‘यही हिउँदमै बिहे गरिहाल्ने सल्लाह हुँदै थियो। यसै बीचमा उसको युरोपको भिसा लाग्यो। अब ‘पाँचसात वर्ष पर्ख’ पो भन्छ। कसरी पर्खिनु?’
‘जाबो पाँचसात वर्ष! के गाह्रो छ त!’
‘के गर्ने भन् त?’
‘स्नातक तह पास गरिहालिस् क्यारे, अब त्रिविविमा स्नातकोत्तर भर्ना हुनु। भइ त गयो।’
‘के भन्छे यो? फेरि त्यो प्रोग्राम जम्मा दुई वर्षे होइन र!’
‘हुन त हो नि। एक त, क्याम्पसमा नियमित क्लासै हुँदैन। क्लासै नभएपछि निर्धारित कोर्स सकिने कुरै भएन। त्यसमाथि आन्दोलन, ढुङ्गामुढा, धर्ना र तालाबन्दी! कुनै पनि परीक्षा निर्धारित समयमा हुँदैन। रिजल्ट हुन एकडेढ वर्ष लागिहाल्छ। अनि थेसिस... खास्साको प्रतीक्षालय! तेरो पाँचसात वर्ष नाथे त बल्खुको रिजल्ट टाँस्ने भित्तामा आफ्नो सिम्बोल नम्बर खोज्दाखोज्दै मिलिक्कै बित्छ।’
क्यान्टिनमा पल्लो टेबिलमा बसेर मःमः खाँदै गरेका सुमन र रेविकाको संवाद हो यो।
यहाँ रेविका सुमनलाई क्याम्पस भर्ना हुन सुझाउँदै थिई।
स्ववियु निर्वाचनपछि लामो अन्तरालमा क्याम्पस लाग्यो।
क्लासमा एउटा अनुहार चिनेचिने जस्तो लाग्यो।
सुमन रहिछे।
Shares

प्रतिक्रिया