लगातारको वर्षापछि आइतबार उच्च विन्दुमा पुगेको सप्तकोसी नदीको पानीको बहाब घट्दै गएको छ।
आइतबार दिउँसो प्रतिसेकेन्ड ५ लाख ३० हजार ५४० क्युसेक बगेको सप्तकोसी नदीको पानीको बहाव अहिले पुरनै लयमा फर्किँदै गएको छ। सोमबार बिहान प्रतिसेकेन्ड ४ लाख १० हजार ६९५ क्युसेकमा बगेको थियो।
अहिले पानीको सतह घटेर २ लाख ३५ हजार ८५० क्युसेकमा झरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिए।
बहाव घटेसँगै कोशी ब्यारेजमा खोलिएका ५६ ढोकामध्ये अहिले ३५ वटा मात्रै खुला गरिएको प्रहरीले जनाएको छ।
सप्तकोसी नदीमा पानीको बहाव घटेपछि सोमबारदेखि कोशी ब्यारेज हुँदै पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन सहज बनाइएको छ।
आइतबार रातीसम्ममा साना निजी सवारी साधनहरुलाई आवत जावत गर्न दिइएकोमा सोमबार बिहानदेखि सबै सवारीहरु आवत-जावत गरेका थिए।
आइतबार दिउँसो पानीको बहाव अत्यधिक बढेपछि कोशी ब्यारेज आवत जावतमा रोक लगाइएको थियो। कोशी नदीको जलस्तर घट्दै गए पनि तटीय बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको छ।
Shares

प्रतिक्रिया