समाज


चाडपर्वका अवसरमा सावधानी अपनाउन एआईजी कार्कीको आग्रह

चाडपर्वका अवसरमा सावधानी अपनाउन एआईजी कार्कीको आग्रह

नेपालखबर
असोज १२, २०८२ आइतबार १७:५३, काठमाडौँ

काठमाडौँ उपत्यका प्रहरी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले चाडपर्वको अवसरमा सावधानी अपनाउन आग्रह गरेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ उपत्यका प्रहरी कार्यालयको संयुक्त आयोजनामा आज आयोजित ‘ट्राफिक वाक’ तथा सुरक्षा सचेतना कार्यक्रममा उनले चाडपर्वको उमङ्ग र उत्सवको नाममा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने परिपाटीका कारण धेरैले अकालमा ज्यान गुमाइरहेकोप्रति गहिरो चिन्ता व्यक्त गरे।

उनले भने, ‘चाडपर्व सुरु हुने बित्तिकै मादक पदार्थ सेवन गर्ने प्रवृत्ति सामान्यजस्तै बनेको छ। तर, मादक पदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटना भई अकाल मृत्यु हुने क्रम बढ्दो छ, जुन अत्यन्त चिन्ताजनक अवस्था हो। मनोरञ्जनको पर्याबाचीको रूपमा मादक पदार्थलाई लिनु कदापि उचित होइन।’

एआइजी कार्कीले सबै सवारी चालक, यात्रु र सर्वसाधारणलाई चाडपर्वको अवसरमा सावधानी अपनाउन, ट्राफिक नियमको पालना गर्न र सुरक्षामा खटिने ट्राफिक प्रहरीलाई सहयोग गर्न अपिल गरे। 

उनले भने, ‘सडकमा ट्राफिक प्रहरी तपाईँहरूलाई दुःख दिन होइन, सुरक्षा दिन खटिएका हुन्छन्। नागरिकको कर्तव्य नियम पालना गर्नु र नेपाल प्रहरी, ट्राफिक प्रहरीलाई सहयोग गर्नु हो।’

उनले आफूले गर्ने व्यवहार र सिकोबाट आगामी पुस्तामा सकारात्मक प्रभाव पर्न सक्ने भएकाले प्रत्येक नागरिकले ट्राफिक सुरक्षालाई आत्मसात् गर्नुपर्ने आवश्यकता औँल्याए।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीले चाडपर्वका बेला मादक पदार्थ तथा लागुऔषध सेवनका कारण हुने दुर्घटनाहरूका बारेमा चर्चा गर्दै यस्ता घटनाबाट नागरिकको ज्यान जोखिममा पर्ने बताए। 

उनले भने, ‘हामी नागरिकको ज्यान र सुरक्षाका लागि खटिएका हौँ। कृपया चाडपर्वमा मादक पदार्थ सेवन गरेर गाडी नचलाउनुहोस्, ताकि कसैको ज्यान जान नपरोस्, कसैको घरमा चाडपर्वको खुसी शोकमा नबदलियोस्।’

कार्यक्रममा प्रहरी नायब महानिरीक्षक ओमबहादुर राना र ट्राफिक सचेतना अभियन्ता डा ओममूर्ति अनिलले पनि चाडपर्वमा सुरक्षित र जिम्मेवार भई सवारी सञ्चालनको पक्षमा जोड दिए।
        
ट्राफिक प्रहरी, जनपद प्रहरी, महानगर प्रहरीको टोलीले ‘सडक सुरक्षा हाम्रो जिम्मेवारी’, ‘मदिरा सेवनपछि सवारी नगर्नुहोस्’, ‘ट्राफिक नियमको पालना गरौँ’ जस्ता जनचेतनामूलक सन्देश बोकेका प्लेकार्डसहित सडकमा ट्राफिक वाक गरेका थिए।

सचेतनात्मक ट्राफिक र्‍याली रानीपोखरी परिसरबाट सुरु भई विभिन्न भाग परिक्रमा गर्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय (रामशाहपथ) परिसरमा पुगेर समापन गरिएको थियो। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad