भदौ २३ र २४ गते काठमाडौँ उपत्यकालगायत देशभरि भएको जेन जी आन्दोलनका क्रममा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। यो पीडाबाट मुलुक बाहिर निस्कने प्रयत्न गरिरहेको छ। तर केही दिनयता सामाजिक सञ्जाल हेर्दा आगामी दिनमा कलिला विद्यार्थी तथा युवा गम्भीर मानसिक समस्यामा पर्न सक्ने जोखिम देखिएको छ।
सुपरमार्केट र अन्य केही ठाउँबाट उनीहरूले खेलौना, आइसक्रिम, चकलेट, चिप्स, चिसो पेय पदार्थ जस्ता खानेकुरा चोरेको भन्दै उनीहरूका फोटो, भिडिओ सामाजिक सञ्जालमा राख्दै उनीहरूलाई ठूला अपराधीका रूपमा प्रस्तुत गर्न थालिएको छ। उनीहरूलाई गाली गरिएको छ। उनीहरूको खिल्ली उडाइएको छ। फोटोमा कति त १३/१४ वर्षका बालबालिका जस्ता देखिन्छन्।
सामाजिक सञ्जालमा ‘यी चोर हुन्, यिनका फोटो, भिडिओ भाइरल बनाऔँ’ भन्दै पोस्ट गरिएका छन्। यी पोस्टहरू सेयर गरिएका छन्। अहिले प्रहरीले आन्दोलनताका भएका आगजनी तथा लुटपाटका घटनामा जानकारी संकलन गरिरहेको छ। र अपराधको प्रकृति हेरी कारबाहीको प्रक्रिया थाल्ने देखिन्छ।
यस्तोमा सामाजिक सञ्जालमा चोर भन्दै जजसका फोटो र भिडियो पोस्ट गरिएका छन्, उनीहरूले साँच्चै सामान लगेका हुन् वा होइन, लगे पनि फिर्ता गरे कि माफी मागे कि? पूरा सूचना थिएन कि? पोस्ट गर्नेले यसको परवाह गरेको पाइँदैन।
‘यो गम्भीर विषय हो। यसले उनीहरूलाई पीडा दिन्छ। उनीहरूमा डर, त्रास, चिन्ता र हीन भावना ल्याउन सक्छ। र, मानसिक स्वास्थ्यमा असर पर्न सक्छ,’ मनोविद् विजया बिजुक्छे भन्छिन्, ‘सामाजिक रूपमा उनीहरू बहिष्कृत हुनसक्छन्। उनका अभिभावक पनि बहिष्कारमा पर्न सक्छन्। कामबाट निकालिन सक्छन्। स्कुल पढ्ने नानीबाबुलाई स्कुलमा एडजस्ट गर्न गाह्रो हुन सक्छ।’

बिजुक्छेका अनुसार उनीहरूको व्यवहारमा पनि नकारात्मक परिवर्तन आउन सक्छ।
‘त्यतिखेर भीडमा उसले पनि गर्यो, उसले पनि गर्यो र भीडको मनोविज्ञानमा उनीहरू बहकिएका पनि हुन सक्छन्। यस्तै घरमा सामान नलगेको पनि हुन सक्छ, आधा मात्र सूचना हुन सक्छ। यस्तोमा मलाई चोर भनियो, गलत भनियो, म गलत बन्छु भनेर पनि जान सक्छन्। यस्तै नकारात्मक टिप्पणीले उनीहरू आफैँले आफैँलाई चोट पुर्याउन पनि सक्छन्,’ उनले भनिन्।
जेन जी आन्दोलनपछि भर्खर भर्खरै स्कुल तथा कलेजहरू खुल्न थालेका छन्। सामाजिक सञ्जालमा राखिएका फोटो तथा भिडिओ र त्यहाँ गरिएका गाली बेइज्जतीका कारण कति विद्यार्थी चिन्ता र डर मानिरहेका हुन सक्छन्। कतिले साँच्चै सामान लगेका पनि हुन सक्छन्। स्कुल तथा कलेजमा आफूलाई एक्ल्याउने वा अपमानित गरिने हो कि भन्ने छटपटीमा पनि उनीहरू हुन सक्छन्।
मनोविद् बिजुक्छे भन्छिन्, ‘हो, उनीहरू साथीभाइ वा शिक्षक वा व्यवस्थापनबाट बहिष्कारमा पर्न सक्छन्। तर यसो नगरी सचेतना कक्षा सञ्चालन गर्नुपर्छ। उमेर र अवस्था अनुसारको गल्ती क्षमा गर्न लायकको हो कि होइन भनेर छलफल गर्नुपर्छ, बुझाउनुपर्छ।’
आफूमाथि चोरीको आरोप लगाइएको भन्दै केही विद्यार्थी सामाजिक सञ्जालमा कराइरहेको, प्रतिक्रिया दिइरहेको पाइन्छ। कति भिडिओहरू हेर्दा कोही त विक्षिप्त अवस्थामा नै पुग्ने हुन कि भन्ने पनि देखिन्छ।
‘यस्तो अवस्थामा उनीहरू सामाजिक सञ्जालबाट टाढा बस्नुपर्छ। यदि गल्ती गरेको हो भने स्वीकार्न र सजाय भोग्न तयार हुनुपर्छ। तर सामाजिक सञ्जालमा आफूलाई गाली बेइज्जती गर्नेलाई सजाय दिन कानुनी उपचारमा जान सकिन्छ,’ मनोविद् बिजुक्छे भन्छिन्, ‘अर्को कुरा आफूलाई गाह्रो भयो कराउन मन लाग्यो भने क्यामेरा अन गरेर चिच्याउने होइन, नजिकका व्यक्तिसँग कुरा गर्नुपर्छ। परिवार, शिक्षक र साथीसँग कुरा गर्न सकिन्छ। उनीहरूसँग मनको भावना व्यक्त गर्न सकिन्छ।’

पक्कै पनि अरुको सामान नसोधीकन लिनु वा पैसा नतिरीकन लिनु अनैतिक कार्य हो। तर किशोर विद्यार्थी तथा कलिला युवाले खेलौना, खानेकुरा लगायतका सामान चोरी गरेको भन्दै अहिले जसरी सामाजिक सञ्जालमा उनीहरूमाथि प्रहार भइरहेको छ, त्यो हेर्दा रमाइलोको लागि गरिएको देखिन्छ। उनीहरूलाई सचेत बनाउने वा गल्ती महसुस गराउने उद्देश्यभन्दा पनि उपहास गर्न गरिएको जस्तो देखिन्छ।
मनोविद् बिजुक्छे भन्छिन्, ‘गल्ती गरेको हो भने महसुस गराउन पाइयो। तर तरिका गलत भयो। यसले उनीहरूलाई जीवनभर असर पार्न सक्छ। कुनै एउटा गल्तीको लागि उसको जीन्दगी जोखिममा पार्नुहुँदैन। यो कुरा सामाजिक सञ्जालमा पोस्ट गर्ने व्यक्तिले बुझ्नुपर्छ। लाइक, कमेन्ट र सेयर गर्ने व्यक्तिले पनि सोच्नुपर्छ।’
मनोविद् विजया बिजुक्छेसँग नेपालखबरले गरेको विस्तृत कुराकानी भिडिओमा हेर्नुहोस् :

प्रतिक्रिया