समाज


रक्षा नेपालको सामाजिक परीक्षण: २१ वर्षमा झण्डै १० हजार हिंसापीडितको उद्धार र पुनर्स्थापना

रक्षा नेपालको सामाजिक परीक्षण: २१ वर्षमा झण्डै १० हजार हिंसापीडितको उद्धार र पुनर्स्थापना

नेपालखबर
भदौ ३, २०८२ मंगलबार २३:१९, काठमाडौँ

सामाजिक संस्था रक्षा नेपालले विगत २१ वर्षमा झण्डै १० हजार हिंसापीडित महिला तथा बालबालिकाको उद्धार तथा पुनर्स्थापना गरेको छ।

संस्थाले ८ हजार ६५९ महिला र ९३४ बालबालिका गरी ९ हजार ५९३ जनाको उद्धार तथा पुनर्स्थापना गरेको मंगलबार आयोजित सामाजिक परीक्षण कार्यक्रममा जानकारी दिइएको हो।

विगत २१ वर्षदेखि यौन हिंसा, मानव बेचबिखन, शोषण र दुर्व्यवहारविरुद्ध क्रियाशील यस संस्थाको वार्षिक सामाजिक परीक्षण मंगलबार काठमाडौँमा एक कार्यक्रममाझ गरिएको हो। कार्यक्रममा संस्थाले गत वर्षभरिका प्रमुख गतिविधिहरू र आर्थिक विवरण प्रस्तुत गरिएको थियो। समाज कल्याण परिषद्ले सामाजिक संघसंस्थाहरूलाई सामाजिक परीक्षण अनिवार्य गरेको प्रावधानअनुसार रक्षा नेपालले पारदर्शी ढंगले उक्त परीक्षण सम्पन्न गरेको संस्थाका अध्यक्ष मेनुका थापाको भनाइ छ।

२१ वर्षदेखि यौन हिंसामुक्त समाज निर्माणका लागि क्रियाशील रक्षा नेपालले अहिलेसम्म दसौँ हजार बालिका तथा किशोरीहरूको उद्धार र पुनःस्थापना गरिसकेको छ। सयौं पीडित बालिकाहरूलाई सुरक्षित आवासमार्फत नयाँ जीवन प्रदान गर्दै आएको संस्था राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै अब्बल सामाजिक संस्थाको रूपमा चिनिएको सहभागीहरूको भनाइ थियो।

बालबालिका खोज तथा उद्धार केन्द्र, काठमाडौँ महानगरपालिकासहित विभिन्न स्थानीय तह, महिला आयोग, नेपा प्रहरीलगायत विभिन्न निकायले पनि जोखिममा रहेका महिला तथा बालबालिकालाई आश्रय तथा पुनर्स्थपनाका लागि रक्षा नेपाललाई जिम्मा दिने गरेको छ।

सामाजिक परीक्षण कार्यक्रममा सांसद सुशीला शेर्पाली ठकुरीले अझै पनि महिलालाई दोस्रो दर्जाको नागरिकका रूपमा हेर्ने सामाजिक दृष्टिकोण परिवर्तन हुन बाँकी रहेको बताइन्।

यौन हिंसा न्यूनीकरणका लागि रक्षा नेपालले राज्यकै जिम्मेवारी पूरा गरिरहेको भन्दै उनले संसदका समिति र राजनीतिक दलहरूले पनि संस्थासँग सहकार्य गर्दै सुधारात्मक कानुन बनाउनुपर्ने आवश्यकता औंल्याएकी थिइन्।

त्यस्तै, समाज कल्याण परिषद्का निर्देशक आनन्द थापाले राज्यले गर्नुपर्ने कार्यमा रक्षा नेपाल निरन्तर अग्रसर रहँदै आएको भन्दै संस्थाले अनाथ तथा हिंसा पीडित बालिकाहरूको अभिभावकत्व ग्रहण गरिरहेको सराहना गरे। रक्षा नेपालका कार्यक्रम र परियोजनाहरू कयौं सामाजिक संघसंस्थाभन्दा उदाहरणीय रहेको उनको भनाइ थियो।

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. २६ का ख्याम तिवारी, चन्द्रागिरि नगरपालिका वडा नं. ८ का वडाध्यक्ष प्रल्हाद रिजाल, महिला आयोगकी सदस्य–सचिव रेखा खरेल, चन्द्रागिरि नगरपालिकाका सामाजिक विकास प्रमुख रश्मि श्रेष्ठलगायतले प्रतिवेदनबारे आफ्ना धारणा राखेका थिए।

कार्यक्रमको अध्यक्षता पूर्वसहचिव तथा आध्यात्मिक अगुवा आरबी बस्नेतले गरेका थिए।

कार्यक्रमको सहजीकरण गरेकी रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले सामाजिक संस्थाले सरकारले लिएका उद्देश्य परिपूर्ति गर्न सहयोगीको भूमिका खेल्ने बताइन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad