सशस्त्र प्रहरी नेपालले मनसुन अवधि सुरु भएदेखि काठमाडौँ उपत्यकासहित देशभर ४१ स्थानमा मनसुन प्रतिकार्य अस्थायी बेसक्याम्प स्थापना गरेको छ।
उपत्यकामा कोलमटेश्वर मन्दिर, धर्मस्थली, धापासी र ललितपुरको लेले तथा भक्तपुरको सानोठिमीमा मनसुन प्रतिकार्य बेस स्थापना गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।
त्यस्तै कोसी प्रदेशअन्तर्गत मोरङको बखरी र ओखलढुंगाको हर्कपुर, मधेस प्रदेशस्थित सप्तरीको भारदह र बर्साईन, सिरहाको मिल, धनुषाको दुवरकोट, महोत्तरीको रघुनाथपुर र बनौटा, सर्लाहीको धरहरा, रौतहटको फतुवा, बाराको तेलकुवा र कलैया, पर्साको पोखरीया, बागमती प्रदेशस्थित मकवानपुरको सुनौला, काभ्रेको खालथोक र मंगलटार, नुवाकोटको खरानिटार, चितवनको भालढुंगा, दोलखाको लिंकन बजार र सिगंटी तथा रसुवाको तातेपानीमा बेस स्थापना गरिएको डीएसपी थापाले बताए।
त्यस्तै गण्डकी प्रदेशअन्तर्गत पर्वतको खहरे, गोरखाको आरुघाट, पूर्वी नवलपरासीको चोरमारा, कास्कीको छाचोक, लुम्बिनी प्रदेशस्थित बर्दियाको राजापुर, रुपन्देहीको बुटवल, बाँकेको कुण्डा र कचनापुर, गुल्मीको तुराङ्ग र पाल्पाको दोभानमा, कर्णाली प्रदेशस्थित जुम्लाको बड्की, मुगुको डिमुरखारा र जाजरकोटको दल्ली र सुदूपश्चिम प्रदेशस्थित कैलालीको खानी डाडा र डोटीको बुडरमा मनसुन प्रतिकार्य सुरक्षा बेस स्थापना गरिएको छ।
विपद्मा परेका आम नागरिकहरूको उद्धार कार्यमा सहज होस् भन्ने अभिप्रायकोसाथ सशस्त्र प्रहरी बल नेपालले वर्षाको कारण जोखिमयुक्त क्षेत्रहरूको पहिचान गरी उक्त बेसमा विपद् उद्धार सामाग्रीसहितको सुरक्षा फौज तयारी हालतमा राखेको छ।
यसअघि सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापनमा स्थानीय समुदायको समेत महत्वपूर्ण भूमिका रहने भएकोले देशभरी १ लाख ६८ हजार ९ सय ५६ जना विपद् सुचक तयार गरेको छ। विपद्मा परेका नागरिकहरूको उद्वार तथा सहयोगमा सुरक्षाकर्मीसहित कसरी परिचालन हुने तथा खबर आदानप्रदान कस्तो अवस्थामा गर्ने भन्ने बारे जानकारी गराइएको छ।
त्यसैगरी देशभर ९ सय ९० जनालाई विपद् स्वयंसेवक अनुशिक्षण तालिम दिइएको छ। जसअन्तर्गत राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थले १ सय ८०, सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीले ९४, नंं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले २ सय २७, नं. ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुरले ५०, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीले १ सय ४३, नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीले २५, नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतले ७३, नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले १ सय २ र नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौँले ९६ जनालाई विपद् स्वयंसेवक तालिम दिएको छ।
त्यस्तै सशस्त्र प्रहरी बल नेपालले आफ्नो वेभसाईड मार्फत आपद् विपद्मा परेका नागरिकहरूको तत्काल उद्वार तथा सहयोग गर्नको लागि टोल फ्रि नम्बर १११४ तथा सशस्त्र प्रहरी बल नेपालको कार्यालय तथा कार्यालय प्रमुखहरूको नम्बर समेत उल्लेख गरेको छ। यसबाट विपद्मा परेका नागरिकहरूले तत्कालै उद्वारको लागि सम्पर्क गर्न सकिने डीएसपी थापाले बताए।
Shares

प्रतिक्रिया