समाज


प्रहरी महानिरीक्षक खापुङले गरे बडादसैँको मौलो पूजा

प्रहरी महानिरीक्षक खापुङले गरे बडादसैँको मौलो पूजा

नेपालखबर
असोज १५, २०८२ बुधबार १६:३५, काठमाडौँ

प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले बडादसैँका अवसरमा आज नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरेका छन्।  

नेपाल प्रहरीले परम्परागत रूपमा गर्दै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक खापुङले बलि पूजा गर्नुका साथै निसानमा पञ्जा छापसमेत लगाए।  

साथै प्रहरी महानिरीक्षक खापुङले मौलोपूजाका अवसरमा विशेषकार्य गर्ने प्रहरी नायब निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हबल्दार रामकुमार कार्कीलाई नगद पुरस्कार प्रदान गरे।  

सो अवसरमा प्रहरी महानिरीक्षक खापुङ, प्रहरी अतिरिक्त महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतलगायत प्रहरी अधिकृतहरूले मौलो परिक्रमा गर्नुभएको थियो। पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो। उक्त अवसरमा पुजारीबाट टीका तथा प्रसाद ग्रहणसमेत गरिएको थियो।

नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो। त्यसमा दुई वटा निशान रहेका हुन्छन्। मुख्य निशानमा सूर्य र चन्द्रको बीचमा राम धनुष चिन्ह अङ्कित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अङ्कित हुन्छ।

नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमनचयन कायम राख्ने जस्तो संवेदनशील एवं महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपीठ र इष्ट देवताको प्रतिकका रूपमा निशान झण्डालाई लिइन्छ। सङ्गठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्त होस् भनि निशान झण्डालाई पूजा गर्ने परम्परा रहिआएको छ।

नेपाल प्रहरीले विक्रम संवत् २०११ मा निशान झण्डा प्राप्त गरेपश्चात हरेक वर्ष बडादसैँ र चैते दसैँमा निरन्तररूपमा मौलो पूजा गर्दै आएको छ। साथै देशभरका विभिन्न प्रहरी कार्यालयमा रहेका मौलोमा मौलो पूजा गर्ने परम्परा रहीआएअनुरूप आजै सम्पूर्ण प्रहरी एकाइमा समेत विधिवत रूपमा मौलो पूजा सम्पन्न गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad