समाज


अर्थमन्त्रीले पदभार ग्रहण गरिरहँदा सचिव फेर्न माग गर्ने शालिकराम को हुन्?

भन्छन्- फेरेनन् भने फेरि जान्छु नि!
अर्थमन्त्रीले पदभार ग्रहण गरिरहँदा सचिव फेर्न माग गर्ने शालिकराम को हुन्?

वाशुदेव मिश्र
भदौ ३०, २०८२ सोमबार १६:१७, पोखरा

अर्थमन्त्री रामेश्वर खनालले मन्त्रालयका सचिव र कर्मचारीसँग परिचय गरिरहँदा एकाएक अर्थसचिवको राजीनामा माग गर्ने एक पौढ यतिबेला सामाजिक सञ्जालमा चर्चित बनेका छन्।

आफ्ना कुरा राख्ने भन्दै कार्यक्रममा पुगेका उनले मन्त्रीकै सामुन्ने अर्थसचिव घनश्याम उपाध्यायलाई हटाउनुपर्ने मागमात्र गरेनन्, सचिवहरूले आफूले चाहेको योजनामा बजेट खन्याउने गरेको आरोप पनि लगाए।

अर्थमन्त्री खनालसँग हात मिलाएर बाहिरिएका उनी खासमा पर्वतको कुश्मा नगरपालिकाको दुर्लुङका स्थायी बासिन्दा शालिकराम पौडेल हुन्। पूर्वशिक्षकसमेत रहेका उनी अहिले भने काठमाडौं बस्छन्। 

उनी भन्छन्, ‘हैन राजा, बाँच्ने त देश र जनताको लागि हो। अन्याय हामीले सहिन्न। मैले त भोगेको छु नि बाबु। जनताले भोगेका दुःख सप्पै थाहा छ, देश कसरी चलाउनुपर्छ भन्ने पनि थाहा छ। यिनीहरू सबैले गोजीबाट चिट निकालेर बजेट (विकासे योजनामा) हालेका हुन्,जनताको लागि बजेट हालेका हैनन्। त्यही भएर यिनीहरू सबै फेर्न पर्छ भनेको हो। फेरि टेरेनन् भने एक–दुई दिनमा फेरि गएर ताकेता गर्छु नि।’

जेनजीको आन्दोलनमा पनि हुनुहुन्थ्यो कि? यो प्रश्नमा उनले भने, ‘हाम्रो नैतिक समर्थन हो। तोडफोड गर्नेलाई समर्थन हैन। यो समर्थन भनेको संचारमा यिनीहरूले प्रतिबन्ध लगाए नि, त्यसमा लगाउनु हुँदैन। संचारको हक भन्ने कुरा सबैले पाउनुपर्छ भन्ने मेरो मान्यता हो।’ 

उनलाई फेरि सोधियो, ‘कुनै अभियान चलाउनु भएको छ र?’ 

‘हेर्दै जाऊँ। तपाईंले पछि थाहा पाउनु हुन्छ। म संस्थामा छैन। म चाहिँ देशैभरका नागरिकको पीडाको आवाजलाई बुलन्द गर्ने मान्छे हुँ। एक ठाउँको गरीब जनताले दुःख पाइछ भने देशैभरका जनताको पीडा एउटै हुन्छ क्या बाबु’ उनले भने।

उनलाई चिन्नेहरू भन्छन्– कुनैबेला उनी दुर्लुङको सूर्यप्रकाश माविमा पढाउँथे। उनका पिता राप्रपाबाट गाउँपालिका उपाध्यक्ष बनेका थिए। 

‘सर, पढाउन त त्यस्तै हो, आफ्नो कुरा राख्न चाहिँ डराउने मान्छे हैन,’उनका एक विद्यार्थीले भने,‘मन्त्रालयहरूतिर जाने, कुरा बुझ्ने, आफ्नो कुरा भन्ने काम गर्न उहाँ माहिर नै हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad