समाज


उपभोग्यवस्तुको सहज आपूर्ति व्यवस्था मिलाउन मुख्यसचिव अर्यालको निर्देशन

उपभोग्यवस्तुको सहज आपूर्ति व्यवस्था मिलाउन मुख्यसचिव अर्यालको निर्देशन

नेपालखबर
भदौ २२, २०८२ आइतबार १८:५१, काठमाडौँ

मुख्यसचिव एकनारायण अर्यालले आसन्न चाडपर्वमा उपभोग्यवस्तुको सहज आपूर्तिका लागि बजार अनुगमन र मूल्यवृद्धि नियन्त्रणमा ध्यान दिन निर्देशन दिएका छन्। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको ७१औँ बैठकमा उनले उपभोग्यवस्तु सुपथ मूल्यमा सहज रुपमा उपलब्ध गराउन साल्ट ट्रेडिङ कम्पनी लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई निर्देशन दिएका हुन्।

मुख्यसचिव अर्यालले भने, ‘चाडपर्वमा उपभोग्यवस्तुको सहज उपलब्धता, महँगी नियन्त्रण तथा नापतौलमा हुने ठगी नियन्त्रण गर्न संयुक्त बजार अनुगमन आवश्यक छ। यस वर्ष राज्यका सबै संयन्त्रले देखिने गरी काम गर्नुपर्छ। यसमा तपाईंहरू गम्भीर भएर लाग्नुस्।’

उनले प्रमुख जिल्ला अधिकारी, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र व्यापार कम्पनीले संयुक्त अनुगमनका लागि तीन दिनभित्र आवश्यक व्यवस्थापन गर्न निर्देशन दिए। उनले बजार अनुगमन, कालोबजारी, अखाद्य वस्तुको बिक्रीवितरण रोक्न सरोकार भएका सबै निकायबीच प्रभावकारी समन्वय जरूरी रहेकामा जोड दिए। ‘अनलाइन’मार्फत बसको टिकट बिक्री प्रणाली र क्षमताका आधारमा मात्रै टिकट बिक्रीवितरणको व्यवस्था मिलाउन पनि यातायात व्यवस्था विभागलाई मुख्यसचिव अर्यालले निर्देशन दिए।

उनले शान्तिसुरक्षाको भरपर्दो व्यवस्था गर्न तीनवटै सुरक्षा निकायलाई आग्रह गरे। राजस्व छली नियन्त्रण तथा सार्वजनिक बिदामा पनि अत्यावश्यक सेवालाई निरन्तरता दिने व्यवस्था मिलाउन अर्यालले गृह मन्त्रालयलाई समन्वयका लागि आग्रह गरे। 

उनले भने, 'राजस्व छली नियन्त्रण, वस्तु खरिदको वास्तविक बिल बीजकको सुनिश्चित गरिनुपर्छ। वीरगञ्जमा सामान ‘लोड’ हुन्छ। ठमेलमा बिल बन्छ, यो बदमासी कडाइका साथ नियन्त्रण हुनुपर्छ। व्यावसायिक प्रशासनको प्रत्याभूति दिनसक्नुपर्छ। सुनको बदमासीलाई पनि नियन्त्रण गरिनुपर्छ।'

मुख्यसचिव अर्यालले प्रदेश र स्थानीय तहका प्रमुखले प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर बजार अनुगमनलगायत क्रियाकलापमा सक्रियता देखाउनुपर्नेमा जोड दिए। बैठकबाट भएका निर्णयको कार्यान्वयनको प्रगति समीक्षा गर्न दसैँअगाडि बैठक बस्ने जानकारी दिँदै उहाँले आआफ्नो क्षेत्रमा इमान्दारिताका साथ क्रियाशील हुन सबैलाई सचेत गराए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad