समाज


नागढुंगामा ट्राफिक प्रहरीको ‘माइकिङ’, उपत्यकाबाट बाहिरिने चालक र यात्रुलाई गरायो सचेत

उपत्यकामा सशस्त्र प्रहरी बलको ‘पट्रोलिङ’ र ‘माइकिङ’
नागढुंगामा ट्राफिक प्रहरीको ‘माइकिङ’, उपत्यकाबाट बाहिरिने चालक र यात्रुलाई गरायो सचेत

नेपालखबर
असोज १७, २०८२ शुक्रबार २१:३७, काठमाडौँ

ट्राफिक प्रहरीले राजधानीबाट बाहिरिने मुख्य नाका नागढुंगामा सवारी चालक र यात्रुलाई सचेत बनाउन माइकिङ गरेको छ। 

शुक्रबार साँझ उपत्यकाबाट बाहिरिने सवारी साधनहरूलाई रोकेर ट्राफिक प्रहरीले सम्भावित जोखिमबारे सचेत गराएको हो। 

त्यसक्रममा प्रहरीले ओभरटेक नगर्न, लामो दुरीको यात्रामा दुईजना चालक राख्न, लस्करै नाराणगढसम्म पुग्न र केही आपद आइपरे तत्कालै प्रहरीलाई सम्पर्क गर्न पनि आग्रह गरेको छ।

ट्राफिक प्रहरीले सबै सवारी साधनको चालकहरूको सम्पर्क नम्बरसमेत लिएको छ।

जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेदेखि २० गतेसम्म देशका अधिकांश स्थानमा भारी वर्षा र कतिपय स्थानमा अतिभारी वर्षा हुन सक्ने प्रक्षेपण गरेसँगै राति यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ। 

यो अवस्थामा काठमाडौंबाट बाहिरिन लागेका सवारी चालकलाई ट्राफिक प्रहरीले मौसमको अवस्था र बाटोको सम्भावित जोखिमबारे सचेत गराएको हो।

काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरी बलको ‘पट्रोलिङ’ र ‘माइकिङ’ 
सशस्त्र प्रहरी बल नेपालले शुक्रबार साँझ देखिनै काठमाडौँका जोखिमयुक्त स्थानमा ‘पट्रोलिङ’ र ‘माइकिङ’ गरेको छ। 

सम्भावित मनसुनजन्य विपदलाई मध्यनजर गर्दै  चोभार, बल्खु, बालाजु, माछापोखरी र बनस्थलीलगायत स्थानमा ‘पट्रोलिङ’ र ‘माइकिङ’ गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। सशस्त्र प्रहरी बलले खोला किनार तथा डुबान हुन सक्ने सम्भावित ठाउँको पहिचान गरी त्यस इलाकाका बासिन्दालाई सुरक्षित रहन र तत्काल उद्धार आवश्यक परेमा १११४ मा तत्काल फोन गर्न समेत आग्रह गरेको हो। 

यसैबीच, सशस्त्र प्रहरीले सम्भावित जोखिम न्यूनीकरण र विपद् प्रतिकार्यका लागि देशभरका युनिटलाई आवश्यक श्रोत साधनसहित तयारी अवस्थामा राखेको छ। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सबै युनिटलाई विपद् पूर्वतयारी र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिनुभएको सहप्रवक्ता थापाले जानकारी दिए। 

विपद्को अवस्थालाई मध्यजनर राख्दै सशस्त्र प्रहरीका गोताखोर, विपद् उद्धार तालिम प्राप्त जनशक्ति, र्याफ्ट बोट, मोटरबोट, हेभी इक्युपमेन्ट, एम्बुलेन्सलगायत उपकरण तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ। 

विपद् पूर्वतयारी र प्रतिकार्यबारे गृहमन्त्रीको चासो
यसैबीच, आजै गृहमन्त्री ओमप्रकाश अर्यालले सशस्त्र प्रहरी बलको उपत्यकास्थित इकाईको विपद् प्रतिकार्य पूर्वतयारी एवं परिचालनसम्बन्धी जानकारी लिएका थिए। सो अवसरमा कार्य विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल तथा उपत्यका स्थित युनिटका कमाण्डरहरुले विपद पूर्वतयारीबारे गृहमन्त्रीलाई जानकारी गराएको सहप्रवक्ता थापाले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad