समाज


‘ट्राभल एड्भाइजरी’ खुकुलो बनाइदिन दूतावासहरूलाई पर्यटन बोर्डको आग्रह

‘ट्राभल एड्भाइजरी’ खुकुलो बनाइदिन दूतावासहरूलाई पर्यटन बोर्डको आग्रह

नेपालखबर
असोज ११, २०८२ शनिबार १९:३६, काठमाडौँ

नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणका लागि जारी गरिएका विभिन्न देशका यात्रा सल्लाह (ट्राभल एड्भाइजरी) खुकुलो बनाइदिन आग्रह गरेको छ। 

दसैँको अवसरमा काठमाडौँमा बिहीबार बेलुका आयोजित ‘मिट एन्ड ग्रिट विथ डिप्लोम्याटिक कोर्स’ कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले नेपाल हाल सामान्य अवस्थामा फर्किएको र पर्यटक भ्रमणका लागि पूर्ण सुरक्षित रहेको सन्देश दिए।

यसअघि गत भदौ २४ र २५ गते भएको ‘जेनजी’ आन्दोलनपछि दूतावासहरूले आफ्नो देशका यात्रुलाई नेपाल भ्रमणबारे सचेत रहन भन्दै ‘ट्राभल एड्भाइजरी’ जारी गरेका थिए। 

विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा १५ भन्दा बढी देशका राजदूत तथा प्रतिनिधि र नेपाल सरकारका उच्चपदस्थ प्रतिनिधिहरूको सहभागिता रहेको थियो। हालैको जेनजी आन्दोलनले सिर्जना गरेको अस्थिरताबाट पर्यटन उद्योगमा देखिएको संकट छिट्टै सामान्य अवस्थामा आइसकेको उल्लेख गर्दै सिइओ जोशीले भने, ‘राजनीतिक स्थायित्व, सुरक्षा, सहज यातायात, स्वास्थ्य सेवाको पहुँचजस्ता पक्षमा नेपाल पूर्ण रूपमा सामान्य भइसकेको छ। गत भदौ २४ र २५ गतेको अस्थिरतापछि स्थिति नियन्त्रणमा लिइएको र नयाँ सरकार गठन भइसकेको अवस्थामा राजनीतिक स्थायित्वमा कुनै समस्या नरहेको, सुरक्षा निकाय र पर्यटक प्रहरीहरू पुनः सामान्य सेवामा फर्किसकेका छन्। साथै, सडक, विमानस्थल र यातायात संरचना तत्काल सञ्चालनमा आएका छन्भने अस्पताल र स्वास्थ्य सेवा पनि सामान्य अवस्थामा फर्किएको छ।’

उनले नेपाल संसारकै अद्वितीय प्राकृतिक र सांस्कृतिक गन्तव्य भएकाले अन्तरराष्ट्रिय समुदायमा सकारात्मक प्रभाव पार्ने गरी भूमिका खेलिदिन सबैलाई आग्रह गरे।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले नेपाल हाल पूर्ण रूपमा भ्रमणयोग्य रहेको सन्देश आफ्ना देशमा पु¥याउन दूतावासका प्रतिनिधिहरूलाई आग्रह गरे। उनले भने, ‘नेपालको संस्कृति, सम्पदा र आतिथ्यका साथ हामी पर्यटक स्वागतको लागि तयार छौँ। तपाईंहरूले आफ्ना सरकार र पर्यटकहरूमा ‘नेपाल खुला र सुरक्षित छ’ भन्ने सन्देश पु¥याइदिनुहोस्।’

कार्यक्रममा संयुक्त राज्य अमेरिका, भारत, इजिप्ट, नर्वे, कतार, मलेसिया, पाकिस्तानलगायत १५ देशका राजदूत र प्रतिनिधिहरूको सहभागिता थियो। जसमा परराष्ट्र, पर्यटन, वन तथा वातावरण मन्त्रालय, अध्यागमन विभाग र पर्यटन उद्योगीहरूको समेत सहभागिता रहेको बोर्डले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad