पड्किएको भनेर पूर्वमन्त्री अफताब आलमलाई सफाइ दिए। 

आलम उच्च अदालतबाट सफाइ पाएपछि थुनामुक्त भइसकेका छन्। प्रमाण अभाव देखाउँदै उच्चले सफाइ दिएको थाहा पाएपछि काठमाडौँ आइपुगेका चमार भने त्रासमा छन्। आलमका मान्छेले यसअघि पनि उनको परिवारलाई धम्क्याएका थिए। अझै पनि उनमा त्यो त्रास हटेको छैन। 

आलम उच्च अदालतबाट छुटेपछि झनै त्रास बढेको चमार बताउँछन्। उनीसँग अब सर्वोच्च अदालतले आलमलाई जेलमै फर्काइदिन्छ र न्याय पाइन्छ कि भन्ने आश बाँकी छ। 

गौरीशंकर आलमको गाउँ रौतहटको राजपुरस्थित इँटाभट्टामा काम गर्थे। २०६४ चैत २७ गतेका दिन उनलाई इँटाभट्टामा काम गरेको पैसा लिन बोलाइएको थियो। सँगै काम गर्ने तीनजना भारतीय नागरिकसँगै शेख इद्रिसको घरमा पुगेका थिए। 

आइतबार राजधानीमा पत्रकारसँग त्यो दिन सम्झिए, ‘भाइ यता आएर तिमी आफ्नो पैसा लिएर जाऊ भनेर बोलाए। म घरको ढोकामा पुग्दा बम पड्कियो। म पनि विस्फोटमा परेँ। मलाई थाहै थिएन बम बनाइरहेको। बम लागेपछि घर नजिकै पानी भएको ठाउँमा पसेँ। त्यहाँबाट फेरि भागेँ र गहुँ खेतमा गएर लडेँ।’

त्यसपछि उनले एकै पटक सितामढीमा ठेलामा पुगेपछि मात्रै थाहा पाएको बताए।

उनले आमालाई सोधे– ‘म कहाँ छु, के भइरहेको छ?’ 

आमाले उनलाई अस्पताल लैजाँदै गरेको बताइन्। 

‘तिमी चिन्ता नगर ठिक हुन्छ,’ आमाले भनिन्। 

त्यसपछि पनि के भयो थाहा पाएनन्। तीन महिना अस्पतालमै बित्यो। अस्पतालमा साढे ३ लाख भारु खर्च भयो। सरकारले घर बनाउनका लागि दिएको इँटा समेत बेचेर उपचार गरे। 

तर आलमले एकपटक पनि सोधेनन् उनको चुनावी अभियानमा विस्फोटमा परेका इँटाभट्टाका मजदुरको अवस्था कस्तो छ। एक रुपैयाँ खर्च पनि खेपेनन्। 

‘आज म सरकारसँग निवेदन गर्छु, त्यस्तो मान्छेलाई छाड्नु भएन। कडाभन्दा कडा सजाय दिनु प¥यो,’ चमारले बिन्ती गरे। 

उनकै गाउँका अरु दुईजना पनि विस्फोटमा परेका छन्। एक जनाको हातमा र अर्काको खुटामा चोट लागेको उनले बताए। तर त्यहाँ अरु के भयो उनलाई थाहा भएन। 

बम विस्फोट भएको कुरा पनि पछि मात्रै थाहा पाए। 

आलमका मान्छेले भने घरमै पुगेर उनकी आमालाई पटकपटक अब गौरीशंकर नबाँच्ने बताउँथे। दुईचार सालपछि तिम्रो छोरा बाँच्दैन भन्थे। 

‘अहिले त काम गर्न पनि गाह्रो छ। मलाई अचेल रोजगारी पनि कसैले दिँदैनन्। अनि मैले कसरी काम गरेर जिउने। म त तमासा जस्तो भइसकेँ, जहाँ जाँदा पनि बम विस्फोटमा परेको मान्छे यही हो भन्छन्, घेरा लाग्छन्। तर मलाई यो हालतमा पु¥याउने मान्छे आज खुलमखुला छन्,’ गौरीशंकरले दुखेसो पोखे, ‘उसलाई (आलम) कुनै पनि हालतमा छाड्नु भएन, हामी जस्तो पीडित भएका छौँ, कडाभन्दा कडा सजाय दिनु प¥यो।’

अब उनको कुरा सर्वोच्च अदालतले सुन्न बाँकी छ। उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरेको छ।

यही साता सर्वोच्चमा पुनरावेदन गर्ने महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले बताए। उच्च सरकारी वकिल कार्यालयले त्यही अनुसारको तयारी गरेको छ। गौरीशंकरलाई अब सर्वोच्चबाट न्याय पाउने आशा बाँकी छ।

अफताब आलममाथि चुनाव जित्न बम पड्काउने तयारी गरेको र सो बम पड्किएर घाइतो भएका कार्यकर्ता र इँटाभट्टामा काम गर्ने मान्छेलाई जिउँदै जलाएर मारेको अभियोग छ। रौतहट जिल्ला अदालतले यही अभियोगमा आलमसहित ४ जनालाई जन्म कैदको फैसला सुनाएको थियो। 

जेठ १४ गते उच्च अदालतले भने यो घटना भएको कुनै प्रमाण नै नरहेको भन्दै आलमलाई सफाइ दिएको छ। यो घटनाका प्रतिवादीलाई बम विस्फोटसँगै कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको छ। उच्चबाट दुवै अभियोमा सफाइ पाएका छन्। उच्चले सफाइ दिँदा अभियोग दाबी अनुसार उक्त स्थानमा बम विस्फोट भएको र मान्छेलाई जिउँदै जलाएको प्रमाण नदेखिएको ठहर गरेको छ। 

यस्तो फैसला गर्ने उच्चका दुवै न्यायाधीश छानबिनमा तानिएका छन्। न्याय परिषदले न्यायाधीशमाथि छानबिन थालेको छ। तर राजपुर घटनाको छिनोफानो भने अब सर्वोच्च अदालतबाटै हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad