नेपाल पत्रकार महासंघले महासंघ मधेस प्रदेशको जग्गा सम्बन्धी प्रकरणमा मिसन टोली गठन गरेको छ।
मधेस प्रदेश समितिले कार्यालय भवन निर्माणका लागि कानुनी प्रक्रिया पूरा गरी लिएको धनुषास्थित जनकपुरधामको जग्गा संरक्षणका लागि कार्य गरिरहेको बेला उक्त जग्गा कब्जा गर्ने प्रयास स्वरूप गरिएको हुलहुज्जत र पत्रकारमाथि भएको आक्रमणको अध्ययन गरी प्रतिवेदन पेस गर्न मिसन टोली गठन गरिएको महासचिव रामप्रसाद दाहालले जनाएका छन्।
यही साउन २७ गते भएको घटनाका सम्बन्धमा अध्ययन गर्न केन्द्रीय लेखा समिति संयोजक केसी लामिछानेको संयोजकत्वमा केन्द्रीय सदस्यहरू राजेशकुमार कर्ण र राजु विश्वकर्मा सदस्य रहेको मिसन टोली गठन गरिएको हो।
नेपाल पत्रकार महासंघको केन्द्रीय मिसनले सबै पक्षसँग छलफल र परामर्श गरि यथाशीघ्र प्रतिवेदन पेस गर्ने छ। सोही प्रतिवेदनका आधारमा महासंघले आवश्यक कदम चाल्ने बुधबार जारी विज्ञप्तिमा उल्लेख छ।
महासंघका अनुसार जग्गा संरक्षण गर्न घेराबार गरिरहेका बेला धनुषा जिल्ला बारका अध्यक्ष विमल मिश्र नेतृत्वको समूहले महासंघ प्रदेश अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष ज्योती झा, महासचिव शैलेन्द्र क्रान्ति, पत्रकार दिवाकर राय, विनिता यादव लगायतलाई आक्रमण समेत गरेको थियो।
Shares

प्रतिक्रिया