भारतको चण्डीगढ सेक्टर–२८ मा बसोबास गर्दै आएका २६ वर्षीय सुरज चालिसेलाई गाउँमा दसैँ मनाएको धुमिल सम्झना मात्र छ।
गुल्मीको मालिका गाउँपालिका–६ अर्जेका चालिसे ९ वर्षको उमेरमा सन् २००८ मा बुबाआमासँगै भारत पसे।
मजदुरी गर्न भारत भासिएका बुबा खिमराज र आमा जुनासँगै बालकैमा विदेश पसेका सुरजलाई अहिले पनि बाल्यकालको दसैँ–तिहारको सम्झना आउँछ।
‘हजुरआमाले टीका र जमरा लगाइदिनुहुन्थ्यो। हामी टीका लगाउन मामाघर पनि जान्थ्यौँ,’ सुरज भन्छन्, ‘पिङ खेलेर रमाइलो गरेको याद आउँछ।’
परिवारको गर्जो टार्न परिवारै लिएर मुग्लान भासिएका खिमराजले भारतका धेरै ठाउँमा दुःखजिलो गरे। ज्याला मदजुरी गर्दा पाएको दुःख र पीडाका अनेकअनेक कहानी खिमराजसँग छन्। उनले दुई छोरा जेठा सुरज (२६) र कान्छा दीपक (२२) लाई भारतमै हुर्काए, पढाए।
अहिले चण्डिगढ सेक्टर–२८ मा व्यापार व्यवसाय गरिरहेका खिमराजलाई श्रीमती जुनासहित दुबै छोराहरूले सघाउँछन्।
भारत पसेपछि अपवादबाहेक खिमराज दसैँ–तिहार मान्न नेपाल आउन पाएका छैनन्। त्यसले गर्दा बच्चाहरूले पनि नेपाली संस्कृतिलाई नजिकबाट महसुस गर्न पाएनन्। बरु भारतमै परिवारभित्र टीकाटाला गरेर दसैँ मनाउने, नेपालीहरू जम्मा भएर रमाइलो गर्ने, तिहारमा देउसीभैलो खेल्ने र अन्य चाडपर्व पनि नेपालीहरू मिलेरै मनाउने गरिरहेका छन्।
खिमराज भन्छन्, ‘नेपालमै नभए पनि हामीले बच्चाहरूलाई आफ्नो संस्कृति, रीतिरिवाज भुल्न दिएका छैनौँ। गाउँमा जस्तै यता पनि हामी नेपालीहरू जम्मा भएर चाडपर्व मनाउँछौँ। बच्चाहरूले पनि आफ्नो भाषा संस्कृति भुलेका छैनन्।’
खिमराजले भनेजस्तै भारतमा हुर्किरहेका नेपाली बालबालिकाहरूले आफ्नो भाषा–संस्कृति हतपत बिर्संदैनन्। किनभने भारतमा अत्यधिक संख्यामा नेपाली छन्, उनीहरू यस्ता चाडपर्व गाउँघरमै जस्तो रमाइलो गरी मनाउँछन्। भारतीयसँग हाम्रा कतिपय संस्कृतिहरू मिल्छन्। र, भारतबाट नेपालमा आउजाउ चलिरहन्छ।

तर, तेस्रो मुलुकका नेपालीको लागि नयाँ पुस्तालाई भाषा संस्कृति सिकाउन फलामको च्युरा चपाए सरह हुन्छ।
अस्ट्रेलियाको पर्थमा जन्मेर हुर्कंदै गरेका ११ वर्षीय सुविन घिमिरेलाई नेपाली भाषा बोल्न असाध्यै अप्ठेरो लाग्छ। घरपरिवारभित्र केही शब्द नेपाली बोले पनि उनी अंग्रेजी भाषामै कुरा गर्छन्। त्यहीँका साथीसंगी, स्कुल र वातावरणले उनलाई नेपालीभन्दा अंग्रेजी नै बोल्न प्रेरित गरेको छ।
सुविन जस्तै, पर्थमै जन्मे हुर्केका रुविना ढकाल (१३), एलिस पन्त (११) र विशाखा घिमिरे (९ वर्ष) का लागि पनि नेपाली भाषा सकभर बोल्न नपरे हुन्थ्यो जस्तो लाग्छ।
आफ्ना विदेशी दौँतरीसँगै रमाइरहेका उनीहरू घरमा पनि अंग्रेजी भाषामै बोल्न रुचाउँछन्। नेपाली बोल्न परे पनि उनीहरूको लवज र कैयौँ शब्द अंग्रेजी मिश्रित हुन्छ।
यी नेपाली बालबालिकाको लागि दसैँ रमाइलो चाड त हो। परिवारसँगै भएका कारण उनीहरूले पनि दसैँ मनाउँछन्। मान्यजनको हातबाट टीका जमरा लगाउँछन्, अनि एकै ठाउँमा भेला भएका नेपाली समुदायले गाउँघरमा भोगेका अनुभव साटासाट गरेको पनि सुन्छन्।
तर, भावनात्मक रुपमा नेपाली भाषा र संस्कृतिप्रति उनीहरूको लगाव हुन सकेको छैन।
दसैँबारे के थाहा छ त? सुविनले नेपालीमै छोटो उत्तर दिए, ‘टीका जमरा लगाउने। अनि पैसा पाउने।’
सुविनकी बहिनी विशाखालाई पनि दसैँतिहार रमाइलो लाग्छ।
‘दसैँमा धेरै जना भेला हुन्छौँ अनि टीका लगाउँछौँ,’ विशाखा भन्छिन्, ‘हामीलाई पैसा पनि दिनुहुन्छ।’
कञ्चनपुरका विनित घिमिरे भैरहवाकी सुमिना दाहालसँग विवाह बन्धनमा बाँधिएर करिब डेढ दशक अघि अस्ट्रेलिया गए। त्यहीँ जन्मे सुविन र विशाखा। उतै घरजम गरेका विनित र सुमिनाले आफ्ना बच्चालाई नेपाली भाषा, संस्कृति सिकाउन सक्दो प्रयास गरिरहेका छन्। तर। परिणाम सोचेजस्तो छैन।
सकेसम्म अंग्रेजी भाषामै जवाफ फर्काउन खोज्ने उनीहरू नेपाली संस्कृति बुझ्न पनि गुगलबाट अंग्रेजीमै सर्च गर्छन्। आफूले दसैँबारे गुगल सर्च गरेर पोहोर साल स्कुल (नेपाली पाठशाला) मा सबैलाई सुनाएको सुविनले बताए। विशाखाले आफूलाई नेपाली भाषा मनपर्ने भन्दै माधव घिमिरेको कविता सुनाइन्।
११ वर्षीया एलिस पन्तलाई पनि दसैँ सुविन र विशाखालाई जस्तै रमाइलो लाग्छ। उनी पनि उसैगरी भन्छिन्, ‘दसैँमा रमाइलो हुन्छ, सबैजना ‘ग्यादरिङ’ गरेर टीका जमरा लगाइदिनुहुन्छ।’

सात समुद्रपारि हुर्किरहेका यी बालबालिका सम्भवतः अब उतैका नागरिक बन्नेछन्। उनीहरूका बुबाआमाले पहाडको उकालीओराली गरे, घाँसको भारी बोके। तराईका हिलाम्मे सडकमा साइकल कुदाए। दसैँ, तिहार, तीजसहित विभिन्न चाडपर्व देखे। तिनै पर्वमा नाच्दै हुर्किए।
तर, विदेशमा हुर्किरहेका यी बालकालिकाको लागि यी सबै ‘स्टोरी’ हुन्। जसलाई उनीहरूले सुन्न र पढ्न पाए, महसुस गर्न पाएनन्।
विनित भन्छन्, ‘विदेशमा जति नै नेपाली जम्मा भएपनि, जति चाडपर्व मनाए पनि नेपालमा जस्तो आफ्नोपन हुँदैन। त्यता (नेपाल) को जस्तो माहोल नै हुँदैन। हामी त दसैँ कहिले आउँछ, तिहार कहिले आउँछ भनेर गनेरै बस्थ्यौँ। स्कुलमा, गाउँमा, घरमा जताजतै त्यही माहोल हुन्थ्यो र पो हामी नेपाली संस्कृतिसँग जोडियौँ। तर, यता हुर्केका बच्चालाई त्यो महसुस हुन सक्दैन।’
विनितको जस्तै अनुभव छ, गोरखाका सीताराम पन्तको पनि।
छोरी एलिसलाई नेपालीमा बोल्न अभ्यस्त गराइरहेका उनी भन्छन्, ‘यिनीहरूलाई नेपाली भाषा बोल्न सहज छैन। स्कुलमा यहीँकै क्रिसमस जस्ता पर्वबारे सिकाइन्छ। यस्तो माहोलमा हुर्केका केटाकेटीलाई नेपाली संस्कृतिसँग जोडिराख्न जटिल छ।’
पछिल्ला दशकमा नेपालबाट अस्ट्रेलिया अध्ययन र अन्य कामका लागि जाने नेपालीको संख्या ह्वात्तै बढेको छ। झण्डै दुई लाख नेपालीले त्यहीँको स्थायी बसोबासको अनुमति प्राप्त गरेका छन्।
यतिधेरै नेपाली भएको देशमा नेपालीका विभिन्न संघसंस्थाहरू छन्। ती संघसंस्थाले नेपाली संस्कृति, चाडपर्व सामूहिक रुपमा मनाउने गर्दछन्। कतिपय ठाउँमा नेपाली पाठशाला पनि छन्, जसले बालबालिकालाई नेपालीपन सिक्न प्रेरित गर्छ।
तर, विदेशी भूमिमा जति नै प्रयास गरे पनि देशभित्रको जस्तो नहुने अनुभव नेपाली अभिभावकहरूको छ।
अस्ट्रेलियामा जस्तै अमेरिकामा पनि स्थायी आवास अनुमति लिएर बस्ने नेपालीको संख्या बढ्दो छ। अमेरिकामा पनि परिवारसहित बसिरहेका नेपालीको अनुभव अस्ट्रेलियाभन्दा भिन्न छैन।

झण्डै दुई दशकअघिदेखि न्युजर्सीमा कार्यरत कञ्चनपुरकी किशोरी चौधरी विदेशमा जति प्रयास गरे पनि नेपालमा जस्तो नयाँ पुस्तालाई संस्कृतिप्रति अभ्यस्त गराउन नसकिने बताउँछिन्।
उनी आफैँ पनि ‘न्युजर्सी थारु कम्युनिटी’ नामक संस्थाको माध्यमबाट नेपाली पर्वहरू सामूहिक रुपमा मनाउन त्यहाँका नेपालीलाई उत्प्रेरित गर्छिन्। तर, ती कार्यक्रम औपचारिकतामा सीमित हुने उनको बुझाइ छ।
‘अमेरिकामा एनआरएनएसहित दर्जनौँ संघ संस्था छन्। हामी पनि न्युजर्सी थारु कम्युनिटीमार्फत दसैँ, तिहार, माघीजस्ता पर्व मनाउँछौँ। तर, यी सबै औपचारिकता जस्तो, फेसन सो जस्तो, फोटो सेसन जस्तो लाग्छ। गाउँमा जस्तो आत्मियता कहाँ हुन्छ र!’ किशोरी प्रश्न गर्छिन्, ‘अनि नयाँ पुस्तालाई नेपाली संस्कृतिप्रति कसरी अपनत्व हुन्छ?’
बसाइँसराइको अन्तर्राष्ट्रिय प्रभावले नेपालीहरू विश्वका अधिकांश देशमा पुगेका छन्। कैयौँ देशमा केही पुस्तादेखि नै स्थायी रुपमा नेपाली (मूलका) नागरिकहरूको बसोबास छ। खाडी मुलुकलगायत कयौँ देशमा नेपाली प्रवासी कामदारका रुपमा कार्यरत छन्।
स्थायी अनुमतिप्राप्त देशमा सपरिवार वा सामाजिक रुपमा नेपालीले दसैँ तिहार मनाउने गरे पनि खाडी मुलुकमा भने त्यस्तो सम्भव नहुने साउदी अरबको ताबुकस्थित ताबुक रेस्टुरेन्टमा कार्यरत खुमिराम भण्डारी बताउँछन्।
आठ वर्षदेखि साउदीमा कार्यरत खुमिराम भन्छन्, ‘यहाँको धर्म, संस्कृति, नियम, कानुन र हाम्रो व्यस्तताका कारण हामीले दसैँतिहार मनाउन पाउँदैनौँ। सामान्य तलबमा काम गर्ने नेपाली मजदुरहरूलाई कामकै चटारो हुन्छ। भेला हुने, रमाइलो गर्ने भन्ने कुरा यता अपवादमा होला, नत्र सम्भव छैन।’

तर, हङकङका नेपालीको भने अलिक भिन्न अनुभव छ।
सन् २००८ देखि हङकङलाई कार्यक्षेत्र बनाएका बागलुङका शक्तमान बुढाथोकी आफूहरू सहजै रुपमा चाडपर्व मनाउने गरेको बताउँछन्।
४० हजार भन्दा धेरै नेपालीको बसोबास रहेको हङकङमा दर्जनौँ नेपाली संघसंस्था छन्। तिनले नेपालका भूगोल, जाति र भाषाअनुसारकै विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्छन्। पूर्वब्रिटिस गोर्खा सैनिकका परिवारसमेत अत्यधिक संख्यामा बसोबास गर्ने हङकङमा पारिवारिक रुपमै पनि दसैँ, तिहार जस्ता चाडपर्व मनाउने गरिएको बुढाथोकी बताउँछन्। यसले नयाँ पुस्तालाई पनि नेपाली संस्कृतिप्रति अपनत्व जगाउने उनको विश्वास छ।
‘हाम्रा छोराछोरी हामीसँगै नेपाल आउजाउ गरिरहन्छन्। हङकङमा ठूलो संख्यामा नेपाली समुदाय भएकाले पनि सामूहिक कार्यक्रममा सहभागिता जनाउँछन्,’ उनी भन्छन्, ‘हाम्रा सबै पर्व मनाउँछौँ। यसले गर्दा नयाँ पुस्ताले पनि हाम्रो संस्कृतिलाई बुझ्न पाएका छन्।’
हङकङमा लामो समयदेखि बसोबास गरिरहेका नेपाली त्यहाँको संस्कृतिसँग पनि घुलमिल हुँदै गएको बुढाथोकी बताउँछन्।

उनका अनुसार चिनियाँ नयाँ वर्षका अवसरमा हुने कार्यक्रमहरूमा नेपालीसमेत सहभागी हुन्छन्। जहाँ, नेपालमा दसैँ मनाए जस्तै लामो छुट्टीमा हङकङेलीहरू घुम्न निस्किने, एकै ठाउँमा भेला भएर रमाइलो गर्ने, खाममा राखेर दक्षिणा दिने जस्ता परम्परा छन्।
आफ्नो मातृभूमि छोडेर टाढा पुगेका नेपालीका विदेशमै हुर्किरहेका सन्तानले आफ्नो संस्कृतिसँगै आफू बसेको देश र भूगोलको संस्कृति सिक्दै जानु स्वाभाविक भएको बुढाथोकी बताउँछन्।
‘जहाँ जुन भूगोलमा हामी बस्छौँ, त्यहाँको छाप पर्नु स्वाभाविकै हो। तैपनि नयाँ पुस्ताले नेपाली संस्कृति बिर्संदैन,’ उनको विश्वास छ।
Shares

प्रतिक्रिया