समाज


‘कुलिङ अफ पिरियड’ छानबिन समितिको बैठक आज पनि, दोषी किटानमा जुट्ला सहमति?

‘कुलिङ अफ पिरियड’ छानबिन समितिको बैठक आज पनि, दोषी किटानमा जुट्ला सहमति?

नेपालखबर
साउन १९, २०८२ सोमबार ६:४६, काठमाडौँ

संघीय निजामती सेवा विधेयकमा राखिएको कुलिङ अफ पिरियडसम्बन्धी व्यवस्था नै निष्क्रिय बनाउने शब्द घुसाइएको विषयमा छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिको बैठक आज (सोमबार) पनि बस्ने भएको छ।

आइतबार बिहानदेखि राति अबेरसम्म छलफल गर्दा पनि कुलिङ अफ पिरियडमा ‘बाहेक’ शब्द कसले थप्यो भन्ने विषयमा ट‌ुंगोमा नपुगेपछि समितिको बैठकले आज पनि निरन्तरता पाउने भएको हो।

बैठक अहिले बिहान ७ बजे सुरु हुने बताइएको छ। समितिले पाएको छानबिनको म्याद भने आइतबार राति १२ बजे नै सकिएको छ। तर जारी बैठक निष्कर्षमा नपुगेकालाई आज पनि निरन्तरता दिन लागिएको हो। 

आइतबार बिहान ७:३० बजेदेखि राति ११ बजेसम्म बसेको बैठकले समितिका ४ कार्यदेशमध्ये दुईमा सहमति जुटाए पनि दुईमा सहमति जुटाउन सकेन। 

दोषी कसलाई किटान गर्ने भन्ने विषयमा समितिका सदस्यहरूबीच सहमति जुट्न नसकेका कारण प्रतिवेदन तयार हुन सकेन।

समितिका एक सदस्यले दिएको जानकारीअनुसार कार्यादेशका बुँदा क र घ मा  मात्र सहमति जुटेको छ। 

कार्यदेशको क मा भनिएको थियो, ‘संघीय निजामती सेवा विधेयकको सम्बन्धमा राज्य व्यवस्था तथा सुशासन समितिबाट सभामा पेस भएको प्रतिवेदनमा मूल विधेयकको दफा २८ मा उपदफा ४ थपिएकोमा उपदफा ५ मा रहेको व्यवस्थालाई कानुनी तादात्म्य नदेखिएकोले के कारणले यस्तो हुन गएको हो?’ 

त्यस्तै घ मा भनिएको छ, ‘कानुनबारे समितिमा हुने छलफल, मतदान प्रक्रिया, प्रतिवेदन लेखनलगायत विषयमा देखिएका कमी कमजोरी पत्ता लगाउने, भविष्यमा यस्ता प्रकृतिका कमजोरी दोहोरिन नदिन के कस्ता सावधानी अपनाउनुपर्नेबारे सुझाव दिने।’ 

यी दुईमा सहमति जुटेको ती सदस्यको भनाइ छ। 

बाँकी रहेको ‘यस्तो कानुनी तादात्म्य नहुने गरी प्रतिवेदन तयार हुनमा को कसको के कस्तो भूमिका रहेको छ?’ भन्ने विषयमा सहमति जुटेको छैन।

त्यस्तै सहमति नजुटेको अर्को बुँदा हो, ‘समितिबाट तयार भएको प्रतिवेदनमा यस्तो भएको भए सम्बन्धमा कसको संलग्नता देखिन्छ? के कस्तो संलग्नता रहेको छ? यकिन गरी सम्बन्धित पदाधिकारी वा व्यक्तिलाई प्रचलित कानुन बमोजिम कुनै कारबाही गर्नुपर्ने वा नपर्नेबारे सुझाव दिने।’ 

संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा कुलिङ पिरियडको विषय निष्प्रभावी बनाउन कसले भूमिका खेल्यो भन्नेबारे नै विवाद भएको समितिका सदस्यहरूले बताएका छन्। यही विषय छानबिन गर्न बनेको समितिले सुरुको २१ दिन र त्यसपछिको ७ दिनमा पनि सहमति जुटाउन नसकेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad