डिभिजन वन कार्यालय, कैलालीका वरिष्ठ वन अधिकृत पूर्ण शंकर यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा आरोप पत्र दायर गरेको हो।
यादवले कैलालीको चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिमार्का र छोडपूर्जीको लागि सेवाग्राहीसँग घुस माग गरेको अख्तियारको आरोप छ।
आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले यादवलाई सेवाग्राहीबाट ७ लाख ३१ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसूरमा बिगो ७ लाख ३१ हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदावी लिई आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जनाएका छन्।
Shares

प्रतिक्रिया