विदेशी उच्च शिक्षासम्बन्धी शैक्षिक प्रमाणपत्र तथा उपाधि समकक्षताको काम अब विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले गर्ने भएको छ।
यसअघि त्रिभुवन विश्व विद्यालयलाई रहेको जिम्मेवारी केही नेपाल ऐन संशोधन मार्फत आयोगलाई दिइएको हो।
विश्वविद्यालय अनुदान आयोग ऐन २०५० संशोधन गरी विदेशी विश्वविद्यालय वा सोसरहको शैक्षिक संस्थाबाट प्रदान हुने शैक्षिक उपाधिको समकक्षता आयोगले निर्धारण गर्ने उल्लेख छ।
केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक साउन १४ गते राष्ट्रपतिले प्रमाणीकरण गरेका थिए। जुन नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ। ऐन २०८३ साउन १ गते देखि लागू हुने छ।
सो अवधिअघि कुनै पनि विदेशी विश्वविद्यालय वा सो सरहका शैक्षिक संस्थाले प्रदान गरेको कुनै शैक्षिक समकक्षता निर्धारण भएकोमा त्यस्तो विश्वविद्यालय वा शैक्षिक संस्थाको त्यस्तो शैक्षिक उपाधिको हकमा पुनः समकक्षता निर्धारण गर्नु पर्ने छैन।
उपदफा (क) बमोजिम समकक्षता निर्धारण गरेको शैक्षिक उपाधि र त्यस्तो उपाधि प्रदान गर्ने विश्वविद्यालय वा शैक्षिक संस्थाले विवरण सहितको अभिलेख त्यसरी समकक्षता निर्धारण गर्ने विश्वविद्यालयले यो उपदफा प्रारम्भ भएको मितिले तीन महिनाभित्र आयोगमा पठाउनु पर्नेछ।
यस्तै, यस ऐन बमोजिम आयोगबाट एक पटक समकक्षता निर्धारण गरिसकेको कुनै पनि विदेशी विश्वविद्यालय वा सो सरहको शैक्षिक संस्थाको शैक्षिक उपाधिलाई आयोगबाट पुनः समकक्षता निर्धारण गराई रहनु पर्ने छैन।
Shares

प्रतिक्रिया