समाज


सीआईबीबाट पक्राउपछि पनि महरामाथि अख्तियारको अनुसन्धान नरोकिने

सीआईबीबाट पक्राउपछि पनि महरामाथि अख्तियारको अनुसन्धान नरोकिने

नेपालखबर
असोज २७, २०८२ सोमबार १३:३३, काठमाडौँ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले माओवादी उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई पुनः पक्राउ गरी सुन तस्करी प्रकरणमा अनुसन्धान अघि बढाएको छ। 

सीआईबीले महरालाई आइतबार पक्राउ गरी भन्सार छली तथा संगठित अपराधको कसुरमा अनुसन्धान अघि बढाएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसै प्रकरणमा बयान लिएको केही दिनमै महरा सीआईबीको हिरासतमा पुगेका हुन्।

सीआईबीले पुनः अनुसन्धान गर्न थाले पनि अख्तियारले महरामाथि चलाउन लागेको मुद्दाको प्रक्रिया भने नरोकिने भएको छ।

‘सीआईबीले भन्सार छली र संगठित अपराधको कसुरमा अनुसन्धान गर्न लागेको हो,’ अख्तियारका एक अधिकारीले नेपालखबरसँग भने, ‘यताबाट भ्रष्टाचार मुद्दा चल्ने हो। सार्वजनिक पदाधिकारी भएर तस्करीको सुन छुटाउन पदीय हैसियतको दुरुपयोग गरेको देखिन्छ।’

अनुसन्धानको प्रक्रिया अन्तिम चरणमा पुगेको र अब चाँडै नै मुद्दा अदालतमा जाने ती अधिकारीको भनाइ छ।

०७९ पुस १० गते फ्लाई दुबईको जहाजमार्फत नेपाल आएका चिनियाँ नागरिक लि हानसोङले २ वटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० वटा विद्युतीय चुरोट (भेप) मा लुकाएर अवैध रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा सुन भित्र्याएको प्रकरणमा महरा जोडिएका छन्।

प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले हिजो जारी गरेको विज्ञप्तिअनुसार, २०७९ पुस १० गते फ्लाई दुबईको उडान नं एफजेड०५८७ बाट नेपाल आएका चिनियाँ नागरिक ली हानसोङले अवैध रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं हुँदै नेपालमा ल्याउँदै गरेको अवस्थामा उक्त भेप जफत भएको थियो। भेपभित्रको ८ करोड ५५ लाख २८ हजार रूपैयाँबराबरको सुन भन्सार कार्यालयका नायब सुब्बा रेवन्त खड्कामार्फत बेचबिखन गरी आपराधिक समूह बनाई संगठित रूपमा आपराधिक लाभ लिएको देखिएकोले महरालाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad