समाज


आन्दोलनकारीले जिउँदै जलाउन लागेपछि महाराजगन्जका प्रहरीले आईजीपीलाई सुनाए ‘अन्तिम सन्देश’

आन्दोलनकारीले जिउँदै जलाउन लागेपछि महाराजगन्जका प्रहरीले आईजीपीलाई सुनाए ‘अन्तिम सन्देश’

उजिर कार्की
असोज १, २०८२ बुधबार २२:११, काठमाडौँ

‘भिक्टर वान, भिक्टर वान, सर्कल वान जिरो सर।’

‘सर्कल वान जिरो, भिक्टर वान सेन्ट, भन्नु त,’ काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले सञ्चार सेटमा जवाफ फर्काए। 

‘रोजर सर, म सर्कल वान जिरो महाराजगन्ज वृत्तबाट असइ हिमबहादुर बिक हो सर। हामी ४०–५० जना प्रहरी महाराजगन्ज वृत्तको छतमा फसेका छौँ सर। तीन तलामा आगो लागेर सबै नष्ट भइसक्यो। ४/५ जना पुलिस मरिसक्यौँ। बाहिर रोडमा पनि पुलिसहरू मरेका छन् सर। जसरी हुन्छ बचाउनु पर्‍यो श्रीमान्,’ असइ बिकले एआईजी कार्कीसँग गुहार मागे। 

त्यसपछि एआईजी कार्कीले त्यहाँ स्थलमार्गबाट आउने कुन–कुन रुट छ भनेर सोधे। 

‘हातहतियार बन्दोबस्तीका सामान बोकेर आए बचाउन सकिन्छ सर,’ सडकबाट आउन सकिने जवाफ असइ बिकले दिए।

‘बचाऊँ श्रीमान्, बचाऊँ। जसरी भए पनि बचाऊँ। परिचालन गरौँ, हामीलाई बचाऊँ हजुर,’ कहालिँदै बिकले सञ्चार सेटमा हारगुहार गरिरहे। 

त्यसपछि एआईजी कार्कीले जहाँजहाँबाट जान सकिन्छ व्यापक टोली परिचालन गर्न कन्ट्रोललाई निर्देशन दिए। नजिकै रहेको टोलीबारे कन्ट्रोललाई सञ्चार सेटमै जानकारी आयो। 

‘ओस्कर वान’ लाई खबर भयो। उताबाट दुई जना घाइतेहरू आफ्नो टोलीमा रहेको र बुढानीलकण्ठ प्रभागबाट तलतिर निस्किसकेको जवाफ आयो। 

नजिकको टोलीलाई सहयोगका लागि गइदिन भिक्टर कन्ट्रोलबाट निर्देशन भयो। एआईजी कार्कीले जतिसक्दो छिटो उद्धारका लागि पठाउन भन्दै विपद उद्धार र प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानको टोलीलाई खटाउन निर्देशन दिए। अरु सानातिना ठाउँ छाडेर सबै टोलीलाई त्यहाँ केन्द्रित हुन भने।

लगत्तै महाराजगन्ज वृत्तको छतमा धुवाँको मुस्लोमा फसेका असई बिकले फेरि सम्पर्क गरे। प्रहरीकै कोड भाषामा उनले प्रहरी प्रमुख चन्द्रकुबेर खापुङ, काठमाडौँ उपत्यका प्रहरी प्रमुख एआईजी दानबहादुर कार्की र जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख विश्वराज अधिकारीलाई अन्तिम पटक भन्दै बिन्ती बिसाए। 

‘भिक्टर वानले पनि सुन्नुस्, किलो वानले पनि सुन्नुस्, पिटर वानले पनि सुन्नुस्। हाम्रो पुलिसका हाकिम सबैले सुन्नुस्। हामी मर्ने अवस्थामा छौँ। तपाईहरूले हामीलाई रेस्क्यु गर्नु भएन। हाम्रो अन्तिम आवाज सुन्नुस् सर। सेटबाट तपाईंहरू आफू र अरु मात्रै सुरक्षित हुनुस्। हामी ५ मिनेटभित्रमा मर्ने अवस्थामा छौँ सर,’ उनले भने।

त्यसपछि सबैले अन्तिम स्वर सुन्नुस् भन्दै हामी अब मर्ने हो भन्दै सामूहिक गुहार माग्छन्।

यसअघि महाराजगन्ज वृत्त केन्द्रित भएका प्रहरी त्यहाँ पुग्न सक्दैनन्। आन्दोलनकारीले उद्धारका लागि जाँदै गरेका प्रहरीलाई पिट्दै लखेट्छन्। त्यतिबेलै एक जना प्रहरीलाई ‘हामीलाई गोली हान्न आदेश दिने डीएसपी यही हो’ भन्दै सडकमा बीभत्स तरिकाले पिटेर मारेको देखिन्छ। यसरी आन्दोलनकारीको आक्रमणमा परेर मारिएका थिए प्रहरी जवान उत्तम थापा।

प्रहरी वृत्त अगाडि सडकमा उत्तमलाई आन्दोलनकारीले बर्बर रुपमा हत्या गरिरहँदा नजिकै असइ मिलन रायको रगतले सडक पोतिएको थियो। उनको रगताम्य शरीर आन्दोलनकारीले सडकमा घिसारिरहेका थिए। 

नजिकै अर्की महिला प्रहरी रगताम्मे लखेटिइरहेकी थिइन्। उनको बिन्ती सुनेर कोही आन्दोलनकारी अस्पताल लैजाऊँ भन्दै बचाउन खोजिरहेका थिए। तर कोही रगताम्य शरीरमा पनि आक्रमण गरिरहेकै थिए।

प्रहरी वृत्तको पछाडिपट्टि रहेको हिरासत नजिकैबाट आन्दोलनकारी भित्र प्रवेश गरेका थिए। उनीहरू भित्र छिरेर प्रहरीलाई आक्रमण गर्दै तोडफोड र आगजनीमा उत्रिए। हिमबहादुरको पनि टाउको र आँखा नजिकै चोट लाग्यो। उनीहरू छतमा पुगेपछि भने आन्दोलनकारी माथि गएनन्। सडकतिर भाग्नेलाई लखेटीलखेटी आक्रमण गर्न थाले। 

छतबाट आफ्नै सहकर्मीको बीभत्स हत्या हेर्न बाध्य थियो असई बिकसहितको टोली। अर्कोतर्फ धुवाँको मुस्लोले ढाकेको थियो। आगोको ज्वाला नजिक नजिक आउँदैथियो। 

उनीहरूले उद्धारका लागि गुहार त मागेका थिए तर पैदल आउने भनेको टोली आउन सकिरहेको थिएन। ती टोली पनि आन्दोलनकारीको आक्रमणमा परेका थिए। सबै टोली पुग्न नसकेपछि प्रहरी महानिरीक्षक खापुङ र एआईजी कार्कीले नेपाली सेनासँग सहयोग मागे। 

त्यसपछि छतमा फसेका २२ जनालाई चार लटमा हेलिकप्टरमा झुण्ड्याउँदै नेपाली सेनाको भैरवनाथ गणमा झारियो। आईजीपी र एआईजीलाई अन्तिम आवाज सुन्नुस् भन्दै गुहार मागेका बिक भने अन्तिम लटमा मात्रै आए।

उनको अहिले प्रहरी अस्पतालमा उपचार भइरहेको छ। बिक भन्छन्, ‘हामीलाई जोगाउन महत्त्वपूर्ण भूमिका खेलिदिनुहुने आईजीपी सर र एआईजी सरलाई हामी फसेका प्रहरीका तर्फबाट धेरैधेरै धन्यवाद।’  

उनीसहित घाइते प्रहरीको स्वास्थ्य सुधारोन्मुख छ। प्रहरी महानिरीक्षक खापुङ र एआईजी कार्कीले पटकपटक गएर अस्पतालमा घाइते प्रहरीहरूलाई भेटेर सान्त्वना दिइरहेका छन्। 

बुधबार गृहमन्त्री ओमप्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङले पनि भेटे। स्वास्थ्यलाभको कामना गरे। त्यसअघि प्रधानमन्त्री सुशीला कार्कीले महाराजगन्ज वृत्तको निरीक्षण गरिन्। आईजीपीले प्रधानमन्त्रीसँग प्रहरीको मनोबल गिरेकाले उकास्न सरकारले काम गर्नु पर्ने माग गरेका छन्। आन्दोलनकारीको आक्रमणमा परेका कतिपय प्रहरी अझै कार्यालय फर्किएका छैनन्। 

विक्षिप्त बनेर कति त जागिर छाड्ने तरखरमा छन्। दुई दिनको आन्दोलनमा महाराजगन्जका दुई जनासँगै कोटेश्वर प्रभागका अमृत गुरुङको हत्या भएको छ। 

६९ जना प्रहरी अस्पतालमा उपचाररत छन्। केही डिस्चार्ज भए पनि तत्कालै काममा फर्किने अवस्थामा छैनन्। 

जेनजीले देशभरका ४०७ वटा प्रहरी कार्यालयमा आगजनी र तोडफोड गरेका छन्। जसबाट १५७ प्रहरी कार्यालयमा पूर्ण क्षति पुगेको छ। आंशिक क्षति २५० वटा कार्यालयमा भएको छ। सयौँ हातहतियार लुटिएका छन्। बन्दोबस्तीका सामग्री ध्वस्त छन्। 

प्रहरीका सवारी साधन ५ सय ५० बढी जलाइएको छ। चारपांग्रे २२७ वटा जले। थप विवरण एकिन गर्न प्रहरीले डीआईजी दीपक रेग्मीको संयोजकत्वमा समिति बनाएको छ। उता जेन जीले आगो लगाएका कार्यालयहरू समुदायसँग मिलेर मर्मत–सुधार भइरहेको छ। तर कतिपय कार्यालयमा भने प्रहरी फर्किनै सकेका छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad