समाज


त्रिशूली नदीमा २ शव भेटिए, रसुवागढीबाट बेपत्ताको शव हुनसक्ने आशंका

धादिङको बेनिघाटमा जलाउँदै गरेको शव पनि बाढीले बगायो
त्रिशूली नदीमा २ शव भेटिए, रसुवागढीबाट बेपत्ताको शव हुनसक्ने आशंका

सुनिता विष्ट
असार २४, २०८२ मंगलबार ११:२९, हेटाैँडा

धादिङस्थित त्रिशूल नदी किनारमा दुई पुरुषकाे  शव फेला परेको छ। धादिङ प्रहरीका अनुसार ती शवकाे सनाखत हुन बाँकी छ।  

मंगलबार बिहान १० बजेतिर गजुरी गाउँपालिका–६ बेल्खुस्थित त्रिशूली नदी किनारमा अन्दाजी ३५-३६ वर्षका एक पुरुषको शव फेला परेको धादिङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास हमालले जानकारी दिए। उनका अनुसार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका हुन्।

त्यसैगरी, आज बिहान नै गल्छी गाउँपालिका–२ केउरेनीटारस्थित त्रिशूली नदी किनारमा अन्दाजी ३५-४० वर्ष उमेरका अर्का पुरुषको पनि शव भेटिएको छ।

दुवै शव फेला परेको स्थानमा प्रहरीको टोली पुगेको छ। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। 

शवको पहिचान खुल्न बाँकी रहेको र शवको प्रकृति हेर्दा बाढीले बगाएर ल्याएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। 

ती शव आज बिहान रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीले बगाउँदा बेपत्ता भएकाहरुकाे हुनसक्ने प्रहरीकाे अनुमान छ। यद्यपि, यसकाे पुष्टि हुन भने बाँकी रहेको हमालले बताए।

ती शवलाई पोष्टमार्टमका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ। आज बिहानैदेखि त्रिशूली नदीमा पानीको बहाव अत्यधिक बढेको छ। 

यसैबीच धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित त्रिशूली किनारमा जलाउँदै गरेको एउटा शव पनि बाढीले बगाएको छ। शवदाहको बेला अकस्मात आएको बाढीले चितासहित शव बगाएको स्थानीय कुमार बस्नेतले जानकारी दिए। 

जिल्ला प्रशासन कार्यालय धादिङ, नुवाकोट र रसुवाले संयुक्त रूपमा जारी गरेको सूचनामा असार २३ गते राति भारी वर्षासँगै त्रिशूली नदीको शिर क्षेत्रमा पानीको बहाव उच्च हुँदै गएकाले नदी किनारका बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ। 

सम्भावित बाढी, पहिरो वा अन्य प्राकृतिक विपद्का घटनाबारे नजिकैको सुरक्षा निकायलाई तुरुन्तै जानकारी गराउन पनि प्रहरीले अनुरोध गरेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad