समाज


दुई सातापछिको आईजीपीमा खापुङको सम्भावना बलियो, ०५१ सालका वैकल्पिक मालामाल

खापुङ पनि भए एउटै लटका ३ आईजी, अढाई महिना मात्र पदमा रहने
दुई सातापछिको आईजीपीमा खापुङको सम्भावना बलियो, ०५१ सालका वैकल्पिक मालामाल

उजिर कार्की
भदौ २, २०८२ सोमबार २१:७, काठमाडौँ

नेपाल प्रहरीमा सामान्यतः एउटा विज्ञापनमा भर्ना भएको टोलीबाट एक जना प्रहरी महानिरीक्षकसम्म पुग्दा बाँकी एआईजी, डीआईजी र एसएसपीबाटै अवकाश हुन्छन्। 

तर २०५१ सालका प्रहरी निरीक्षकको विज्ञापन लटबाट भने तीन जना आईजीपी बन्न लागेका छन्। यो लटका प्रहरी निरीक्षकमध्ये वसन्तबहादुर कुँवर आईजीपी भएर गएको चैत ४ गते अवकाश भइसके। उनकै वैकल्पिक दीपक थापा पनि साढे ५ महिना आईजीपी बनेर अवकाशको डिलमा पुग्दा फेरि पनि यही टोलीसँग प्रतिस्पर्धा गरेर वैकल्पिकमा परेका चन्द्रकुबेर खापुङ प्रहरी महानिरीक्षक बन्ने बलियो सम्भावना छ। 

नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापा आगामी भदौ १८ गते अनिवार्य अवकाश हुँदैछन्। प्रहरीमा विद्यमान ३० वर्षे सेवा अवधिका कारण थापा आईजीपी बनेको साढे ५ महिनामै अवकाश हुन लागेका हुन्। 

त्यसअघि आईजीपी वसन्तबहादुर कुँवर पनि ३० वर्षे सेवा अवधिकै कारण अवकाश भएपछि थापा चैत ५ गतेबाट प्रहरी महानिरीक्षक बनेका हुन्। नयाँ प्रहरी ऐन ल्याएर ३० वर्षे सेवा अवधि हटाउन प्रस्ताव गरिए पनि राज्य व्यवस्था तथा सुशासन समितिमा विधेयक विचाराधीन छ। 

आफ्नो कार्यकालमा नयाँ विधेयक नआउने भएपछि थापा अवकाश हुने पक्का भएको हो। यससँगै नेपाल प्रहरीले आगामी भदौ १८ गते ३२ औँ प्रहरी महानिरीक्षक पाउने करिव निश्चित छ। सरकारले अतिरिक्त महानिरीक्षक (एआईजी) मध्येबाट एकलाई बनाउन सक्ने व्यवस्था छ। 

हाल कार्यरत तीन एआईजी पनि अवकाश नजिक छन्। आईजीपी थापाकै ब्याचका राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत एआईजी सुदीप गिरी र काठमाडौँ उपत्यका प्रहरी कार्यालय प्रमुख टेकबहादुर तामाङ भदौ १८ गते नै अवकाश हुनेछन्। प्रशासन विभाग प्रमुख एआईजी कृष्णहरि शर्मा पोखरेल पनि त्यसको तीन दिनपहिले नै अवकाश भइसक्नेछन्। 

त्यसपछि नेपाल प्रहरीमा एआईजीहरु सीआईबी प्रमुख चन्द्रकुबेर खापुङ, मानव स्रोत विकास विभाग प्रमुख दानबहादुर कार्की, अपराध अनुसन्धान विभाग प्रमुख राजन अधिकारी, प्रदेश समन्वय विभाग प्रमुख डा. मनोजकुमार केसी र कार्य विभाग प्रमुख सिद्धिविक्रम शाह रहनेछन्। 

यीमध्ये चन्द्रकुबेर खापुङ सिनियर हुन् र उनैको अहिले आईजीपी बन्ने बलियो सम्भावना छ।  

खापुङले २०५१ सालमै खुलेको विज्ञापनमा प्रहरी निरीक्षकमा प्रतिस्पर्धा गरेका थिए। तर एउटै विज्ञापनमा प्रतिस्पर्धा गरेकामध्ये पहिलो लट वसन्तबहादुर कुँवरसहित २०५१ चैत ५ गते भर्ना भए। यो लटबाट कुँवर प्रहरी महानिरीक्षक बनेका थिए। 

त्यसपछि वैकल्पिक सूचीमा रहेका दीपक थापा, टेकबहादुर तामाङसहित २०५२ भदौ १९ गते नियुक्त भए। यो टोलीबाट थापा आईजीपी बने। अरु एआईजीबाटै अवकाश हुँदैछन्। 

त्यसको अढाई महिनापछि २०५२ कात्तिक २७ गते खापुङसँगै लालमणि आचार्य र कृष्णहरि शर्मा पोखरेल नियुक्त भएका थिए। लालमणि आचार्य एआईजीको उमेर हदका कारण जेठमै अवकाश भइसकेका छन्। पोखरेल पनि भदौ १५ गते अवकाश हुने भएपछि खापुङ आफ्नो ब्याचका एक मात्रै एआईजी हुन्। 

यसअघि थापालाई पनि सरकारले वरिष्ठताक्रम अनुसार नै आईजीपी बनाएको थियो। खापुङ प्रहरी सेवामा एआईजीसम्म नै विवादरहित छन्। हाल केन्द्रीय अनुसन्धान ब्युरोको प्रमुख रहेका उनलाई रोक्न पछिल्लो ब्याचले त्यति जोडबल पनि गरिरहेको छैन। 

खापुङ आईजीपी भए पनि अढाई महिना मात्रै पदमा रहन पाउने छन्। छोटो अवधिका लागि हुने भएकाले पनि उनलाई रोक्न पछिल्ला चार एआईजीहरु लागेको देखिँदैन।

खापुङसँगै गएको वैशाखमा एआईजीमा बढुवा भएका दानबहादुर कार्की, राजन अधिकारी, डा. मनोज केसी र जेठमा एआईजी भएका सिद्धिविक्रम शाह पनि आईजीपीका प्रतिस्पर्धी हुन्। 

शाह र अन्य तीन एआईजीको बीचमा भने चर्को प्रतिस्पर्धा चल्दै आएको छ। शाह राष्ट्रिय अनुसन्धान विभागमा एक वर्षपहिले अर्थात् २०५३ सालमा भर्ना भएका थिए। त्यसपछि उनी एसएसपीसम्म नै कार्की, अधिकारी र केसीभन्दा वरीयतामा अगाडि थिए। तर डीआईजी बढुवामा उनी पछि परे। एआईजीमा पनि डीआईजीकै वरीयता कायम राख्दै बढुवा गर्दा उनी एक महिनापछि एआईजी भएका हुन्। 

खापुङपछिको आईजीपीका लागि भने यी चार जनाबीचमा चर्को प्रतिस्पर्धा हुने देखिएको छ। त्यसमध्ये पनि दानबहादुर कार्की र सिद्धिविक्रम शाह प्रमुख दाबेदार देखिएका छन्। आगामी कात्तिकमा दानबहादुर कार्की वा यो टोलीबाट आईजीपी नियुक्त गरिए शाह एआईजीबाटै अवकाश हुनेछन्।  

तर शाह कात्तिकमा आईजीपी भए उनीपछिको आईजीपी बन्ने बाटो कार्कीको टोलीलाई कायम रहनेछ। शाह अहिलेकै ऐन अनुसार २०८३ पुस ५ गतेसम्म मात्रै सेवामा रहनेछन्। 

त्यसपछि दानबहादुर कार्की वा उनको ब्याचबाट आईजीपी नियुक्त हुनसक्नेछ। तर कार्कीको ब्याचले डीआईजी र एआईजीमा पहिले बढुवा भएको, २०५४ सालमा नेपाल प्रहरीमा भर्ना हुनासाथ तालिम गरेर सेवा थालेको लगायतका आधारमा शाहको टोलीभन्दा आफ्नो टोली सिनियर भएको दाबी गर्दै आएका छन्। 

राष्ट्रिय अनुसन्धान (२०५३) बाट आएको शाहको ब्याच र २०५४ सालमा प्रहरी निरीक्षकमा भर्ना भएको टोलीबीच सुरुदेखि नै विवाद देखिँदै आएको छ। आईजीपीको प्रतिस्पर्धामा आइपुग्दा पनि यही विवाद कायम छ। दुवै टोली एकअर्कालाई रोकेर आईजीपी बन्ने दाउमा छन्। 

यी दुवै टोली मिलेदेखि अहिले नै आईजीपी बन्ने र त्यसो नभए एकअर्कालाई रोकेर खापुङ आईजीपी हुनुपर्ने लबिइङमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad