नेपालमा बाल विवाहको दर अझै पनि उच्च रहेको सरकारी तथ्यांकले देखिएको छ।
राष्ट्रिय बाल अधिकार परिषद्को बालबालिका सम्बन्धी राष्ट्रिय प्रतिवेदन, २०८१ ले नेपालमा अझैपनि बाल विवाहको दर उच्च रहेको देखाएको छ।
सोमबार प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिको बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले यस्तो जानकारी दिएका हुन्।
उनकाअनुसार जनसंख्याको आधारमा ५४ हजारभन्दा बढी बालबालिकाले १८ वर्ष भन्दा कम उमेरमै विवाह गर्ने गरेका छन्।
यसमध्ये ७ प्रतिशत बालबालिका १० देखि १४ वर्षको उमेरमै विवाह गर्ने गरेका छन् भने २२.३ प्रतिशत बालबालिका १५ देखि १७ वर्षको उमेरमा विवाह गर्दछन्।
सूचना अधिकारी चन्दले समग्रमा बाल विवाहको औसत उमेर १६ वर्ष रहेको बताए। उनले बालबालिकाको स्वास्थ्यसम्बन्धी तथ्यांक समेत चिन्ताजनक रहेको बताए।
उनले ५ वर्षमुनिका १९ प्रतिशत बालबालिकाको तौल सामान्यभन्दा कम रहेको बताए। उनकाअनुसार बाल स्वास्थ्यको अवस्था मधेस प्रदेशमा सबैभन्दा कमजोर रहेको देखाएको छ।
उनले भने, ‘जनसंख्याको आधारमा ५४ हजार भन्दा बढी बालबालिकाहरूको १० वर्षमुनि विवाह भएको छ। १० देखि १४ वर्षको उमेरमा विवाह गर्ने बालबालिकाहरु ७ प्रतिशत रहेका छन्। १५ देखि १७ वर्षमा विवाह गर्नेहरु २२.३ प्रतिशत रहेका छन्। समग्रमा अहिले बाल विवाह ३० वर्ष रहेको अवस्था देखिन्छ। जबकी हाम्रो मुलुकी अपराध संहितामा विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ।’
उनले थपे, ‘नेपालको सन्दर्भमा ५ वर्षमुनिका तौल नपुगेका बालबालिका १९ प्रतिशत रहेका छन्। प्रदेशको हिसाबमा सबैभन्दा बढी मधेस प्रदेशमा २७ प्रतिशत रहेको छ। र सबैभन्दा कम बागमती प्रदेशमा राम्रो अवस्था देखिन्छ। नेपालमा उचाई नपुगेको बालबालिका कुल बालबालिकाको २५ प्रतिशत रहेका छन्। ७९ प्रतिशत बालबालिकाहरु अस्पतालमा जन्मिन्छन्।’
सूचना अधिकारी चन्दले सरकारले बाल अधिकार संरक्षण र बाल स्वास्थ्यमा सुधार गर्न नीतिगत सुधार गर्न जरुरी रहेको बताए।
Shares

प्रतिक्रिया