समाज


भक्कानिएर रोए किशोरकिशोरी, हलुका भयो मनको बोझ

भक्कानिएर रोए किशोरकिशोरी, हलुका भयो मनको बोझ

तस्विर: युनिसेफ


नेपालखबर
जेठ २५, २०८३ सोमबार ९:५४, काठमाडौँ

कैलालीको टीकापुर नगरपालिकाले किशोरावस्थामा देखिने तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा दिन थालेको छ। 

पालिकाको स्वास्थ्य शाखाले मानसिक स्वास्थ्य सेवालाई प्राथमिकता दिएर विद्यालय तथा समुदायस्तरमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गरिरहेको जनाएको छ। हालसम्म २० वटा विद्यालय र १० वटा समुदायमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भइसकेको स्वास्थ्य शाखा प्रमुख  बलबहादुर रावलले जानकारी दिए। 

कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थी र टोल विकास संस्थामा आबद्ध स्थानीयलाई मानसिक स्वास्थ्यबारे सचेतना दिइएको उनले बताए। ुहामीले अभियानकै रूपमा सचेतना कार्यक्रम सञ्चालन गरेका छौँ । जेठ महिनामा अभियानका धेरै विद्यार्थी र नागरिकलाई मानसिक स्वास्थ्यबारे जानकारी दिएका छौँु, रावलले भने, ुविद्यालय तथा समुदायमा कार्यक्रम गर्दा मानसिक समस्या भएकाहरू खुलेर परामर्श तथा उपचारका लागि आउने वातावरण बनिरहेको छ।ु

मनमा गुम्सिएका कुरा व्यक्त गर्न नपाउँदा र विविध समस्याले तनाव बढ्दा मानिसलाई मानसिक स्वास्थ्य समस्या हुने भएकाले पालिकाले प्राथमिकता दिएर काम गरिरहेको शाखा प्रमुख रावलले बताए। “मानसिक समस्याका कारण आत्महत्याका घटना बढ्दै गएका छन्। कतिपयले विविध मानसिक समस्या भोगिरहेको विषष सार्वजनिक भइरहेकै छ। त्यसैले मनोसेवालाई प्राथमिकता दिनुपर्ने आवश्यकता महसुस गरेका हौँ। अभियानका क्रममा विद्यार्थीका भावनात्मक परिवर्तन बुझ्न, पढाइ, अभाव, पारिवारिक र सामाजिक वातावरणले हुने तनाव व्यवस्थापन गर्न सहयोग पुगेको छु, उनी भन्छन्, ुकार्यक्रममा कतिपय बालबालिकाले मनका कुरा खोल्नुभयो, केही बालबालिका भक्कानिएर रोएर मन हल्का बनाए। हामीले उनीहरुलाई आवश्यक परामर्शका लागि निरन्तर सम्पर्कमा ल्याएका छौँ।ु

बालबालिकाको शैक्षिक विकासका लागि पनि मानसिक स्वास्थ्यमा लगानी बढाउनुपर्ने विद्यार्थीको माग छ। ुहामीले धेरै कुरा अभिभावक तथा शिक्षकलाई भन्न सक्दैनौँु, बालिका सन्ध्या चौधरीले भनिन्, ुपढाइमा पनि अभिभावकको अपेक्षाअनुसार गर्न सकिएको हुँदैन । परिवार, साथीभाइ र समाजसँग राम्रो सम्बन्ध बनाउन सकिरहेका छैनौँ। धेरै तनाव छ। नगरपालिकाको कार्यक्रमबाट लाभान्वित भएका छौँ।ु

पालिकामा यसै वर्षबाट प्रदेश सरकार, सिएमसी नेपाल नामक संस्था र पालिकाको सहकार्यमा सङ्क्रमणकालीन न्यायका लागि मनोसेवा सुरु गरिएको छ। उक्त कार्यक्रमअन्तर्गत सशस्त्र द्वन्द्वका समयमा पीडित तथा प्रभावित परिवारको मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने भनिएको छ। 

मानसिक स्वास्थ्य सेवाका लागि टीकापुर नगरपालिकामा दुई जना परामर्शदाता छन्। मनोसामाजिक परामर्शकर्ता मीना कुँवरले सामी कार्यक्रममार्फत वैदेशिक रोजगारीमा गएका र उनीहरूका परिवारका सदस्यलाई परामर्श दिने गरेकी छिन्। सहरी स्वास्थ्य केन्द्र विजयनगरमा कार्यरत स्वास्थ्यकर्मी उषा भुसालले पनि मनोपरामर्श दिने गरेकी छिन्  भने टीकापुर अस्पतालमा सातामा तीन दिन चिकित्सकको सेवा उपलब्ध छ। टीकापुरका दुई स्वास्थ्य संस्था विजयनगर र नारायणपुरबाट मानसिक समस्या भएकालाई १२ किसिमको औषधि निःशुल्क रूपमा वितरण गर्ने व्यवस्था मिलाइएको छ। 

मनोसामाजिक परामर्शकता मीना कुँवर समुदायमा मानसिक समस्याका थुप्रै समस्या रहेकाले उपचार तथा परामर्शमा आउन पनि कार्यक्रम आवश्यक रहेको बताउँछिन्। वैदेशिक रोजगारी, आर्थिक समस्या, अभाव, एक्लोपन, आपसी बेमेलजस्ता कारणले थरिथरिका समस्या देखिएकाले कतिपयलाई परामर्श सेवा, उपचारलगायतको खाँचो रहेको उनको भनाइ छ।

कुँवरले भनिन्, ुमानसिक स्वास्थ्य सबैका लागि महत्त्वपूर्ण छ। मानसिक स्वास्थ्य ठीक नभएमा मानिसले छोटो समयमा गलत निर्णय लिनसक्ने र  जसले ठूलो क्षति हुनसक्ने भएकाले मानसिक स्वास्थ्यलाई नागरिकले पनि प्राथमिकता दिनुपर्छ।ु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad