जेनजी आन्दोलनको पहिलो दिन भदौ २३ गते काठमाडौँको बानेश्वरमा एक युवक टाउकामै गोली लागेर रक्ताम्मे हुँदै सडकको बारमा झुन्डिन पुग्छन्।
सामाजिक सञ्जालमा भाइरल त्यो भिडिओको बीभत्स दृश्य देख्दा कसैले पनि उनी जीवित रहे होलान् भनेर सोच्न सक्थेनन्। किनकि त्यस दिन प्रहरीको गोली लागेर १९ युवा मारिएका थिए।
तर खुसीको खबर- दैलेख भगवतीमाई गाउँपालिका घर भएका ती युवक अर्थात् २८ वर्षीय दीपेन्द्र बस्नेत हाल काठमाडौँमा उपचाररत रहेको र स्वास्थ्य सुधार हुँदै गएको जानकारी प्राप्त भएको छ।
उनको तस्बिरसहित केपी खनालले आफ्नो फेसबुकमा लेखेका छन्, ‘पीडामा पनि एकाबिहानै एउटा खुसीको आशा बाँड्न यो खबर सुनाउँदै छु कि आन्दोलनका दिन यो तस्बिरमा देखिनुभएको व्यक्ति बाँच्नुभएको र अहिले स्वस्थ हुँदै जानुभएको छ।’
उनले अगाडि लेखेका छन्, ‘दैलेख भगवतीमाई गाउँपालिका घर भई हाल काठमाडौँ काम गर्न आउनुभएका २८ वर्षीय दीपेन्द्र बस्नेत जेनजी आन्दोलनको पहिलो दिनमै टाउकोमा गोली लागी झुन्डिरहेको तस्बिर सञ्जालमा आइरहेको थियो। हामी आन्दोलन दिनबाटै बिहानदेखि साँझसम्म अस्पताल, बिरामी, सफाइ गरिरहने क्रममा हिजो उहाँलाई भेट्न पाएका थियौँ। उहाँको बुवाले "आन्दोलनको दिन यो अवस्थामा थियो मेरो छोरा" भन्दै देखाएको त्यो तस्बिरले मुटु झस्स बनायो अनि एउटा खुसी दियो। यस्तै देशभर घाइते भएका सबैको छिटो खुसीको खबर सुन्न पाइयोस्। पुनः उहाँलाई स्वास्थ्य लाभको कामना।’
मुलुकमा व्याप्त भ्रष्टाचार र बेथितिविरुद्ध भदौ २३ गते जेनजीले गरेको प्रदर्शनमा सरकारले १९ जना मारिने गरी दमन गरेपछि भोलिपल्ट भदौ २४ गते आन्दोलन अझ उग्र बनेको थियो। उक्त दिन प्रदर्शनकारीले तोडफोड र आगजनी गरे। यस क्रममा उनीहरूले संसद् भवन, सर्वोच्च अदालत, सिंहदरबार केही पनि बाँकी राखेनन्।
आक्रोशित युवाले भाटभटेनीलगायत व्यापारिक भवनदेखि राजनीतिक दलका कार्यालय र नेताका घरसम्म तोडफोड र आगजनी गरे। यतिसम्म कि उनीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी तत्कालीन परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई बुढानीलकण्ठस्थित उनीहरूको घरभित्रै पसेर कुटपिटसमेत गरे।
अवस्था भयावह हुँदै गएपछि नेकपा एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलगायत शीर्ष नेताहरूलाई नेपाली सेनाले हेलिकप्टरमा हालेर शिवपुरमा लगी सुरक्षा दिनुपरेको थियो। अहिले पनि ओलीलगायतका नेता त्यहीँ छन्।
प्रहरीको गोलीले १९ आन्दोलनकारी मारिइसक्दा पनि पहिलो दिन पद नछाडेका ओलीले दोस्रो दिन ज्यान नै खतरामा परेपछि बल्ल प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि नेपाली सेनाको सहजीकरणमा जेनजी प्रतिनिधिसँग लामो वार्तापछि उनीहरूको रोजाइअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते राति पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्ति गरेका थिए। नवनियुक्त प्रधानमन्त्री कार्कीको सिफारिसमा त्यही रात राष्ट्रपतिले संसद् (प्रतिनिधि सभा) विघटन गर्दै फागुन २९ गतेका लागि निर्वाचन घोषणा गरिसकेका छन्।
जेनजी आन्दोलनमा परी हालसम्म ७४ जनाको मृत्यु पुष्टि भएको छ भने कैयौँ घाइते अझै अस्पतालमा छन्।
Shares

प्रतिक्रिया