समाज


नेपाल आउन छाड्यो जलवाष्पयुक्त हावा, छैन भारी वर्षाको सम्भावना

नेपाल आउन छाड्यो जलवाष्पयुक्त हावा, छैन भारी वर्षाको सम्भावना

नेपालखबर
असोज २०, २०८२ सोमबार ६:१२, काठमाडौँ

भीषण वर्षा गराउने बंगालको खाडीको जलवाष्पयुक्त हावा नेपालमा आउन छाडेको छ। आज (सोमबार) बिहान जल तथा मौसम विज्ञानको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम बुलेटिनमा अहिले देशमा मनसुनी वायुको प्रभाव मात्र रहेको उल्लेख गरिएको छ।

बंगालको खाडीबाट जलवाष्पयुक्त वायु आउन बन्द भएसँगै आज भारी वर्षाको सम्भावना देखिएको छैन।

मौसम महाशाखाका अनुसार,

आज दिउँसो : कोसी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। कोसी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाड र तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति : कोसी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड र तराईका भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ।

यसअघि बंगालको खाडीमा विकास भएको न्यूनचापीय प्रणालीका कारण यही असोज १७ गते साँझदेखि १९ गते बिहानसम्म मनसुन सक्रिय भएको थियो। यस अवधिमा मधेस र बागमती प्रदेशका अधिकांश स्थानमा भारीदेखि अतिभारी वर्षा तथा कोसी प्रदेशका अधिकांश स्थानमा मध्यमदेखि अतिभारीसम्म वर्षा भएको थियो।

तर मनसुन नेपालबाट बाहिरिनसकेकाले अझै पनि वर्षा हुने सम्भावना भने रहन्छ। 

मनसुन नेपाल भित्रिने सरदर मिति जुन १३ तारिख भए पनि यो वर्ष १५ दिनअगावै प्रवेश गरेको थियो भने बाहिरिन पनि केही ढिला भइरहेको हो। नेपालबाट मनसुन बाहिरिने सरदर मिति यही अक्टोबर २ तारिख थियो। तर यसमा हरेक वर्ष तलमाथि हुने गरेको छ।

मौसम महाशाखाले माथि बुलेटिनमा 'दिउँसो' शब्द दिनभर अर्थात् साँझ ६ बजे अघिसम्मको समय र 'राति' शब्द रातभर अर्थात् साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयका लागि प्रयोग गरेको हो।

मौसमविद्का अनुसार, २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम वर्षा भनिन्छ।

अनि ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ।  

यस्तै एक-दुई स्थानमा वर्षा भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना देखिनु हो। 

यदि १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा पानी पर्न सक्छ भनिन्छ।

त्यसैगरी ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा पानी पर्न सक्छ भनिन्छ।

त्यस्तै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने धेरै ठाउँमा वर्षा हुन सक्छ भनिन्छ।

यदि ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने अधिकांश स्थानमा वर्षा हुन सक्छ भनिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad