सिफारिस भएको १० दिनपछि नवनियुक्त १० डीआईजीले फुली (दर्ज्यानी चिह्न) लगाएका छन्।
प्रहरी प्रधान कार्यालयमा सोमबार प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले नवनियुक्त डीआईजीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
नवनियुक्त डीआईजी घनश्याम अर्याल, प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, सहकुलबहादुर थापा, धिरजप्रताप सिंह, वसन्त कुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार बीसीलाई डीआईजीमा बढुवा गरिएको हो।
उनीहरुलाई ७ प्रदेश, सीआईबी, तालिम केन्द्र र प्रधान कार्यालयमा पदस्थापन गरिने भए पनि कसलाई कहाँ पठाउने भन्ने टुंगो लाग्न बाँकी छ। बढुवा भए पनि डीआईजीहरुको कहाँ पदस्थापना हुने भन्ने टुंगो लागिसकेको छैन।
कुन डीआईजीलाई कहाँ पठाउने भन्ने पत्रमा हस्ताक्षर हुन बाँकी रहेको गृहका एक उच्च अधिकारीले जानकारी दिए।
नवनियुक्त डीआईजीहरुलाई सोमबार नै पत्र थमाउने गरी तयारी भइरहेको पनि उनले बताए।
डीआईजी बढुवासँगै काठमाडौं परिसर, अपराध महाशाखा, मानव बेचविखन अनुसन्धान ब्युरो, लागूऔषध नियन्त्रण ब्युरो लगायत रिक्त छन्।
गत चैत २८ मा बढुवा समितिले १० एसएसपीलाई डीआईजीमा बढुवा गरेको थियो।

प्रतिक्रिया