सडकपेटीमा आश्रित दृष्टिविहीनमाथि बलपूर्वक हटाउने र जबर्जस्ती धरपक्कड गरेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका छन्।
दृष्टिविहीनहरूले सोमबार काठमाडौँको माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन्। सरकारले सडकपेटीमा समेत गरिखान नदिएको भन्दै प्रदर्शनमा उत्रिएका दृष्टिविहीनले आन्दोलन सुरु गरेको जनाएका छन्। सरकारले, सडकपेटी, मठमन्दिर, चोकलगायतका क्षेत्रमा बसेर गरिखान समेत नदिने, उल्टै नगर प्रहरीले आएर धरपक्कड गर्ने, जबर्जस्ती हटाउने गरेपछि आन्दोलनमा उत्रिन बाध्य भएको सडकपेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिविहीन व्यवसायीहरूको समूहका संयोजक सुदीप ओलीले बताए।
‘आज बालेन सरकारले हामीलाई बाँच्न दिएन। किनभने गाँस, बास, कपासको ग्यारेन्टी गरिदिएन,’ उनले भने, ‘हामीले धुपहरू बेच्थ्यौँ। कतिले वेट मेशिनहरू राख्थ्यौँ सडक, चोक, मठमन्दिर पेटीमा। कतिले गीत गाएर सहयोग उठाएर खाने काम गरिराखेका थियौँ। तर बालेन सरकारले त्यो हामीलाई दिएन।’
सरकारले आफूहरूलाई विकल्पविना सडकमा समेत गरिखान नदिएको उनको गुनासो छ। ‘नगर प्रहरी आएर दमन गर्ने, होल्डिङ सेन्टरमा लगेर दिनभर थुन्ने, साँझ परेपछि छोडिदिने।हातपात पनि गरेका छन नगर प्रहरीले। त्यसैको विरोधमा प्रदर्शन गर्नुपरेको हो,’ उनले भने।
उनीहरूले बाँच्नका लागि मासिक २० हजारका दरले भत्ताको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। ‘अब राज्यले हामीलाई कित गरिखान दिनुपर्यो कि बेरोजगार भत्ता महिनाको २० हजार दिनुपर्यो। कि त योग्यता र क्षमताको हिसाबमा काम दिनु पर्यो,’ उनले भने, ‘हाम्रो गाँस, बासको लागि यो आन्दोलन हो।’
सरकारले बाँच्नका लागि बैकल्पिक व्यवस्था नगरेसम्म दैनिक बिहान ९ बजे १२ बजेसम्म प्रदर्शन गरिरहने उनीहरूले जनाएका छन्।
Shares

प्रतिक्रिया