समाज


पत्नीले छाडेपछि कुँडियो मन, अनि गरे नेपाल भ्रमण

७५३ पालिका र ६०७५ वडा घुमेका ७२ वर्षीय रामभक्त लेख्दैछन् किताब
पत्नीले छाडेपछि कुँडियो मन, अनि गरे नेपाल भ्रमण

जनार्दन पोखरेल
भदौ १४, २०८२ शनिबार ७:५०, काठमाडौँ

रामभक्त प्याकुरेल अहिले ७२ वर्षका भए। २० कात्तिक २०१० मा संखुवासभाको चैनपुरमा जन्मिएका उनी हाल मोरङको रतुवामाई-८ दाम्राभिट्टारमा बस्छन्। कसैलाई आफ्नो परिचय दिनुपर्दा नाम र थरसँगै गोत्र पनि भन्ने उनको बानी छ। ‘म रामभक्त कौडिन्य प्याकुरेल हुँ। कौडिन्य मेरो गोत्र हो,’ आफ्नो बोल्ड आवाजमा उनी बोल्छन्।

०७८ साल मंसिर पहिलो साता। 

रतुवामाई नगरपालिका–८ दाम्राभिट्टास्थित घरमा उनी एक्लै थिए। बुढेसकालतर्फ लम्किँदै गरेको शरीर। जीवनसाथी भनिएकी श्रीमती र बुढेसकालका सहारा मानिएका छोराछोरी पनि साथमा थिएनन्। 

अंशबण्डा गरेर पत्नी भिन्नै बस्न थालेको धेरै भइसकेको थियो। दुई छोरा पनि श्रीमती र आफ्ना सन्तानसहित विदेशतिर बस्छन्। तीन बहिनी छोरी विवाह गरेर आ-आफ्नै घर गए। ‘यो उमेरमा पनि घरमा एक्लै बस्नुपर्ने बाध्यता आइलाग्यो’ राति चिसो ओछ्यानमा पल्टिँदै गरेका रामभक्तको मनमा यस्तै कुरा खेल्दै थिए। उनी आफ्नो विगत सम्झिँदै विरक्तिन्छन्। जिन्दगी बेकार लाग्छ।

पारिवारिक झमेलाले कुँडिएको रामभक्तकाे मनले धेरै अघिदेखि शान्ति खोजिरहेको थियो। तर, त्यो शान्ति कहाँ पाइएला? निचोडमा पुग्न सकेका थिएनन् उनी। 

यस्तै मानसिक द्वन्द्वका बीच उनी घर छाड्ने निष्कर्षमा पुग्छन्। तर, घर के भनेर छाड्ने? कहाँ जाने? ‘कहाँ डिँडेको?’ भनेर आफन्त र गाउँलेले सोध्दा के जवाफ दिने? यस्तैमा उनको अन्तरमनले भन्छ- नेपाल भ्रमण गर् रामभक्त! 

जीवनका उर्जाशील समय उनले सन्तानको लालनपालनका बिताए। उमेरमा भनेको ठाउँमा जान पाएनन्, मन लागेको खान पाएनन्। सन्तानको सुखको लागि, उनीहरूको लालनपालन, शिक्षादीक्षाको लागि दश नग्रा खियाएरै बित्यो युवा र प्रौड उमेर। तर, अब कोही उनीसँग आश्रित थिएनन्। छोराछोरी त परको कुरा, पत्नीसमेत साथमा थिइनन्।

‘मैले नेपाल भ्रमण गर्ने निधोँ गेरेँ,’ घर छाड्ने अघिल्लो दिन उनले आफूसँग भेट भएका जति गाउँलेलाई आफ्नो इच्छा सुनाए। वडाध्यक्ष नन्दकुमार चापागाइँलाई पनि ‘मैले नेपाल भ्रमण गर्ने सोच बनाएको छु है वडाध्यक्षज्यू’ भन्न भ्याए। 

०७८ साल मंसिर ९ गते। 

उज्यालो नहुँदै उनले नित्यकर्म सके। बिहान उनी साइकल लिएर घरबाट निस्किए। साइकलको पछाडि बाँधेका थिए- ओड्नेओछ्याउने। झोलामा बोकेका थिए दुईथान मोबाइल, स्पिकर, केही प्याकेट बिस्कुट, चाउचाउ। 

अघिल्लो दिन गरेको सूचनाअनुसार वडाध्यक्ष चापागाइँले वडा कार्यालयमै रामभक्तको विदाई कार्यक्रम राखेछन्। खबर पाएपछि उनी साइकल चढेर वडा कार्यालय पुगे। चापागाइँसहितका जनप्रतिनिधिले खादा र माला लगाएर उनलाई बिदाइ गरे। राभक्तले साइकलमा नेपालको झण्डा बाँधे। उनलाई विदाइ गर्दै वडाध्यक्षले पाँचसयको नोट हातमा राखिदिँदै भने, ‘यसले खाजा खानुस् है।’ 

त्यो दिन उनको विदाइ कार्यक्रममा झण्डै २० जनाजति स्थानीय भेला भएका थिए। त्यसमा केही आफन्त पनि थिए। उनलाई कतिपय आफन्त र गाउँलेले ‘यो बुढेसकालमा के नचाहिँने काम गर्न आँटेको? जता मनलाग्यो त्यतै जाने उमेर र समय छैन। नजानूस्’ भनेर रोक्न खोजे। तर, उनले कसैका कुरा सुनेनन्।

उनकाे मनले नेपाल भ्रमण गर्ने अठोट गरिसकेकाे थियाे।

‘पृथ्वी नारायण शाहले नेपालको एकीकरण गरे पनि सबै नेपाल घुमेका थिएनन् होला। तर, मैले सम्पूर्ण नेपाल घुमेर सिध्याएँ,’ शुक्रबार नेपाल खबरकर्मीसँग गफिँदै रामभक्तले भने, ‘मैले नेपाल भ्रमण गर्छु भन्दा खिसीट्युरीको शैलीमा मुख बंग्याउनेअरूले अहिले मेरो आदर गर्न थालेका छन्।’

तीन वर्ष ७ महिना ११ दिन नेपाल भ्रमण

०७८ साल मंसिर ९ गते घरबाट निस्किएका उनले गएको असार २ गते (तीन वर्ष ७ महिना ११ दिन) सम्म नेपाल घुमेँ। देशका सातसय ५३ वटै स्थानीय तहमा उनी पुगे। देशका ६  हजार ७५ वटा त वडा कार्यालयमै पुगे। ती सबै ठाउँमा पुगेको प्रमाण रामभक्तसँग सुरक्षित छन्। 

देशका ६ हजार सातसय ४३ मध्ये ६ सय  ६८ वटा वडामा भने चाहेर पनि आफू पुग्न नसकेको उनी बताउँछन्। ‘किन त?’ यो प्रश्नमा उनले भने, ‘ हिमाली जिल्लामा त पालिकै फेला पार्न पनि नसकिने रहेछ। धेरै ठाउँमा पालिका फेला पार्न पनि हम्मेहम्मे पर्‍याे। त्यही क्रममा छुटे धेरै वडा।’

भ्रमणका क्रममा डोल्पाको काइके गाउँपालिका कार्यालय सम्बन्धित भूगोलमा नरहेको उनले फेला पारे। ‘काइके गाउँपालिका कार्यालय त सदरमुकाम दुनैमा पो रहेछ। सम्बन्धित भूगोलमा त पालिकाको कुनै नामनिसानै फेला पार्न सकिनँ,’ उनले भने, ‘पछि खोज्दै जाँदा सदरमुकाममा पालिका कार्यालय फेला पर्‍याे। त्यहीँ पालिका अफिस चलेकाे रहेछ।’ 

यसबीचमा उनका ६ वटा त साइकल थोत्रिए। झण्डै २० जोर जुत्ता फाटे। साइकल र पैदल गरेर नेपाल भ्रमण गरेको सगौरव बेलिविस्ता लगाउँदै उनले भने, ‘अप्ठ्यारो बाटोमा साइकलबाट खसेर सामान्य घाइते भएँ। तर कहिल्यै बिरामी परिनँ।’

घरबाट हिँड्दा बोकेका ओड्नेओछ्याउने उनले केही दिनमै कतै पाटीपौवामा छाडिदिएका थिए। 

‘घरबाट लगेदेखि ती ओड्नेओछ्याउने कतै खोल्नु परेन, जता पुग्थेँ, उतै ओड्नेओछ्याउने पाइन्थ्यो,’ प्याकुरेलले भने, ‘घर छाड्दा खल्तीमा झण्डै १० हजार रुपैयाँ र वाणिज्य बैंकको खातामा ७० हजार जति राखेको थिएँ, भ्रमण खर्च भनेर। तर, कतै त्यो पैसा निकाल्नु परेन। उल्टै मेरा गोजी दाताको सहयोगले भरिँदै गयो। बैंक खातामा पनि रकम जम्मा हुँदै गयो।’ 

यसबीचमा उनले धेरैजसो व्यक्तिका घरमा रात बिताए। कतै होटल र पाटीपौवामा पनि रात काटे। 

‘म शान्तिको सन्देश बोकेर नेपाल घुमेको हुँ। देशको र मनको अशान्ति खप्न नसकेर हिँडेको थिएँ,’ उनी भन्छन्, ‘अब मेरो मनमा त अशान्ति छैन। तर देशको अवस्था चाहीँ चित्त बुझाउने खालको रहेन।’

घर छाड्नुअघि उनले सम्पूर्ण नेपाल घुमिसक्दा पाँच वर्ष लाग्ने अनुमान गरेका थिए। तर, त्यो भन्दा अघि नै भ्रमण सकिएको उनी बताउँछन्। 

यसरी गरे भ्रमण
गाउँको वडा कार्यालयबाट बिदा भएपछि उनी पहिलो दिन झापाको गौरादह गए। त्यसपछि झापाकै गौरीगञ्ज, कमल गाउँपालिका घुमे। त्यो लटमा उनले झापाका १५ वटा पालिकाको भ्रमण सके। 

त्यसपछि फेरि मोरङतिरै फर्किए। उर्लाबारी र विराटनगरका सबै वडाको भ्रमण पूरा गरेपछि उनी सुनसरीका पालिकाको भ्रमणमा निस्किए। सुनसरीका सबै पालिकाको भ्रमण सकेपछि उनी इलामतिर लागे। 

०७८ सालमा उनले कोसी प्रदेशका ८ वटा जिल्लाको भ्रमण पूरा गरे। त्यसपछि ०७९ मा उनी भोजपुरतर्फ सोझिए। 

‘त्यसरी हिँड्दा मेरा जुत्ता त १५ दिनमै फाट्थे,’ उनी भन्छन्, ‘साइकलमै हिँड्दा पनि ओरालोमा जुत्ता भुँइमा घिसार्दै हिँड्नु पर्थ्याे। जुत्ताले साइकलमा ब्रेकको पनि काम गर्नुपर्ने। त्यसो गर्दा जुत्ताको तलुवा चाँडै जान्थे। ओरालोमा साइकलको ब्रेकले मात्रै नथेग्दा खुट्टा भुँइमा घिसार्दै साइकल हाँक्थे। उकालो र अप्ठ्याराे बाटोका साइकल डोहोर्‍याउँथेँ।’

काइकेमा पालिका र मान्छे भेटिएनन्
भ्रमणको क्रममा डोल्पाको काइके गाउँपालिकामा पालिका र वडा कार्यालय मात्रै नभएर मान्छे पनि भेटेनन् उनले। फाट्टफुट्ट भेटिने घरमा पनि मान्छे नभेटिएको उनको अनुभव छ।  

‘काइकेमा पालिका र वडा कार्यालय फेला नपारेर भौतारिँदै थिएँ, धन्न भेरी खोलाको किनारमा एउटा प्रहरी चौकी भेटियो,’ उनले भने, ‘त्यहीँका प्रहरीले आफूलाई पकाएको खाना मलाई पनि दिए। त्यहाँबाट बल्लबल्ल ज्यान जोगाएर फर्किएँ।’

ती प्रहरीलाई उनले ‘यहाँ किन मान्छे नदेखिएका?’ भनेर सोधे। प्रहरीले ‘यताका सबै मान्छे यार्सागुम्बा टिप्न लेकतिर गएका छन् बा’ भन्ने जवाफ पाए। 

घुम्दै जाँदा उनी पाँच हजार ३ सय मिटर उचाइमा रहेको डोल्पाको सेफोक्सुन्डो गाउँपालिकामा पनि पुगे।

‘त्यहाँ जान हिमाल पार गर्नुपर्ने रहेछ। म पुगेको सबैभन्दा बढी उचाइको पालिका नै यही हो,’ उनले भने, ‘त्यहाँ पुग्दा मलाई सास फेर्नै गाह्रो भएको थियो। अब बाँच्दिन कि क्या हो भन्ने लाग्दै थियो। एकजना बटुवाले लामोलामो सास तान्नुस् भनेर सिकाए। मैले त्यसैगरेँ। त्यहाँबाट बल्ल बल्ल बाँचेर तल झरेँ। सेफोक्सुन्डोका कतिपय वडा हिमालभित्र रहेछन्। मान्छे बिनाका वडा पनि रहेछन्। त्यस्ता वडामा गइँन। गए पनि मान्ने नभेटिने ठाउँमा किन जानू?’

सेफोक्सुन्डोबाट उनी सदरमुकाम दुनै फर्किए। त्यहीँ उनले गाउँपालिका अध्यक्ष धावा सम्डुक लामालाई भेटेर आफू सेफोक्सुन्डो आइपुगेको प्रमाणित गराए। 

उनी जहाँ पुग्थे, त्यहाँका स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष लगायतलाई भेटर आफ्नो भ्रमणको आधिकारिकताको पत्र लिन्थे। जनप्रतिनिधि र कर्मचारीले ‘रामभक्त कौडिन्य प्याकुरेल नाम गरेको साइकल यात्री यहाँ आइपुगेको प्रमाणित गरिन्छ’ भनेर पत्र दिन्थे। त्यस्ता हजारौँ पत्र उनीसँग सुरक्षित छन्। 

हिउँदमा मधेस, वर्खामा पहाड घुम्थे
कोसीका जिल्ला सकेर उनी मधेस प्रदेश झरेका थिए। मधेसका ८ जिल्ला सकेपछि बागमतीका जिल्लातिर लागे। अन्तिममा उनले सुदूरपश्चिम प्रदेशको भ्रमण गरे। त्यसबीचमा कर्णाली प्रदेशको सुर्खेत, कालीकोट, अछामसहितका जिल्लाको भ्रमण छुटेको थियो। अन्तिममा उनले सुर्खेतको भेरीगंगा नगरपालिका पुगेर गएको असार २ गते आफ्नो यात्रा पूरा गरे। 

‘कालीकोटको पलाँटा भन्ने गाउँमा पुग्दा ठूलो पानी पर्‍याे, बाढी पनि आयो। त्यही बेला साइकल पनि बिग्रियो,’ उनले भ्रमणको अनुभव सुनाउँदै भने, ‘त्यो साइकल पुरानो पनि भइसकेको थियो। त्यतिबेला साइकल लिन भनेर नेपालगन्ज झर्दा कर्णालीका केही जिल्ला छुटेका थिए। त्यसलाई पछि गएर पूरा गरेँ।’

नेपालगन्जमा नयाँ साइकल किनेपछि उनी गण्डकी जिल्ला तिर लागे। गण्डकीका पालिकाको भ्रमण सकेर उनी सुदूरपश्चिमकाका पालिकाको भ्रमणमा गए। पछि उनी फेरि कर्णालीका बाँकी लिल्लाको भ्रमणमा निस्किए। 

उनी बर्खाको बेला पहाड र हिमालका पालिका घुम्थे भने हिउँदमा मधेसतिर डुल्थे। ‘कात्तिकदेखि फागुनसम्म म तराई/मधेसका पालिकातिर हुन्थेँ। फागुनदेखि असोजसम्म पहाड र हिमाली जिल्लामा घुम्थेँ,’ उनले भने, ‘हिउँदमा पहाड घुम्न र बर्खामा मधेस घुम्न मौसम अनुकूल नहुने भएकाले त्यसाे गरेकाे हुँ।’

घरबाट नेपाल भ्रमण गर्न भनेर निस्किएपछि गत वर्ष साउनमा उनी एकपटक मात्रै उनी घर पुगे। त्यतिबेला १५ दिनजति गाउँमा बसेकाे उनी सुनाउँछन्। 

भ्रमणको क्रममा उनी विश्वको सर्वोच्च शिखर सगरमाथाको बेसक्याम्पसम्म पुगे। सगरमाथाको काखमा रहेको पासाड ल्यामु गाउँपालिका घुमे। मुस्ताडको लोमान्थाङ दरबार र मनाङ सदरमुकाम चामे पनि साइकल लिएरै पुगे। 

‘चामेको प्रहरी कार्यालयमा साइकल राखेर दिनभरी डिँडेर त्यहाँको नार्पाभूमि गाउँपालिका पुगेँ,’ प्याकुरेलले भने, ‘चामेबाट १८ घण्टा हिँडेर नार्पाभूमिमा पुगेको थिएँ।’

कतै डोहोर्‍याउँदै त कतै चढ्दै सबै ठाउँमा साइकल लिएर गएका थिए उनी। तर, नार्पाभूमिमा भने हिँडेरै गएको उनी सुनाउँछन्। ‘त्यहाँ साइकल जाने बाटोसमेत रहेनछ,’ उनले भने। 

बाटाेमै बिते दसैँतिहार

भ्रमणका क्रममा उनले चाडपर्व बाटोमै मनाए। ‘दसैँ तिहार, माघे संक्रान्ति, नयाँ वर्ष जे-जे पर्व आउँछन्, मैले बाटोमै मनाएँ,’ उनले भने, ‘घुम्दै जाँदा जता पुगिन्थ्याे त्यतै बस्थेँ। चाडपर्व मान्न भनेर घर फर्किनँ। घरमा को छ र फर्किनु? एक्लाे ज्यान जता पुग्याे त्यतै बस्याे।’

कागबेनीबाट साइकल लिएर लोमान्थाङतर्फ लाग्दा पानी खानसमेत नपाएको अनुभव उनीसँग छ। यात्राकाे क्रममा  पर्सा जिल्लाका ग्रामीण भेगमा जन्मेदेखि वीरगन्जसम्म पनि नपुगेका महिला पनि उनले भेटे। पहाडका धेरै बस्ती बसाइँसराइँले रित्तिएका पाए। ‘पहिला खेती गरेका फाँटका फाँटका जग्गा अहिले बाँझिएका छन्। हामीले  बेचेर आएको चैनपुरको खेत पनि बाँझै रहेछ। मन दुख्याे,’ उनले भनेँ। 

सुरुमा उनले अग्लाेखाले साइकल चढेर यात्रा गरे। तर त्याे साइकल पहाडी भूगाेलमा उनलाई अप्ठ्याराे लाग्याे त्यसपछि सानाे खाले लेडिज साइकल चढे। पछि गियरवाला किने। तर, गियरवाला साइकल धेरै बिगिएर दुःख दियो। त्यसपछि उनले ब्याट्रीबाट चल्ने इलेक्ट्रिक साइकलमा यात्रा गरे।

यात्राको क्रममा उनले सबैभन्दा धेरै दिन बिताएको ठाउँ रुपन्देहीको तिलोत्तमा हो। त्यहाँ उनी मन्दिरको धर्मशालामा १६ दिन बसे। ‘त्यतिबेला दसैँ परेको थियो। त्यहीँ बसेर दसैँ माने,’ उनले भनेँ। नेपाल घुम्ला उनलाई सबैभन्दा राम्रो लागेको ठाउँ पनि तिलोत्तमा नगरपालिका नै हाे। 

कतिपय ठाउँमा उनलाई बाटोमा जँड्याले दुःख दिए। नेपाल भ्रमणमा हिँडेको भन्दा केही जँड्याहाले कठालाे समाए। खल्ती छामे। साइकल फ्याँकिदिए।

कतै साइकल चलाउँदै गरेको बेला रोकेर पैसा गोजिमा हाल्दिने दाता पनि उनले भेटे। त्यस्ता सजिला र अप्ठ्याराे झेल्दै उनी अघि बढिरहे। कतिपय ठाउँसम्म जंगली जनावरसँग जम्का भेट पनि आक्रमणमा चाहिँ परेनन्।

भ्रमणका क्रममा उनले देशका सातसय ५३ मध्ये झण्डै चारसय जति पालिका प्रमुखहरूलाई प्रत्यक्ष भटे। पालिका प्रमुखकै हातबाट उनले भ्रममणा आधिकारिकताकाे पत्र लिएका छन्। 

यति लामो सयम यात्रा गर्दा पनि उनले कहिल्यै खुला आकाशमुनी रात बिताएनन्। कतिपयले उनलाई होटलमा पनि निःशुल्क राखे। केही होटलवालाले भने लाग्ने भन्दा पनि ज्यादा रकम असुले। 

अनकन्टार जंगलको बाटोमा साइकल हाँकेर हिँडेको बेला कतिपयले गाडी रोकेर सोधखोज गरे। ‘गाडीमा चढ्नुस् गन्तव्यमा पुर्‍याइदिन्छु’ पनि भने। यो भ्रमणबाट आफूले विश्वविद्यालयले नदिने शिक्षा पाएको उनी बताउँछन्।

यो यात्रामा कति खर्च भयो? उनले हिसाब राखेका छैनन्। यात्रामा ८–१० लाख जति खर्च भएको उनको अनुमान छ। ‘तर, त्यो खर्च भ्रमणकै क्रममा उठ्यो,’ उनी भन्छन्। उनी जहाँ पुग्थे, त्यहीँ खर्च जुट्थ्यो। 

दाताहरुले खुसीले दिन्थे। व्यापारी, गाउँले, जनप्रतिनिधि सबैले उनलाई आर्थिक सहयोग गरे। मन खोलेर सहयोग गर्नेले व्यक्तिगत २ हजारसम्म दिए। संस्थागत सहयोग गर्नेमध्ये हुम्लाको सीमीकोट गाउँपालिकाका प्रमुखले १५ हजार र चाँदनी दोधाराकाका नगर प्रमुखले १० हजार रुपैयाँ सहयोग गरेको उनले सुनाए। 

हिँड्दा धेरै खाले हण्डर ठक्कर पाए पनि आफूले यात्रा नरोकेको उनी बताउँछन्। 

जता पुग्थे साइँनो लगाएर बस्थे। ‘साँझमा आइपुगेका पाहुनालाई खानबस्न दिने नेपाली परम्परा नै हो। एकाधलेबाहेक मलाई बास दिन कसैले अप्ठ्यारो मानेनन्,’ उनले भने, ‘सबै ठाउँमा पाटीपौवा पाइँदैनथे। होटल पनि हुँदैनथे। त्यो बेला व्यक्तिका घरमा बस्नुको विकल्प थिएन। म धेरै रात व्यक्तिकै घरमा बसेँ।’ 

बजार क्षेत्रमा पुगेको बेला भने व्यक्तिका घरमा बास बस्न उनलाई अप्ठ्यारो लाथ्यो। त्यतिबेला भने उनी होटलमै बस्थे। ‘जस्तो परिस्थिति आइपर्छ त्यस्तै गरेँ,’ उनी भन्छन्। 

यात्राका क्रममा कतिपयले उनलाई गाली पनि गरे। ‘काम नपाएर हिँडेको बुढो, किन हिँडेको होला? बुढेसकालमा थपक्क घरमा नबसेर, बेकामे मान्छे’ पनि भने। त्यस्ता बचनलाई उनी एक कानले सुनेर अर्को कालने उडाइ दिन्थे। 

कतिपयलाई भने उनी ‘कहिल्यै खाएन नअघाएकाहरू, तिमीहरु खानकै लागि जन्मिएका रहेछौँ खाइरहो’ पनि भन्थे। ‘त्यसो भन्दा कोही रिसाउँथे, कोही हाँस्थे। त्यति भनेपछि म आफ्नो बाटो लाग्थेँ। उनीहरूसँग विवाद गर्दिनथेँ,’ उनी भन्छन्।

घर छाडेर नेपाल भ्रमणमा निस्कने कुरा गर्दा सुरुमा धेरैले उनको भनाई पत्याएका थिएनन्। ‘यो मुला बुढोले के नेपाल घुम्ला र? काठमाडौँसम्म पुगेर फर्किन्छ होला’ पनि भनेका थिए कतिपयले। 

‘मैले नेपाल भ्रमणमा हिँड्छु भन्दा केहीले साइकल हाँक्दाहाँक्दै थाक्छ, अनि फर्किन्छ। काठमाडाैँसम्म चाहीँ पुगिहाल्छ कि पनि भनेका थिए,’ उनी भन्छन्, ‘तर, मलाई राम्ररी बुझेकाहरू चाहीँ ‘यसले पार लाउन पनि सक्छ है’ भन्थे।’

यात्राको क्रममा उनी कहीँ बिरामी परेनन्। तर, सामान्य दुर्घटनामा चाहीँ परे। साइकलबाट लडेर हातको औँला भाँचियो।  तर, उनले यात्रा रोकेनन्।

‘स्याङ्जाको बिरुवा गाउँपालिकाको भ्रमणका क्रममा म साइकलबाट खसेँ,’ उनले भने, ‘ओरालो बाटोमा साइकल धेरै कुदेपछि ब्रेक लगाउने भएको, म अगाडि पुगेँ, साइकल पछाडी नै छुट्यो। त्यतिबेला दाहिने हातको एउटा औँलो भाँचियो। त्यसपछि पनि मैले यात्रा चाहिँ रोकिनँ।’

यो यात्राको क्रममा नेपाललाई राम्ररी चिन्न र बुझ्न पाएको उनी बताउँछन्। ‘नेपाल प्राकृतिक रुपमा सारै धनी देश हो। वनस्पती, माटो, पानी हाम्रा सम्पत्ती हुन्। जे लगाए पनि फल्ने मलिलो माटो छ। तर, नेताहरूले नै देशलाई बिगारे। तन्नम बनाए,’ उनी आक्रोस पोख्छन्।  

अहिले पलेँटी कसेर लेख्दैछन् किताब

‘नेपाल भ्रमण सक्नुभयो, अब के गर्ने इच्छा छ त बा?’ कुराकानी टुंग्याउँन सोधिएको प्रश्नमा उनले जवाफ दिए, ‘अब भ्रमणको अनुभवलाई किताबमा संग्रहित गर्ने सोच बनाएको छु। अहिले म लेख्दै छु। किताब छाप्छु, टेम्पो किन्छु। त्यसमा किताब राख्छु। अनि फेरि त्यसलाई बेच्न देशभर घुम्छु।’ 

‘आफैँ लेख्नुहुन्छ किताब?’ प्रश्न सुनेर उनी हाँसे। ‘प्रधानमन्त्री (केपी शर्मा ओली) भन्दा २ कक्षा बढी पढेकाे मान्ने म। किन नलेख्नु?’ उनकाे जबाफ थियाे। त्याे जमानामा पनि कक्षा १० सम्म पढेका रहेछन् उनले। 

यतिबेला उनी दाम्रभिट्टास्थित घरमा बसेर आफ्नो नेपाल भ्रमणको अनुभवन र घटनाक्रम शिलशिलावद्ध गर्दैछन्। ‘भ्रमणका क्रममा दैनिकी पनि लेखेको थिएँ। धेरै भिडिओ र फोटाहरू छन्। त्यसलाई आधार बनाएर यात्राको बर्णण गर्दैछु। मेरो किताबमा ठाउँ, परिवेश, मलाई मान्छेहरूले गरेका व्यवहार, मेरा अनुभव, धारणा सबै समेट्छु। मैले नेपाललाई कसरी बुझेँ त्याे तपाईँले मेराे किताबमा पढ्न पाउनु हुनेछ,’ उनले भने। 

किताब छाप्ने खर्च उनलाई यात्राकै क्रममा जुटेको छ। ‘यो भ्रमणका क्रममा कति रकम जुट्यो होला?’ यो प्रश्नमा उनले भने, ‘ठ्याक्कै अंकमा त म भन्न सक्दिनँ। तर, किताब छाप्न पुग्छ होला।’ 

आफूले लेख्न थालेको संस्मणात्मक पस्तक एक हजार पेज भन्दा लामो हुने उनले बताए। ‘आगामी मंसिरसम्ममा पुस्तक लेखिसक्ने र बिमोचन गर्ने योजनामा छु,’ उनले भने, ‘अहिलेसम्म आधाउधि लेखिसकेँ। रातदिन नभनी लेख्दै छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad