यस वर्ष औसत मिति जुन १३ तारिखभन्दा १५ दिनअगाडि मे २९ तारिखमै नेपाल प्रवेश गरेको मनसुन (वर्षायाम ल्याउने मौसम प्रणाली) बाहिरिने सरदर मिति यही अक्टोबर २ तारिख भए पनि अझै कायम छ।
त्यसो त नेपालबाट मनसुन बाहिरिने यो औसत मिति मात्र हो। ठ्याक्कै यही मितिमा मनसुन बाहिरिन्छ भन्ने होइन। गत वर्ष पनि नेपालबाट मनसुन अक्टोबर १२ तारिखमा बाहिरिएको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धर बताउँछिन्।
‘नेपालबाट मनसुन प्रायः अक्टोबर दोस्रो हप्ता बाहिरिएको रेकर्ड छ’, उनले सोमबार बिहान नेपालखबरसँग भनिन्, ‘यसपटक पनि त्यस्तै होलाजस्तो छ।’
मौसमविद् मानन्धरका अनुसार अहिले भने देशैभरि मनसुनी वायुको प्रभाव छ।
‘तीन घण्टाअघिको कुरा गर्नुपर्दा कोसी प्रदेशतिर पानी पनि परिरहेको छ, देशैभरि बादल लागेको अवस्था पनि छ’, उनले सोमबार बिहान १० बजेतिर भनिन्, ‘यस विषयमा हामीले रिसर्च गरिरहेका छौँ, निष्कर्षमा पुगेपछि मनसुन बहिर्गमनको बुलेटिन जारी गर्छाैं।’
नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गरेर क्रमशः फैलिँदै पश्चिमसम्म पुग्ने मनसुन बाहिरिँदा पनि पश्चिमबाट क्रमशः हट्दै हट्दै पूर्वबाटै निस्किन्छ।
मौसम महाशाखाले पनि सुदूरपश्चिमबाट क्रमश: मनसुन हट्न थालेपछि चरण-चरणमा बुलेटिन जारी गरेर जानकारी दिन्छ। अन्त्यमा नेपालको पूर्वी क्षेत्र कोसी प्रदेशबाट पनि बाहिरिएपछि मनसुन नेपालबाटै बाहिरिएको घोषणा गर्छ।
मौसमविद् मानन्धरका अनुसार नेपालबाट मनसुन अहिलेसम्म सबैभन्दा ढिला सन् २०१२ मा अक्टोबर १९ तारिखमा बाहिरिएको थियो।
Shares

प्रतिक्रिया