समाज


नारायणगढ-मुग्लिन सडकको पहिरो हटाउन सुरु

सडकमा १२ देखि १४ हजार घनमिटर ढुंगामाटो थुप्रिएको अनुमान
नारायणगढ-मुग्लिन सडकको पहिरो हटाउन सुरु

नेपालखबर
असोज ८, २०८२ बुधबार ९:३८, काठमाडौँ

सडक डिभिजन कार्यालय भरतपुरले नारायणगढ-मुग्लिन सडकको पहिरो हटाउन सुरु गरेको छ। 

बुधबार बिहान ६ बजेदेखि नै दुवै तर्फबाट पहिरो हटाउन सुरु गरिएको कार्यालयले जनाएको छ। 

मुग्लिन-नारायणगढ सडक खण्डमा पर्ने तुइनखोलामा मंगलबार साँझ ठूलो पहिरो खस्दा सडक दुईतर्फी नै अवरुद्ध छ।  

सडक डिभिजन कार्यालयले पहिरो झरेको क्षेत्रको तस्बिरहरू संकलन गरेको छ। ती तस्बिर हेर्दा अब माथिबाट थप ठूलो पहिरो खस्ने सम्भावना कम रहेको पनि कार्यालयले जनाएको छ। 

तर, पहिरो खस्दा झर्न बाँकी रहेका ढुंगा अझै पनि पूर्णरूपमा तल नझरिसकेको कारण जोखिम भने कायमै छ। 

यस्तो अवस्थामा अपरेटरहरूले आफु र उपकरणलाई सुरक्षित राख्दै निरन्तर रुपमा पहिरो सफा गर्ने  काम गरिरहेका कार्यालयले जनाएको छ। 

मंगलबार तुइनखोलाको सडकमा थुप्रिएको पहिरोको परिमाण १२ देखि १४ हजार घनमिटर हुनसक्ने अनुमान गरिएको छ। 

‘उक्त पहिरो पन्छ्याउन समय लाग्ने हुँदा नारायणगढ मुग्लिन सडक भएर भोलि दिउँसो मात्रै सवारी संचालन गर्न सकिने अनुमान गरिएको छ,’ सडक डिभिजन कार्यालय भरतपुरले बुधबार बिहान ९:१५ बजे जारी गरेको सूचनामा भनिएको छ, ‘प्राकृतिक विपदको यस परिस्थितिमा सम्पूर्ण यात्रु महानुभावहरूले धैर्यता कायम गरिदिनु हुन अनुरोध गर्दै पहिरो सफा गर्ने कार्यको लागि कुरिनटार तथा भरतपुरबाट इन्धन लगायत अन्य आवश्यक उपकरणहरू बोकी सडक विभागका गाडी आवतजावत गर्ने हुँदा सोको सहजीकरणको लागि लेन अनुशासन अनिवार्य रुपमा कायम गरिदिनुहुन समेत अनुरोध गरिन्छ।’

कार्यालयले यात्रुहरूले तत्कालको लागि प्रयोग गर्न सक्ने वैकल्पिक सडक पनि सुझाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad