संघीय सरकारले सडक तथा पुल जस्ता यातायातका पूर्वाधार क्षेत्रहरुलाई प्रदेशलाई हस्तान्तरण गर्ने भएको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेशका मन्त्री तथा सचिवहरु सहभागी विषयगत समितिको बैठकले त्यस्ता पूर्वाधारलाई हस्तान्तरण निर्णय गरेको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागले मर्मतसम्भार गर्दै आइरहेका राष्ट्रिय राजमार्ग बाहेकका सहायक मार्गमध्ये हाल कोसी, बागमती र सुदूरपश्चिम प्रदेश सरकारबाट प्रदेश राजपत्रमा सूचना प्रकाशन गरी आफ्नो क्षेत्राधिकार रहने गरी प्रदेश लोकमार्ग तथा प्रदेश मार्गको सञ्जाल कायम गरेको थियो।
अन्य प्रदेशहरुबाट पनि यसै खालको तयारी भएको गरेपछि प्रदेशको क्षेत्राधिकारमा पर्ने सडकहरू चालु आ.व.२०८२/८३ देखि लागू हुनेगरी उक्त सडकहरूमा कार्यरत लेन्थवर्कर र सुपरभाइजरहरू सहित सम्बन्धित प्रदेशलाई स्वामित्व हस्तान्तरण गरिनेछ।
‘प्रदेशहरुले पनि आफ्ना राजमार्गहरु यी हाम्रा हुन भनेर राजपत्र प्रकाशित गरेको अवस्था छ,’ मन्त्री दाहालले भने, ‘अहिलेसम्म ती कयौँ सडकहरु भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हेरिरहेको अवस्था भएकाले अब त्यसलाई क्लियर गर्नुपर्ने भएकाले यसमा भौतिक पूर्वाधार मन्त्रालयसम्बद्ध मन्त्रीसचिवलाई बोलाएर छलफल गर्यौँ। जतिपनि सबालहरु उठेका छन्, सबालहरु सम्बोधन गर्नेगरी एउटा टेक्नीकल कमिटी बनाएर हल गर्नेछौं।’
यस्तै, निर्वाचन क्षेत्र सडक र वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गत निर्माण सम्पन्न भएका सडकहरूको मर्मत सम्भारका लागि सम्बन्धित प्रदेश तथा स्थानीय तहलाई हस्तान्तरण गर्ने तथा मर्मतसम्भार लागि प्रदेश तथा स्थानीय तहलाई हस्तान्तरण गर्ने लगायतका विषयमा गृहकार्य गर्न प्राविधिक समिति गठन गरिएको छ।
Shares

प्रतिक्रिया