समाज


नेपालबाट बाहिरियो वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली

नेपालबाट बाहिरियो वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली

नेपालखबर
असोज १९, २०८२ आइतबार १४:३६, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागले वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली नेपालबाट बाहिरिएको बताएको छ।

विभागका प्रवक्ता विभूति पोखरेलले आइतबार दिउँसो २ बजे सूचना जारी गरी मनसुन कमजोर भई मौसममा सुधार आइसकेको जानकारी दिएकी हुन्।

तर मनसुन नेपालबाट बाहिरिनसकेकाले अझै पनि वर्षा हुने सम्भावना रहन्छ। तथापि बितेका २ दिनजस्तो लगातार र भीषण वर्षा अब नहुने आकलन विभागले गरेको हो।

विज्ञप्तिमा भनिएको छ, ‘वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बहिरिएर मनसुन कमजोर भई मौसममा सुधार आइसकेको भए तापनि मनसुन बहिर्गमन भइनसकेको हालको अवस्थामा यस विभागले मौसम र बाढीको सम्भावित अवस्थाको नियमित अनुगमन गरिरहेको छ। तसर्थ यस विभागबाट वेबसाइट, सामाजिक सञ्जाल, टोल फ्रि सेवा (११५५) तथा एसएमएसलगायतका माध्यमबाट सम्प्रेषण गरिने अद्यावधिक पूर्वसूचना प्राप्त गरी आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।’

मौसम विभागका अनुसार यसअघि बंगालको खाडीमा विकास भएको न्यूनचापीय प्रणालीका कारण यही असोज १७ गते साँझदेखि १९ गते बिहानसम्म मनसुन सक्रिय भएको थियो। यस अवधिमा मधेस र बागमती प्रदेशका अधिकांश स्थानमा भारीदेखि अतिभारी वर्षा तथा कोसी प्रदेशका अधिकांश स्थानमा मध्यमदेखि अतिभारीसम्म वर्षा भएको छ।

मनसुन नेपाल भित्रिने सरदर मिति जुन १३ तारिख भए पनि यो वर्ष १५ दिनअगावै प्रवेश गरेको थियो भने बाहिरिन पनि केही ढिला भइरहेको हो। नेपालबाट मनसुन बाहिरिने सरदर मिति यही अक्टोबर २ तारिख थियो। तर यसमा हरेक वर्ष तलमाथि हुने गरेको छ। 

हेर्नुहोस् पूरा विज्ञप्ति-

जल तथा मौसम विज्ञान विभाग
प्रेस विज्ञप्ति
बंगालको खाडीबाट विकसित भएको न्यून चापीय प्रणालीको कारणले २०८२ असोज १७ गते साँझबाट १९ गते बिहानसम्म मनसुन सक्रिय भई मधेस र बागमती प्रदेशका अधिकांश वर्षामापन केन्द्रहरूमा भारीदेखि अतिभारी वर्षा तथा कोसी प्रदेशका अधिकांश वर्षामापन केन्द्रहरूमा मध्यमदेखि अतिभारी वर्षा मापन भएको छ। उल्लेखित अवधिभरको २४ घण्टे (२०८२/०६/१८ गते बिहान ०४:३० बजेदेखि २०८२/०६/१९ गते बिहान ०४:३० बजे) अधिकतम वर्षा महेशपुर, रौतहटमा ३५८ मिलिमिटर मापन भएको छ।

असोज १९ गते बिहान ०८:४५ बजे २९५ वटा वर्षा मापन केन्द्रहरू (मानव सञ्चालितः ७९ र स्वचालितः २१६) मा मापन गरिएको गत २४ घण्टाको वर्षाको विवरणअनुसार १८६ वटा केन्द्रहरूमा वर्षा भएको छ। जसमध्ये १०५ वटा केन्द्रहरूमा ५० मिलिमिटरभन्दा बढी, ६८ वटा केन्द्रहरूमा १०० मिमीभन्दा बढी, २१ वटा केन्द्रहरूमा २०० मिमीभन्दा बढी र ५ वटा केन्द्रहरूमा ३०० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ। ३०० मिलिमिटरभन्दा बढी वर्षा मापन भएका केन्द्रहरूमा इलाम जिल्लाको हिमाली गाउँ केन्द्र (३३२.६ मिलिमिटर) र कन्याम टी-स्टेट केन्द्र ( ३१४.२ मिलिमिटर), पर्सा जिल्लाको मुडली केन्द्र (३२८.६ मिलिमिटर), रौतहट जिल्लाको महेशपुर केन्द्र (३२८.० मिलिमिटर) र गौर केन्द्र ( ३१५.० मिलिमिटर) रहेका छन्।

अविरल वर्षाका कारण मिति २०८२ असोज १८ अपराह्नबाट उल्लेखित प्रदेशअन्तर्गतका बागमती, त्रिशूली, पूर्वी राप्ती, लालबकैया, कमला लगायतका नदीहरूमा जलसतहले सतर्कता तह पार गरेको र हाल घट्दो क्रममा रहेको अवस्था छ। आज मिति २०८२ असोज १९ गते सप्तकोसी नदीले खतरा तह पार गरेको छ र यसका सहायक नदीहरू मुख्यतया तमोर, सुनकोसी र अरुण नदीहरूमा समेत खतरा तह पार भई हाल घट्दो क्रममा रहेको छ। त्यसैगरी कन्काई, बुढीखोला, लोहन्द्रा, खेशलैया, विरिङलगायतका चुरे महाभारत उद्‌गम भई बहने नदीहरूमा समेत खतरा तह पार भई हाल घट्दो क्रममा रहेको छ। कोसी नदी चतरा केन्द्रमा बहाब खतरा तहको नजिक रही हाल स्थिर अवस्थामा रहेको हुँदा उल्लेखित नदी तटीयक्षेत्र तथा डुबान भइरहने क्षेत्रमा असोज २० गते मध्याह्नसम्म सतर्कता अपनाइराख्न सरोकारवाला सम्पूर्णमा अनुरोध छ।

वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बहिरिएर मनसुन कमजोर भई मौसममा सुधार आइसकेको भए तापनि मनसुन बहिर्गमन भइनसकेको हालको अवस्थामा यस विभागले मौसम र बाढीको सम्भावित अवस्थाको नियमित अनुगमन गरिरहेको छ। तसर्थ यस विभागबाट वेबसाइट, सामाजिक सञ्जाल, टोल फ्रि सेवा (११५५) तथा एसएमएसलगायतका माध्यमबाट सम्प्रेषण गरिने अद्यावधिक पूर्वसूचना प्राप्त गरी आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।
मितिः २०८२/०६/१९, १४:०० बजे
प्रवक्ता, विभूति पोखरेल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad