समाज


अमेरिकाबाट बा र बहिनीले रोक्दारोक्दै आन्दोलनमा हिँडेका सौरन फर्केनन्

परिवार भन्छ : हत्यारालाई कारबाही होस्
अमेरिकाबाट बा र बहिनीले रोक्दारोक्दै आन्दोलनमा हिँडेका सौरन फर्केनन्

लक्ष्मी बलायर
भदौ ३१, २०८२ मंगलबार २०:१०, काठमाडौँ

साढे तीन महिनाअघि बसन्तकिशोर श्रेष्ठ श्रीमतीसहित अमेरिका पुगेका थिए। छोरीले बोलाएर अमेरिका पुगेका उनीहरू घुमघाममा रमाइरहेका थिए। सोहीबीच बसन्तले समाचारमार्फत नेपालमा जेन-जी आन्दोलन हुन लागेका थाहा पाए।

थुप्रै राजनीतिक परिवर्तन भोगेका बसन्तलाई आन्दोलनमा जे पनि हुन्छ सक्छ भन्ने थाहा थियो। जसकारण आन्दोलन हुनुको अघिल्लो दिन उनले नेपालमा रहेका छोरालाई फोन गरे।

र, एक्ला छोरा सौरनकिशोर श्रेष्ठलाई भने, 'आन्दोलनमा जाने होइन बाबु। म आफैँ ५० वर्ष राजनीति गरेको मान्छे। वितृष्णा लागेर छोडेर बसेको छु। त्यतातिर नजाऊ है।'

सौरन देशमा बढिरहेको विकृति र भ्रष्टाचार देखेर दिक्क थिए। त्यसविरुद्ध आवाज उठाउन पनि आफू यस आन्दोलनमा जानैपर्छ भन्ने उनको बुझाइ थियो। बुवासहित उनकी बहिनीले पनि दाइ नजानु भन्दै सम्झाएकी थिइन्। तर, उनले उल्टै बहिनीलाई ‘यहाँ भए तँ पनि जान्थिस्। म किन नजाने’ भन्दै जवाफ फर्काए।

भोलिपल्ट वनस्थली ढुंगेधारा बस्ने सौरन आन्दोलनमा जान तयार भए। बिहानै उठेर दाह्री काटे। अनि नुहाए। र, बेलुकाको खाना तताएर खाए। चाउचाउ, बिस्कुट र पानी झोलामा राखेर घरबाट निस्केका उनी आन्दोलनमा मिसिए।

विकृतिविरुद्ध आवाज उठाउन आन्दोलनमा गएका सौरनलाई संसद् भवनअगाडि गोली लाग्यो। छातीमा दुई गोली लागेर ढलेका उनलाई केएमसी अस्पताल लगिएको थियो। तर, उनी बाँच्न सकेनन्।

‘मैले बेलुका छोरालाई सम्झाएको थिएँ। बाबु यस्तो हुन्छ, भोलि नजाऊ भनेको थिएँ। अमेरिकाबाट मसहित छोरीले सम्झाएकी थिइन्। तर, उसले मानेन,’ बसन्तले दु:खी हुँदै भने, ‘छोरा साढे ११ बजे आन्दोलनमा पुगेको थियो रे। तर, संसद भवनअघि घाइतेलाई उठाउन खोज्दा छातीमा दुई गोली लाग्यो। घाँटीमा पनि छर्रा लागेको थियो। अस्पताल लगे पनि छोरा बाच्न सकेन।’

बसन्त र उनकी श्रीमती आउँदो नोभेम्बर १५ मा नेपाल फर्किने कुरा थियो। जसको लागि टिकट पनि काटिसकेका थिए। तर, भोलिपल्ट केएमसीले सार्वजनिक गरेको मृतकको सूचीमा आफ्नै छोराको नाम देखेर उनी तुरुन्तै फर्किए।

यद्यपि नेपाल आइपुगुन्जेलसम्म उनले श्रीमतीलाई छोराको मृत्युको खबर दिएनन्। विमानबाट ओर्लिएपछि मात्रै आमाले छोराको मृत्यु भएको थाहा पाइन्। बुढेसकालको सहारा एक्लो छोरा गुमाउँदा विक्षिप्त छ परिवार।

उनका अनुसार सौरन पाँच वर्ष कोरिया बसेर नेपाल फर्किएका थिए। नेपाल फर्किएसँगै ०७५ फागुनमा उनले बिहे समेत गरेका थिए। उनीहरूको ६ वर्षको एक छोरा समेत छन्। सौरनको मृत्युसँगै श्रीमती भावविह्वल छिन्।

३८ वर्षीय सौरन सोझो स्वभावका थिए। खासै भिडभाड नरुचाउने उनी कसैको बिहेमा समेत जाँदैनथे। साथीहरूले बोलाउँदा समेत जमघटमा जान मान्दैनथे।

उनले भने, ‘मेरो छोरा एकदमै सोझो हो। साथीको बिहेमा पनि नजाने। कतै हुलहालमा नजाने। साथीहरूले रमाइलो कार्यक्रम आयोजना गर्दा पनि नजाने केटा हो। तर, त्यसदिन आन्दोलनमा गयो। देशमा व्याप्त देशमा व्याप्त विसंगति र विकृतिविरुद्ध विद्रोह गर्न खोज्यो। त्यसको बदलामा गोली खायो।’

उनले छोरालाई सहिद घोषणा नगरेसम्म लास नबुझ्ने भनेका थिए। तर, सरकारले सहिद घोषणा गरेसँगै सोमबार दाहसंस्कार गरिसकेका छन्। छोराको हत्याराहरूलाई कारबाही हुनैपर्ने उनको माग छ।

‘ओली सरकारले छाती र टाउकोमा गोली हान्यो। हाम्रो छोरालाई सहिद बनाउने यस्ता अपराधीविरुद्ध मुद्दा चल्नुपर्छ। न्यायको कठघरमा ल्याउनुपर्छ। कारबाही हुनपर्छ भन्ने पहिलो माग हो। त्यस्तै, जेन जी आन्दोलनबाट बनेको सरकारले विकृति, विसंगति र भ्रष्टारविरुद्ध काम गर्नपर्छ,’ उनले भने।

साथै सहिदको परिवारले उचित क्षतिपूर्ति पाउनुपर्ने उनको माग छ। सहिदको बालबच्चाहरूले पढ्न लेख्नसहित जीवन निर्वाहको लागि राज्यले सोच्नुपर्ने उनको तर्क छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad