समाज


सर्वोच्चमा दुई महिनापछि संवैधानिक इजलास गठन, प्रधानन्यायाधीशसँग राय बझाउने दुई न्यायाधीश परेनन्

सर्वोच्चमा दुई महिनापछि संवैधानिक इजलास गठन, प्रधानन्यायाधीशसँग राय बझाउने दुई न्यायाधीश परेनन्

नेपालखबर
भदौ ११, २०८२ बुधबार ११:५८, काठमाडौँ

सर्वोच्च अदालतमा करिब दुई महिनापछि संवैधानिक इजलास गठन भएको छ।

गत असार १८ गते संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति विवादमा न्यायाधीशहरूबीच रायबाझीसहितको फैसला भएपछि पहिलोपल्ट आज (बुधबार) संवैधानिक इजलास बस्ने भएको हो।

आजको इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतका अलावा न्यायाधीशहरू सपना प्रधान मल्ल, नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र विनोद शर्मा छन्।

वरिष्ठतामा अगाडि रहेका न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र कुमार चूडाललाई छुटाइएको छ।

संवैधानिक पदाधिकारी विवादमा न्यायाधीशहरूबीच राय बाझिँदा प्रधानन्यायाधीश राउत अल्पमतमा परेका थिए। त्यतिखेर राय बझाउने न्यायाधीशद्वय कुमार चूडाल र मनोजकुमार शर्मालाई आजको संवैधानिक इजलासमा राखिएको छैन।

संवैधानिक नियुक्ति विवादमा प्रधानन्यायाधीश राउत र न्यायाधीश नहकुल सुवेदीले पहिलो चरणमा भएको नियुक्ति बदर हुने र दोस्रो चरणको नियुक्ति सदर हुने राय दिएका थिए।

तर, कुमार चूडाल र मनोजकुमार शर्माले दुवै चरणका नियुक्ति सदर हुने राय दिएका थिए।

पछि वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले पनि दुवै चरणका नियुक्ति सदरको पक्षमा राय दिएपछि प्रधानन्यायाधीश राउतको राय अल्पमतमा परेको थियो।

त्यसपछि प्रधानन्यायाधीश राउतले संवैधानिक इजलास गठनमा रूचि देखाएका थिएनन्। 

संवैधानिक इजलासमा गोला प्रक्रिया लागू गरिएको छैन। प्रधानन्यायाधीशले वरिष्ठताका आधारमा न्यायाधीश तोक्दै आएका थिए। यसपालि वरिष्ठतामा अगाडि रहेका चार न्यायाधीश छाडेर संवैधानिक इजलास गठन गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad