बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका–९ बिस्नापानी भन्ने स्थानमा साउन २२ गते राति ८ बजे भिरबाट लडेर मृत्यु भएका व्यक्तिको शव निकाल्न समस्या भएको छ।
भौगोलिक बिकटता र श्रोतसाधनको अभावमा उनको शव निकाल्न कठिनाइ भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
काठमाडौँ जिल्लाको गोकर्णेश्वर नगरपालिका–५ नारायणटार बस्ने ५२ वर्षीय विप्लव ओझा बडिमालिका मन्दिर दर्शन पश्चात नाटेश्वरी धाम जाने क्रममा बाटोबाट चिप्लिएर करिव ७ सय मिटर तल बिस्नापानी खोल्सामा खसेका थिए।
घटानाबारे जानकारी पाएपश्चात सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बाजुराबाट बडिमालिका त्रिवेणी धाममा मेला सुरक्षार्थ खटिएको टोली घटनास्थलमा पुगेर शव निकाल्ने प्रयास गरेको थियो।
सो टोलीबाट सम्भव नभएपछि थप मद्दतको लागि आश्रित गुल्म बाजुराबाट २३ गते बिहान विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज त्यसतर्फ पठाइएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।
डीएसपी थापाका अनुसार आश्रित गुल्म बाजुराबाट घटनास्थल करिब ४० किलोमिटरको दुरीमा रहेको र उक्त स्थानमा पुग्न पैदलै जानुपर्ने भएकोले थप मद्दत टोली आज राति मात्र त्यस ठाउँमा पुग्नेछ।

प्रतिक्रिया