धुलिखेलस्थित जिल्ला कारगारमा लगाइएको आगो दुई घण्टापछि नियन्त्रणमा लिइएको छ। कारागारकै कैदीबन्दीले मध्याह्न १२ः०० बजे लगाएको आगो २ः०० बजे नियन्त्रणमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दमकल प्रयोग गरेर कारगारमा भएको आगजनी नियन्त्रणमा लिएको कार्यालय प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए। कारागारमा आगजनी गरेपछि बाहिर ठूलो सङ्ख्यामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो।
आगजनीको नेतृत्व गर्ने सागर मैनालीलगायत चार जनालाई कारागारभित्र असुरक्षित भएपछि बाहिर निकालिएको शाहले बताए। उनका अनुसार हाल कारागाारमा रहेका दुई सय ८३ कैदीबन्दी सुरक्षित रहेका छन्। कारागार परिसरमा सेनासहितको सुरक्षा व्यवस्था कडा गरिएको जनाइएको छ।
कारागारभित्र नाराजुलुस गर्दै कैदीबन्दीले बाहिर निस्कन पाउनुपर्ने माग राख्दै तोडफोड गरी आगलागी गरेको कारागार सुरक्षार्थ तैनाथ प्रहरीले बताएको छ। सोही क्रममा उनीहरूले आगजनी गरेको सुरक्षाकर्मीको भनाइ रहेको छ। रासस
Shares

प्रतिक्रिया