समाज


दाङ, बाँके, बर्दियामा भारीसम्म वर्षा

दाङ, बाँके, बर्दियामा भारीसम्म वर्षा

नेपालखबर
साउन २०, २०८२ मंगलबार ११:५४, काठमाडौँ

दाङ, बर्दिया र बाँकेमा पछिल्लो समयमा भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा दाङको जलकुण्डी मापन केन्द्रमा सबैभन्दा बढी दुई सय २७ मिलीमिटर वर्षा भएको छ। 

यस्तै, बाँकेको सिक्टामा पनि दुई सय मिलीमिटर वर्षा भएको छभने बर्दियाको मानपुरमा एक सय ६७ मिलीमिटर वर्षा भएको छ। बाँके र दाङमा अति भारी वर्षा हो भने बर्दियामा धेरै भारी वर्षा भएको छ। दाङमा पछिल्लो एक घण्टामै २५ मिलीमिटरभन्दा बढी वर्षा भएको छ। 

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज दिउँसो र राति पश्चिम नेपालमा बढी वर्षा हुने जानकारी दिए। यद्यपि अन्य प्रदेशका एकदुई स्थानमा पनि भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ। 

वर्षा गराउने सानो प्रणाली बनेको भएर आज दिउँसो र रातिमा पश्चिम क्षेत्रमा बढी पानी पर्ने उनले बताए। यद्यपि मनसुन न्यून चापीय प्रणालीको असर भने नेपालभरि नै रहेको छ। जसका कारण अझै केही दिन मनसुन सक्रिय भइरहने छ। 

पछिल्लो छ घण्टामा मात्र दाङको तुलसीपुर, अम्बापुर, जलकुन्डी, बाँकेको पश्चिम राप्ती, सिक्टा, बर्दियाको मानपुर वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ। सो क्षेत्र भई बहने बबई, पश्चिम राप्ती नदी, डुडुवा खोलालगायत अन्य साना खोलामा आकस्मिक बाढी तथा  होचा भूभागमा डुबानको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। 

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ। 

देशभर अधिकांश बदली रहेको छ। लुम्बिनी प्रदेशका अधिकांश स्थान, मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानका साथै कोशी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आगामी २४ घण्टामा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। आगामी केही दिन मधेस प्रदेशलगायत देशभर मनसुन सक्रिय रहिरहने देखिएको महाशाखाले जनाएको छ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad