बुद्धिमान एकदिन स्कुल जाँदै थिए। बाटोमा उनले केही देखे। नजिकै गएर हेरे। पाँच सयको नोट रहेछ। टिपौँ कि नटिपौँ, उनले एकछिन् विचार गरे। यताउता हेरे। कसैलाई देखेनन्। अनि त्यो नोट टिपेर खल्तीमा हाले। उनले मनमनै यो पैसाले आफूलाई चाहिने सामान किन्छु भन्ने सोचे। र खुसी भए।
फेरि उनको विचार बदलियो। यो पैसाले सामान किन्न हुन्न। कोही दुखीले खसालेको हुन सक्छ। अति आवश्यक भएको मान्छेको खसालेको हुन पनि सक्छ। फिर्ता दिऊँ त कसलाई दिऊँ? यस्तै सोच्दै उनी विद्यालय पुगे।
शिक्षकले कक्षाकोठामा नाम बोलाउँदै हाजिरी गरिरहेका थिए। बुद्धिमानको नाम आउँदा उनले सुनेनन्। उनको ध्यान त्यहाँ थिएन। आफूले भेट्टाएको पैसा के गर्ने भन्ने सम्बन्धमा उनी निर्णय लिने सोचमा थिए।
उनी सोचमग्न रहेको अवस्थामा शिक्षकले बुद्धिमान तिमी चिन्तित छौ जस्तो छ, के भयो भनी सोधे। उनले पाँच सयको बारेमा बताए।
शिक्षकले सोधे– ‘तिमीले नोट भेटाउँदा कसैले देखेको थियो?’
‘थिएन,’ उनले जवाफ दिए।
कसैले देखेको छैन भने आफैँ राखे हुन्न र? शिक्षकको भनाइ थियो।
‘अरुले नदेखे पनि मेरो मनले त देखेको छ,’ उनले शिक्षकलाई जवाफ दिए।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकाले कार्यान्वयन गरिरहेको हाम्रो खुसी पाठ्यक्रमअन्तर्गत चल्ने खुसी कक्षामा सुनाइने एउटा कथा हो यो।
हाम्रो खुसी कार्यक्रम संयोजक लक्ष्मी भट्टराई पाण्डे भन्छिन्, ‘बालबालिका कथा सुन्दै गर्दा यसको पात्रसँग आफूलाई जोड्छन्। आफ्नो आचरणसँग जोड्छन्। र आफूले आफैँलाई परीक्षण गर्छन्। विद्यार्थीको आचरण परिवर्तन गर्नु र यसका लागि ऊ स्वयमले महसुस गर्नु पाठ्यक्रमको एउटा अपेक्षित उपलब्धि हो।’
खुसी विषयको एउटा शिक्षण विधि कथा हो। विद्यार्थीको उमेरसमूहलाई ध्यानमा राखी कथा तयार गरिएका छन्। कथा सकिएपछि उनीहरूको जीवनसँग जोडिने छलफल शिक्षक र विद्यार्थीबीच सुरु हुन्छ। त्यस्तो छलफलका लागि कस्ता प्रश्न राख्ने भनेर शिक्षकका लागि हातेपुस्तक तयार गरिएको छ। त्यसकै आधारमा तयारी गरेर शिक्षक कक्षाकोठामा जान्छन्। विद्यार्थीका लागि पाठ्यपुस्तक हुँदैन। उनीहरूले प्रश्न उत्तर लेख्नुपर्दैन। लिखित परीक्षा पनि हुँदैन।
अरु विषय महत्त्वपूर्ण हुन् नि, खुसी पनि पढाउने, सिकाउने विषय हो र? यो किन चाहियो भन्ने धेरैलाई लाग्न सक्छ। तर मध्यविन्दु नगरपालिकाले गत वर्षदेखि आधारभूत तह (कक्षा १–८) मा हाम्रो खुसी पाठ्यक्रम लागू गरेको छ। विद्यार्थीलाई खुसी बनाउन अनिवार्य विषयको रूपमा खुसी पाठ्यक्रम समावेश गरिएको छ।
बालबालिका खुसी हुँदा अरु विषय राम्ररी सिक्छन् र बाल्यकालदेखि नै खुसीको बिजारोपण गरियो भने उनीहरू तनावमुक्त र खुसी युवाका रूपमा विकसित हुन सक्नेछन् भन्ने उद्देश्य नगरपालिकाले राखेको छ।
खुसी कार्यक्रम संयोजक पाण्डे भन्छिन्, ‘शिक्षित व्यक्ति खुसी मानव बन्न सक्नु पर्ने थियो। आचरण सही हुनुपर्थ्यो। शिक्षाले त्यो काम गर्न सक्नुपर्थ्यो, तर भएन। बालबालिका, युवा र प्रौढ दुखी छौँ। घरघरमा समस्या छ। सम्बन्धमा क्लेस छ। भौतिक सुविधाका लागि रुमल्लिएर समय बित्छ। तर खुसी आफूभित्र छ, स्वयंमा जागृति खुसी हो भन्ने बुझाउन हामीले कार्यक्रम सुरु गरेका हौँ।’

खुसी पाठ्यक्रम कार्यान्वयनका लागि मध्यविन्दु नगरस्तरीय खुसी स्रोत शिक्षक, हरेक विद्यालयमा १/१ जना विद्यालयस्तरीय खुसी स्रोत शिक्षक र खुसी कक्षा सञ्चालन गर्ने कक्षागत खुसी शिक्षकहरू छन्।
खुसी पाठ्यक्रमले जोड दिएको अर्को पक्ष हो सम्बन्ध। पाठ्यक्रममा भनिएको छ –‘जब हामी कसैप्रति स्नेह, विश्वास, सम्मान, कृतज्ञता आदि महसुस गर्छौँ, तब हामीलाई खुसी महसुस हुन्छ। यो खुसी लामो समयसम्म रहन्छ। र सम्बन्धमा बाँच्न मद्दत गर्दछ।’
पाठ्यक्रमले सम्बन्धलाई बुझ्न र यसबाट मिल्ने खुसी लामो समयसम्म रहन्छ भन्ने बालबालिकालाई अनुभूति गराउँछ। तर यस्तो अनुभूतिका लागि न त विद्यार्थीलाई प्रश्नउत्तर लेखेर कण्ठ पार्न लगाइन्छ, न शिक्षकले यसो गर्नुपर्छ उसो गर्नुपर्छ भनेर अर्ती उपदेश नै दिइन्छ।
बालबालिकाको काम भनेको शिक्षकले भनेको सुन्नु हो अर्थात् प्रवचन विधि नै महत्त्वपूर्ण हो भन्ने अझै पनि छँदैछ। तर खुसी कक्षामा उनीहरूलाई आफ्ना कुरा व्यक्त गर्न प्रशस्त अवसर दिइन्छ। उनीहरूलाई सिकाइ प्रक्रियमा सहभागी गराउन अभिव्यक्तिलाई महत्त्वपूर्ण शिक्षण विधिका रूपमा प्रयोग गरिएको छ। यसैकारण खुसी कक्षामा विद्यार्थीहरू म भन्ने म भन्ने भन्दै हात उठाइरहेका हुन्छन्।
खुसी कक्षा कसरी सञ्चालन हुन्छ? कस्ता शिक्षण विधि कसरी प्रयोग हुन्छन्?
पाठ्यक्रमले विद्यार्थी, शिक्षक र अभिभावकमा के प्रभाव पारेको छ?
यसबारेमा नेपालखबरले मध्यविन्दु नगरपालिकाको हाम्रो खुसी कार्यक्रम संयोजक लक्ष्मी भट्टराई पाण्डेसँग गरेको भिडिओ कुराकानी :

प्रतिक्रिया