समाज


कुवेतमा विषाक्त मदिराले ज्यान गुमाएकामध्ये ५ जनाको शव काठमाडौँ ल्याइयो, ७ जनाको आईसीयूमा उपचार जारी

कुवेतमा विषाक्त मदिराले ज्यान गुमाएकामध्ये ५ जनाको शव काठमाडौँ ल्याइयो, ७ जनाको आईसीयूमा उपचार जारी

नेपालीको उपचार भइरहेको अस्पताल


नेपालखबर
भदौ ६, २०८२ शुक्रबार १४:६, काठमाडौँ

कुवेतमा विषाक्त मदिरा सेवनका कारण ज्यान गुमाएका १२ जनामध्ये ५ जनाको शव नेपाल ल्याइएको छ। कुवेतस्थित श्रम सहचारी गिरिप्रसाद आचार्यका अनुसार बाँकी ७ जनाको शव पनि नेपाल पठाउने प्रक्रिया सुरु भइसकेको छ।  

ज्यान गुमाउनेमा मोरङ, स्याङ्जा, लमजुङ, ताप्लेजुङ, भोजपुर, नवलपरासी, कपिलबस्तुलगायत जिल्लाका रहेको कुवेतस्थित नेपाली दूतावासले जानकारी दिएको छ। 

आचार्यका अनुसार १३ जना अझै अस्पतालमा उपचाररत छन्। '१३ जना अझै अस्पतालमा उपचाररत हुनुहुन्छ,' उनले नेपालखबरसँग भने, '१३ मध्ये ७ जनालाई आईसीयूमा राखेर उपचार गरिएको छ भने बाँकी स्वास्थ्य लाभ गरी डिस्चार्जको प्रक्रियामा हुनुहुन्छ।'

यसअघि १६ नेपालीको निधन भएको भनिएकोमा ती सबै नेपाली नागरिक नभएको र नेपालीभाषी भएका कारण त्यस्तो तथ्य बाहिरिएको उनले बताए।

कुवेतमा विषाक्त मदिरा सेवनका कारण ज्यान गुमाउनेहरूको जम्मा संख्या २३ हो। यीमध्ये १२ जना नेपाली, केही नेपाली भाषी र अन्य देशका नागरिक छन्। 

यसअघि निधन भएकाको तथ्यांक १६ हुनुमा नेपाली भाषीहरू पनि जोडिएको उनको अनुमान छ। पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले विज्ञप्ति निकालेर १६ जना नेपालीको निधन भएको जनाएको थियो। 

त्यस्तै कुवेत सरकारका अधिकारीहरूले २३ जनाको मृत्यु गराउने घरेलु मदिरा उत्पादन र बिक्रीमा संलग्न रहेको आरोपमा ६७ जनालाई पक्राउ गरेको जानकारी दिएका छन्। पक्राउ पर्नेमा नेपाली पनि भएको आशंका छ। 

पक्राउ परेकामध्ये आपराधिक नेटवर्कको नेतृत्व गरेको आरोप लागेका एक जना बंगलादेशी नागरिक पनि छन्। त्यहाँको प्रहरीले ६ वटा कारखाना र सञ्चालनको तयारीमा रहेका ४ वटा कारखाना नियन्त्रणमा लिइसकेको छ। 

पक्राउ परेकामध्येका एक नेपालीले घरेलु मदिरा बनाउनेहरूले मेथानोल मिसावट भएको मदिरा कसरी उत्पादन हुन्थ्यो भन्नेबारे जानकारी गराएको अलजजिराले उल्लेख गरेको छ।  

कुवेत मुस्लिम मुलुक भएकाले यहाँ मदिराको आयात वा घरेलु उत्पादन पूर्ण रूपमा प्रतिबन्धत। तर, केही व्यक्तिहरूले गोप्य स्थानमा अवैध रूपमा मदिरा उत्पादन गर्ने गर्छन्।  

कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार मिसावट मदिरा सेवनबाट बिरामी पर्नेको संख्या १६० पुगेको छ। बिरामी भएकामध्ये ५१ जना तत्कालै मिर्गौला डायलाइसिस गर्नुपर्ने अवस्थामा छन्। ३१ जनालाई भने भेन्टिलेटरमा राखेर उपचार गरिएको छ। उनीहरू मध्ये केहीको अवस्था गम्भीर छ।  
 
कुवेतस्थित भारतीय दूतावासले करिब ४० जना भारतीय नागरिक पछिल्ला दिनमा अस्पताल भर्ना भएको जनाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad