समाज


१० लाख धरौटी बढी भयो भनेकी ऋषिकेशपत्नी अञ्जलासँग उच्चले माग्यो एक करोड

दुवै न्यायाधीशका आधा आधा राय सदर
१० लाख धरौटी बढी भयो भनेकी ऋषिकेशपत्नी अञ्जलासँग उच्चले माग्यो एक करोड

नेपालखबर
भदौ ५, २०८२ बिहिबार २२:२४, काठमाडौँ

सहकारी ठगीको अभियोगमा सार्वजनिक लेखा समितिका सभापति एवम् एमाले सांसद ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासँग उच्च अदालत विराटनगरले एक करोड रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको छ। 

मोरङको धनपालथानस्थित उमागौरी सहकारी ठगीमा संलग्न रहेको अभियोगमा यसअघि जिल्ला अदालत मोरङले अञ्जलालाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। 

यसअघि वैशाख ११ गते उच्च अदालत विराटनगरका न्यायाधीश श्रीधराकुमारी पुडासैनी र केशवप्रसाद बास्तोलाको संयुक्त इजलासमा राय बाझिएपछि बिहीबार तेस्रो न्यायाधीशको इजलासबाट आदेश भएको हो। 

बिहीबार न्यायाधीश विष्णुप्रसाद अर्यालले पुडासैनी र बास्तोलाले दिएका आधा आधा रायमा सहमति जनाउँदै आदेश जारी गरेका हुन्। 

जिल्ला अदालत मोरङले २०८१ पुस २४ गते अञ्जलासँग १० लाख धरौटी माग गरेको थियो। सहकारी ठगीमा फरार रहेकी कोइराला त्यसैदिन अदालतमा हाजिर भएकी थिइन्। 

१० लाख धरौटीमा रिहा गर्न दिएको आदेशविरुद्ध उनले पनि उच्च अदालत विराटनगरमा निवेदन दिएकी थिइन्। आफूलाई १० लाख धरौटी माग गर्ने आदेश बदर गर्दै साधारण तारेखमा राख्न उनको माग थियो। 

अन्य प्रतिवादीहरू पनि जिल्लाको आदेश बदर गरेर साधारण तारेखमा राख्न माग गर्दै उच्च पुगेका थिए। सरकारी वकिलले भने सबैलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए। 

जिल्ला अदालतले थुनामा पठाएका रोशन राजवंशीलाई पनि एक करोड धरौटी लिएर रिहा गर्न उच्च अदालतले आदेश दिएको छ। 

यसअघि जिल्लाबाट १० लाख धरौटी माग गर्ने आदेश भएकी अञ्जला कोइराला, ५/५ लाख धरौटी माग गर्ने आदेश भएका ज्योति बास्कोटा र सन्तलाल खवासलाई पनि एक एक करोड धरौटी पुगेको छ। 

लक्ष्मी कार्की, सुमन लोहनी र मनोज सोनुको हकमा भने जिल्लाकै आदेश उच्चबाट सदर भएको छ। जिल्लाले कार्कीसँग ५० हजार, सुमन लोहनीसँग २ लाख र मनोज सोनुसँग एक लाख धरौटी माग गर्ने आदेश गरेको थियो। 

वैशाख ११ गते न्यायाधीश श्रीधराकुमारी पुडासैनीले सबै प्रतिवादीहरूको हकमा जिल्लाकै आदेश सदर गर्नु पर्ने राय दिएकी थिइन्। बिहीबार न्यायाधीश अर्यालले यी तीन जनाको हकमा पुडासैनीकै रायमा सहमति जनाएका हुन्। 

तर अन्य प्रतिवादीहरूको हकमा भने केशवप्रसाद बास्तोलाको राय अनुसार आदेश भएको हो। न्यायाधीश बास्तोलाले रोशन राजवंशीलाई थुनामा राख्ने आदेश बदर गर्दै एक करोड धरौटी माग गर्ने, अञ्जला कोइरालालाई १० लाखबाट बढाएर एक करोड माग गर्ने, ज्योति बास्कोटा र सन्तलाल खवासलाई पनि एक/एक करोड धरौटी माग गर्ने राय दिएका थिए। न्यायाधीश अर्यालले यही रायमा सहमति जनाउँदै आदेश जारी गरिदिएको अदालतका सूचना अधिकारी सन्तोष पोखरेलले नेपालखबरलाई जानकारी दिए। 

बास्तोलाले लक्ष्मी कार्की, सुमन लोहनी र मनोज सोनुलाई धरौटी बढाएर २५/२५ लाख माग गर्नु पर्ने राय दिएका थिए। उनीहरूको हकमा भने बास्तोलाको रायमा न्यायाधीश अर्याल सहमत भएनन्। 

मोरङ धनपालथान ४ मा रहेको उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा अञ्जलासहित २६ जनाविरुद्ध मुद्दा दायर भएको छ। 

अञ्जला सहकारीको तत्कालीन सञ्चालक समिति सदस्य हुन्।

इलाका प्रहरी कार्यालय रंगेलीले अनुसन्धान गरी बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालय मोरङले २०८१ मंसिर २७ गते सहकारीका अध्यक्ष शम्भु रौनियारसहित २६ जनाविरुद्ध २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको थियो।

प्रतिवादीहरूलाई बिगोबमोजिम जरिवाना र ६ वर्षदेखि ८ वर्षसम्म कैद सजाय पनि माग गरिएको छ। अभियोगपत्र दायर गर्दा रोशन राजवंशीलाई मात्र अदालतमा पेस गरिएको थियो। अरू प्रतिवादीहरू पछि उपस्थित भएका थिए। धेरैजसो प्रतिवादी अझै फरार छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad