समाज


निर्वाचन तयारी तीव्र, आज केन्द्रीय सुरक्षा समितिको बैठक

निर्वाचन तयारी तीव्र, आज केन्द्रीय सुरक्षा समितिको बैठक

नेपालखबर
कात्तिक २, २०८२ आइतबार ८:२२, काठमाडौँ

निर्वाचन तयारीअन्तर्गत आज (आइतबार) केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै छ।

शनिबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की तथा मन्त्रीहरूसहित चारै सुरक्षा निकायका प्रमुखबीच छलफल भएको भोलिपल्टै गृहमन्त्री ओमप्रकाश अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक राख्न लागेका हुन्। 

गृह मन्त्रालयका अनुसार बैठक अहिले बिहान ११ बजेका लागि मन्त्रालयमै बोलाइएको छ। 

केन्द्रीय सुरक्षा समितिका अध्यक्षसमेत रहेका गृहमन्त्री अर्यालको अध्यक्षतामा बस्ने बैठकमा सदस्यहरू रक्षा सचिव, गृह सचिव, नेपाल प्रहरी, सशस्त्र र अनुसन्धानका प्रमुख, नेपाली सेनाका रथी सहभागी हुनेछन्। 

उक्त बैठकले केन्द्रीय एकीकृत निर्वाचन सुरक्षा समितिले बनाउँदै गरेको एकीकृत सुरक्षा योजनामा भएका प्रगतिको समीक्षा गरी आवश्यक पृष्ठपोषण तथा नीतिगत निर्देशन दिनेछ।

गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखाका प्रमुख एवं सहसचिव आनन्द काफ्लेको नेतृत्वमा एकीकृत निर्वाचन सुरक्षा समिति गठन गरिएको छ। गृहमन्त्री अर्यालले कार्यभार सम्हाल्नासाथ यो समिति गठन गरेका हुन्। 

समितिमा चारवटै सुरक्षा निकायका प्रतिनिधि सदस्य छन् भने उपसचिव रवीन्द्र अधिकारी सदस्य-सचिव छन्।

यस समितिले बनाएको सुरक्षा योजना कार्यान्वयनका लागि प्रत्येक जिल्लामा पठाइनेछ। प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला एकीकृत निर्वाचन सुरक्षा समितिले उक्त योजनाको कार्यान्वयन गर्नेछ।

‘हामी पूर्ण क्षमताका साथ निर्वाचन तयारीमा जुटेका छौँ। एकीकृत निर्वाचन सुरक्षा योजना तीव्र गतिमा बन्दै छ,’ गृहमन्त्री अर्यालले शनिबार भने, ‘निर्वाचन आयोगसँग पनि सघन छलफल र समन्वय भइरहेको छ। सुरक्षा निकायहरूलाई आवश्यक स्रोतसाधनको कुनै कमी नहुने गरी काम भइरहेको छ।’

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि सरकार निर्वाचन सुरक्षा रणनीति बनाउन तीव्र रूपमा लागेको हो। 

सरकारले निर्वाचनलाई मुख्य प्राथमिकतामा राखेर आफ्ना सम्पूर्ण गतिविधि केन्द्रित गरेको छ।

यसअघि शनिबार राष्ट्रपतिको आह्वान र प्रधानमन्त्री तथा मन्त्रीहरूको उपस्थितिमा चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग शीतल निवासमा गहन छलफल भएको छ। छलफल निर्वाचनका लागि राजनीतिक वातावरण बनाउनेदेखि सुरक्षा अवस्था सदृढ पार्ने विषयमा केन्द्रित थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad