समाज


‘सत्तामा पुग्ने बित्तिकै राजनीतिक दलहरूको पहिलो निशानामा पत्रकार पर्छन्’

‘सत्तामा पुग्ने बित्तिकै राजनीतिक दलहरूको पहिलो निशानामा पत्रकार पर्छन्’

नेपालखबर
असार ८, २०८३ सोमबार १७:४३, काठमाडौँ

नेपालमा पत्रकारविरुद्धको आक्रमण बढ्दै गइरहेको विज्ञहरूले औँल्याएका छन्। 

सोमबार काठमाडौँमा जारी मानव अधिकार रक्षकहरूको राष्ट्रिय सम्मेलनमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँले, डिजिटल अधिकार नेपालका प्रमुख सन्तोष सिग्देल, पत्रकार आरती रायलगायतका वक्ताहरूले मानव अधिकार रक्षकको रुपमा रहेको पत्रकारहरूमाथिको आक्रमण बढेको गएको तथ्य खुलाएका हुन्।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँले सत्तामा पुग्ने बित्तिकै राजनीतिक दलहरूको पहिलो निशानामा पत्रकारहरू पर्ने गरेको अनुभूति नै सुनाए। उनले आफना कमजोरी पत्रकारहरूले जनतामाझ पुर्‍याउँछन् भन्ने भयले दलहरू सत्तामा पुग्ने बित्तिकै उनीहरूको निशाना पत्रकारितमाथि हुने गरेको तथ्य सार्वजनिक गरे।

माओवादी द्वन्द्वकालको शुरुमा उनीहरूले पत्रकारहरूलाई आफनो जीवनको रक्षाका लागि उपयोग गरेपनि पछि उनीहरूले आफू शक्तिमा पुगेपछि आफनो विभिन्न प्रकरणहरू बाहिर आउने डरले पत्रकारहरूमाथि आक्रमण  गरेको गाउँलेको भनाई थियो।

उनले भने,‘हामी पत्रकारहरूले सबैभन्दा ठूलो असजिलो कहिले कोसँग व्यहोर्छौं भने अघिल्लो दिनसम्म सँगै कुम जोडेर बसेको मान्छे जब भोलि ऊ सत्तामा पुग्छ, जब भोलि ऊ सत्तारुढ हुन्छ, सत्तारुढ भएपछि कहिल्यै उनीहरूसँग हाम्रो राम्रो सम्बन्ध हुँदैन। तपाईंलाई यसमा लामो उदाहरण बताउन सक्दछु। नेपाली कांग्रेसका नेताहरूसँग हामी कुम जोडेर बसेपनि पावरमा पुगेपछि उहाँहरूलाई असजिलो के लाग्दछ भने यी पत्रकारहरू धेरै किचकिच गर्दछन्।’

उनले थपे, ‘अब माओवादीको बारेमा मैले बताइरहन्न। किनभने द्वन्द्वको बारेमा मैले यहाँ धेरै सिनियर साथीहरू देखिराखेको छु। माओवादीहरूका तीन वटा रणनीतिहरू थिए। रणनीतिक रक्षा, रणनीतिक सन्तुलन र रणनीतिक प्रत्याक्रमण। यो तीन चरणबाट गुज्रिएर आएको थियो माओवादी। माओवादीहरूलाई रणनीतिक रक्षाका लागि मानव अधिकार डिफेन्डरहरू चाहिएको थियो। किनभने उनीहरू जहीँतहीँ मारिन थालेका थिए। जहीँतहीँ उनीहरूमाथि राज्यले दमन गरिराखेको थियो। सन्तुलनमा आएपछि अलि कम हुन थाल्यो त्यो। किनभने उनीहरू पनि पावरमा पुगे अब। जब माओवादी प्रत्याक्रमणको चरणमा आयो, अर्थात ढाडमा टेकेर टाउँकोमा हान्ने भन्ने जुन रणनीतिमा आयो, उसका ज्यादतिहरू पनि चरम रुपमा बढे।’

अधिवक्ता समेत रह]का डिजिटल अधिकार नेपालका प्रमुख सन्तोष सिग्देलले सूचना र प्रविधिको उच्चतम उपयोग गर्दै पत्रकारविरुद्धको आक्रमण बढ्दै गएको बताए। उनले आफू अनुकूल नभएपछि अर्थमन्त्री डा स्वार्णिम वाग्लेले समेत पत्रकारविरुद्ध साईबर क्राईममा जान्छु भनेर धम्की दिएको दृष्टान्त पेश गर्दै वर्तमान सरकारले पनि पत्रकारहरूमाथि दुःख दिनेगरी विभिन्न हर्कत गरिरहेको जिकिर गरे।

प्रविधिमार्फत समन्वयात्मक ढंगले मानव अधिकारको रक्षकको रुपमा रहेका पत्रकारहरूविरुद्धको आक्रमण बढिरहेको प्रमुख सिग्देलको भनाई थियो।

उनले भने,‘चित्त नबुझ्ने बित्तिकै नयाँ भनिएको दल, नयाँ भनिएका नेताहरूले गएको एक महिनामा हेर्नुभयो भने जगदीश खरेलजी प्रेस काउन्सिल नेपालमा जानुभयो, म साइबर क्राईममा उजुरी लिएर जाँदैछु भन्नु हुन्थ्यो। स्वर्णिम वाग्लेजी म साईबर क्राईममा उजुरी लिएर जाँदैछु भन्नु हुन्छ। अहिले पनि हिजोको तरिकाभन्दा आजको तरिका फरक छ। तर याक्टर एउटै छ। आज त समन्वयात्मक ढंगले पत्रकारमाथि आक्रमण हुन्छ। कहिले कुनै मिडियाले हामीलाई सर्पोट गरेन भनेर अनफलो अभियान चलाउने, कहिले पत्रकारलाई कुनै राजनीतिक दलको झोलेर भनेर त्यसको विरुद्धमा अभियान चलाउने। निजी सूचनाको सार्वजनिक रुपमा चर्चा गर्ने अनि अनलाईनमा धम्की दिने।’

पत्रकार आरती रायले यौन हिंसालगायतका अपराधिक घटनाको अनुसन्धानका लागि सम्बन्धित सरकारी निकायले सूचना माग्न जाँदा सास्ती दिएको खुलासा गरे।

यौन हिंसामा कुनै ठूलो व्यक्ति संलग्न रहेकोबारे सम्बन्धित निकायको धारणा माग्न जाँदा राष्ट्रिय महिला आयोग लगायतका निकायले सूचना नदिएर दुःख मात्रै दिने गरेको उनको भनाई थियो। पत्रकार रायले सरकारी निकायले कुनैपनि अपराधिक घटनाको विषयमा सूचना दिनु भन्दा त्यसलाई टार्नका लागि अनेक बहाना बनाउने गरेको पनि बताइन्।

पत्रकार रायले कुनैपनि सामाजिक अपराधिक घटनाको सूचना माग्ना जाँदा पत्रकारहरू आफैँले मानसिक सजाय भोग्नुपर्ने अवस्था आउने गरेको पनि बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad