बारा जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकाल विवादमा परेपछि न्यायपरिषद्मा तानिएका छन्।
उनलाई सर्वोच्च अदालतले न्याय परिषद्मा हाजिर गर्ने गरी काजमा बोलाएको हो।
सर्वोच्च अदालतका एक अधिकारीले भने, ‘उहाँको आदेश विवादमा परेकाले अहिलेलाई काजमा तानिएको छ। थप छानबिन र कारबाहीको प्रक्रिया न्याय परिषद्ले अघि बढाउँछ।’
राजस्व छली र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अदालतमा उपस्थित नै नभएका एक प्रतिवादीलाई धरौटीमा छाड्ने आदेश दिएपछि उनी विवादमा तानिएका थिए। धरौटीमा छुट्ने व्यक्ति भारतीय नागरिक हुन्।
जिल्ला अदालत बार एसोसिएसनले उनीमाथि कारबाहीको माग गर्दै विज्ञप्ति नै जारी गरेको थियो। उनलाई कारबाही नगरे इजलास नै बहिष्कार गर्ने चेतावनीसमेत बारले दिएको थियो।
न्याय परिषद्ले भने अहिलेसम्म उनीमाथि कारबाहीका विषयमा कुनै निर्णय गरिसकेको छैन।
न्याय परिषद्का अध्यक्ष प्रधानन्यायाधीश हुन्छन्।
बहालवाला न्यायाधीशका कामकारबाही र आचरणका विषयमा न्याय परिषद्ले छानबिन गरी कारबाही गर्ने कानुनी व्यवस्था छ।
घरबेटीको बिचौलियाको सेटिङमा आदेश : बार
न्यायाधीश ढकालले बिचौलियाको सेटिङमा अदालतमा उपस्थित नै नभएका व्यक्तिलाई धरौटीमा छाडेको आरोप जिल्ला बार एसोसिएसनले विज्ञप्तिमा किटानीसाथ लेखेको छ। ती बिचौलिया घरबेटी रहेको पनि विज्ञप्तिमा उल्लेख छ।
भारत, रक्सौलका अशोककुमार सिन्हा र उनकी छोरी निवेदिका सिन्हालाई हाजिर नगराई सेटिङमा अर्कै व्यक्तिलाई हाजिर गराएर गैरकानुनी आदेश गरेको ढकालमाथि आरोप छ। ढकालले यो आदेश असोज ५ गते गरेका छन्।
यस्तो छ बारको विज्ञप्ति
‘नेपाल बार एसोसिएसन विधिको शासन, मानव अधिकारको संरक्षण, स्वतन्त्र न्यायपालिका तथा निष्पक्षताप्रति समर्पित संस्था हो। बारा जिल्ला अदालतका मा. न्या. श्री भोलानाथ ढकालज्यूले मिति २०८२।०६।०५ गतेका दिन सम्पत्ति शुद्धीकरण मुद्दा थान २ र राजश्व छली मुद्दा थान १ समेत ३ थान मुद्दामा फरार रहेका भारतीय नागरिक प्रतिवादी अशोक कुमार सिन्हालाई कानुनविपरीत उनाऊ व्यक्तिलाई हाजिर गराएको, धरौटीमा छाडेको, उक्त आदेश बिचौलियाको सेटिङमा रकम लेनदेन गरी भएको भनी विभिन्न अनलाइन पत्रपत्रिकामा प्रकाशित समाचारप्रति यस बार एसोसिएसनको गम्भीर ध्यान आकर्षण भएको छ। माननीय न्यायाधीश भोलानाथ ढकालज्यूले बिचौलिया (घरबेटीको सेटिङ) को चाँजोपाँजोमा कानुनविपरीत आदेश भएकोले माननीय न्यायाधीशज्यूको उक्त कार्यले न्यायपालिकाप्रतिको जनआस्था, जनविश्वास, कानूनी शासनमा प्रत्यक्ष रूपमा असर परेको महसुस हुँदा यस बारा जिल्ला अदालतका मा. न्या. श्री भोलानाथ ढकालज्यूले उक्त कार्य क-कसको सेटिङमा कानुनविपरीतको उक्त आदेश गर्नुभएको हो ? सो सम्बन्धमा सूक्ष्म तवरले अनुसन्धान गरी माननीय जिल्ला न्यायाधीशज्यू, कर्मचारी तथा बिचौलिया समेतका व्यक्तिलाई कानुनबमोजिम कारबाही गर्नका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने भनी मिति २०८२।०६।१५ मा बारा जिल्ला अदालत बार एसोसिएसन कलैयाबाट निर्णय भएकोले उपर्युक्तअनुसार कानूनी कारबाही गरी अदालतप्रतिको जनविश्वास कायम गर्न गराउन यो बार एसोसिएसन जोडदार माग गर्दछ।
साथै सम्बन्धित निकाय न्याय परिषद् समेतबाट उक्त विषयमा ठोस निर्णय नआएसम्म यस बार एसोसिएसनले माननीय न्यायाधीश भोलानाथ ढकालको बेन्च बहिष्कार गर्ने निर्णयसमेत भएको व्यहोरा सरोकारवालाको जानकारीका लागि अनुरोध गरिन्छ।’

Shares

प्रतिक्रिया