अंग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको 'आर'शालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम पलेँटीमा यसपटक पाको पुस्ताका संगीतकार रामकृष्ण दुवाल प्रस्तुत हुने भएका छन्।
अगस्ट महिनाको अन्तिम शुक्रबार (२९ तारिख) आयोजना हुने पलेँटीमा उनलाई नयाँ पुस्ताका गायकद्वय अभिज्ञा घिमिरे र वेनुप क्षेत्रीले साथ दिनेछन्।
रामकृष्ण दुवाल लामो समयदेखि नेपाल भाषाका परम्परागत संस्कृतिको अध्ययन अनुसन्धानमा लागिपरेका कलाकर्मी हुन्। साथै दुवालले नेपाली भाषाका गीत-संगीतमा गरेको योगदान पनि उत्तिकै छ।
कीर्तिपुरका रैथाने दुवालले नेपालको राजनीतिक र सामाजिक जागरणमा पनि गहकिलो योगदान पुर्याएका छन्। कवि गोपालप्रसाद रिमालको शब्द सृजना ‘एक जुगमा एक दिन एकचोटि आउँछ’लाई दुवालले नै धुन भरेका हुन्। यस गीतले नेपालको राजनीतिक आन्दोलनमा २०३६ सालयता अनवरत स्थान पाउँदै आएको छ।
त्यस्तै नेपालभाषाको 'सिर्सा या हेकू' गीतलाई रामकृष्ण दुवालले सङ्कलन र परिमार्जन गरेका हुन्। यस गीतले नेवार समुदायको मात्र नभएर नेपालका अन्य समुदायको पनि मन जित्दै आएको छ। झण्डै चार दशक पहिले प्रसारणमा आएको यस गीतमा अनेकौं विद्यालयहरूमा नृत्य प्रस्तुत भएका छन्।
यसपालिको कार्यक्रम नेपाल भाषा र नेपाली भाषाको साङ्गीतिक सङ्गम हुने पलेँटी संयोजक आभासले जानकारी दिए। आभास भन्छन्, ‘'दुवाल दाइ काठमाडौं उपत्यकाको साङ्गीतिक सभ्यताका जिउँदा सम्पदा हुन्। यिनको प्रतिभालाई पलेँटीमा समेट्न पाउँदा औधी खुशी लागेको छ।’
अगस्ट-पलेँटीमा नेपाल भाषाका केही ऐतिहासिक रचनाहरू पनि सुन्न पाइनेछ। जसमा रणजित मल्लले काठमाडौं उपत्यका छोड्दा रचेको एउटा गीत पनि समावेश छ। सो गीत आफू काशी निर्वासनमा जानुपहिले रणजितले चन्द्रागिरिबाट उपत्यका हेर्दै रचेको किंवदन्ती छ। यस गीतमा रणजित मल्लले आफ्नो मातृभूमि छोड्नुपर्दाको पीडालाई समेटेका छन्। पलेँटी सञ्चालकले नेपालभाषा नबुझ्नेका निम्ति यस्ता ऐतिहासिक रचनालाई नेपाली भाषामा पनि भावानुवाद गरिने बताएका छन्।

संयोजकका अनुसार यसपालीको पलेँटीमा केही बालगीतहरू पनि छन्। दुवालसँग लामो समय विभिन्न विद्यालयहरूमा सङ्गीत र नृत्य सिकाएको अनुभव पनि छ। दुवालले बालबालिकाका निम्ति आफैँले रचेका गीतका साथै कवि दुर्गालाल श्रेष्ठका शब्दहरूमा पनि धुन भरेका छन्। यसका साथै सङ्गीतकार दुवालले छन्द कवितामा पनि धुन भरेका छन्। पलेँटीका निम्ति उनले पञ्चचामर र मन्दाक्रान्ता छन्द छनोट गरेका छन्।
दुवाल पनि पलेँटीको तयारीमा जुट्दा निक्कै उत्साहित देखिन्छन्। भन्छन्, ‘मैले जीवनमा अनेक मञ्चमा गाएँ, नाचेँ तर यसपालीको पलेँटी मेरा निम्ति महत्त्वपूर्ण मञ्च हुनेछ। जसमा मलाई नयाँ पुस्ताका सङ्गीतकर्मीहरूले पनि साथ दिनेछन्। मेरो यो आनन्दको क्षणमा दर्शक, श्रोताहरूको माया र साथ पाउने विश्वास लिएको छु।'
Shares

प्रतिक्रिया