समाज


जेनजीका नाममा कर्मचारी धम्क्याउँदै हिँडेका शाहीसँग प्रहरीकै असईको परिचय पत्र

जेनजीका नाममा कर्मचारी धम्क्याउँदै हिँडेका शाहीसँग प्रहरीकै असईको परिचय पत्र

नेपालखबर
असोज ३०, २०८२ बिहिबार १६:५४, काठमाडौँ

जेनजीको अगुवा बताउँदै सरकारी कर्मचारीलाई धम्कयाउँदै हिँडेका ठगी आरोपी अर्जुन शाहीले प्रहरीको परिचय पत्र पनि दुरुपयोग गरेको भेटिएको छ। 

शाहीलाई जिल्ला प्रहरी परिसर काठमाडौँले बुधबार पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। अनुसन्धानको क्रममा उनले केही दिन पहिले चाबहिलको एक होटलमा प्रहरीको परिचय पत्र राखेर कोठा लिएको फेला परेको काठमाडौँ प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए। 

उनले त्यो परिचय पत्र जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटेर लगेको प्रहरीको दाबी छ। उनीसँग अख्तियारमा कार्यरत सहायक निरीक्षक (असई) को परिचय पत्र फेला परेको हो। 

शाहीले यो परिचय पत्र देखाएर अन्य व्यक्तिलाई पनि धम्क्याएको हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान अगाडी बढाएको छ। जेनजी आन्दोलनपछि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न कार्यालयमा कर्मचारीलाई धम्क्याउँदै, राजीनामा माग्दै हिँडेका थिए।

उनले ठगेको भन्दै विभिन्न व्यक्तिहरु पनि प्रहरीको सम्पर्कमा पुगेका छन्। एसपी भट्टराईका अनुसार केही व्यक्तिहरुले आफूलाई पनि ठगेको बताएका छन्। तर उनीहरु लिखित उजुरी लिएर पुगिसकेका छैनन्।

शाहीले यसअघि पनि वैदेशिक रोजगारीका नाममा विभिन्न व्यक्तिलाई ठगी गरेको र मुद्दा चलेको अभिलेख भेटिएको छ। उनले वैदेशिक रोजगारीका लागि जापान पठाउने भन्दै ठगी गरेको आरोपमा एक युवाले उजुरी दिएका थिए। प्रहरीले उनको उजुरीका आधारमा गएको वैशाखमा पक्राउ गरेर वैदेशिक रोजगार विभागमा पठाएको थियो। 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेर विभागमा बुझाएपछि उनलाई विभिन्न प्रहरी कार्यालयले पनि झिकाएका थिए। तर उनले ती मुद्दा अझै सल्टाइनसकेको प्रहरी स्रोतको भनाइ छ। 

यस्तै प्रहरी वृत्त महाराजगन्जमा पनि उनीविरुद्ध चेक बाउन्सको उजुरी परेको थियो। एक युवतीले आफ्नो १० लाख ३० हजार रुपैयाँ शाहीले ठगी गरेको भन्दै २०८१ वैशाख २७ गते प्रहरीमा उजुरी दिएकी थिइन्। 

२०८१ पुस २३ गते पनि उनीविरुद्ध अर्को उजुरी परेको भेटिएको छ। बौद्ध प्रहरी वृत्तमा ७ लाख रुपैयाँको चेक बाउन्सको उजुरी उनीविरुद्ध परेको थियो। 

महाराजगन्ज वृत्तमा २ लाख रुपैयाँको चेक बाउन्सको अर्को जाहेरी पनि उनीविरुद्ध दर्ता भएको छ। स्वयम्भू वृत्तमा २०८२ वैशाख २३ गते अर्को उजुरी दर्ता भएको छ। एक महिलाले १० लाख रुपैयाँको चेक बाउन्सको उजुरी उनीविरुद्ध दिएकी थिइन्। 

यी सबै मुद्दामा प्रहरीले कारबाही बारे जानकारी लिइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad