समाज


बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि लगानी जुट्यो

बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि लगानी जुट्यो

नेपालखबर
साउन २३, २०८२ शुक्रबार १७:५६, गोरखा

बूढीगण्डकी जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ। साहस ऊर्जा मुख्य साझेदार रहेको टाइम्स इनर्जीले निर्माण गर्न लागेको कूल ३४१ मेगावाट क्षमताको आयोजनाका लागि १० वटा बैंकले लगानी गर्ने भएका हुन्। 

अनुमानित रु ७० अर्ब लागतमा निर्माण हुन लागेको आयोजनाका लागि रु ५२ अर्ब ५० करोड लगानी गर्न टाइम्स इनर्जी र बैंक तथा वित्तीय संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

सम्झौतापत्रमा टाइम्स इनर्जीका सुशील थापा र बैंकहरुको नेतृत्व गरेको नेपाल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेले हस्ताक्षर गरे। 

सम्झौताअनुसार एनआईएमबीले रु १० अर्ब, नबिल बैंकले रु आठ अर्ब, लक्ष्मी सनराइज बैंकले रु आठ अर्ब र ग्लोबल आइएमई बैंकले रु सात अर्ब ऋण लगानी गर्ने भएका छन्। साथै हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले रु चार अर्ब, माछापुच्छ्रे बैंकले रु चार अर्ब, सिटिजन्स बैंकले रु तीन अर्ब, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले रु तीन अर्ब, प्रभु बैंकले रु तीन अर्ब र कृषि विकास बैंकले रु दुई अर्ब ५० करोड ऋण लगानी गर्ने भएका छन्। सम्झौतापत्रमा पाँच वर्ष चार महिनाभित्र ऋण भुक्तानी गर्ने उल्लेख गरिएको छ।

प्रवर्द्धक कम्पनी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) पनि भइसकेको छ। वर्षायामका लागि प्रतियुनिट चार रुपैयाँ ८० पैसा, सामान्य सुक्खायामका लागि आठ रुपैयाँ ४० पैसा र मुख्य सुक्खायामका लागि १० रुपैयाँ ५५ पैसामा बिक्री गर्ने गरी सम्झौता गरिएको छ। 

कूल २५ प्रतिशत लगाानी अर्थात रु १७ अर्ब ५० करोड भने प्रवर्द्धक कम्पनीले स्वपुँजीका रूपमा लगानी गर्नेछ। टाइम्स इनर्जीमा साहस ऊर्जाको ५१ प्रतिशत सेयर स्वामित्व छ।

परियोजनामा प्रतिमेगावाट रु २० करोड ५३ लाख लगानी हुनेछ। परियोजनाबाट वर्षायाममा १३०४.०४ गिगावाट, सामान्य सुक्खायाममा २४३।४३ मेगावाट र मुख्य सुक्खायाममा ३२०.३० गिगावाट विद्युत् उत्पादन हुनेछ। 

लगानी सम्झौता समारोहमा प्रवर्द्धक कम्पनी टाइम्स इनर्जीले आउँदो भदौबाट बाँध तथा पावरहाउस निर्माणका लागि जग्गा तयार गर्ने काम सुरु हुने र चैतबाट निर्माण सुरु गर्ने जानकारी दिएको छ।

आयोजनाले २०८७ साल पुस १५ गतेदेखि विद्यत्को व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ। उत्पादित विद्युत् ४५ किलोमिटर पर रहेको नुवाकोटको रातामाटे सबस्टेशनमा लगेर जोडिनेछ। सो सवस्टेशन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सहयोगमा निर्माण भइरहेको छ। 

गोरखाको चुमनुब्री–३ सल्लेरीमा बाँध बनाएर ६।९ किलोमिटर सुरुङमार्फत पानी झारेर धार्चे गाउँपालिका–३ तातोपानीमा पावर हाउस निर्माण गर्ने कम्पनीले जनाएको छ।

कम्पनीले यसअघि निजी क्षेत्रकै सबैभन्दा ठूलो ८६ मेगावाटको सोलुखोला दूधकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न गरिसकेको र २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत् आयोजना निर्माण गरिरहेको अनुभव छ। यो आयोजना निजी क्षेत्रबाट सञ्चालित अहिलेसम्मको ठूलो आयोजना हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad