समाज


पर्वतमा नेपालकै अग्लो हाइलाइनको सफल परीक्षण

पर्वतमा नेपालकै अग्लो हाइलाइनको सफल परीक्षण

नेपालखबर
कात्तिक २, २०८२ आइतबार १९:५९, पर्वत

साहसिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको पर्वतमा नेपालकै अग्लो स्थानमा हाइलाइनको सफल परीक्षण गरिएको छ। 

जिल्ला सदरमुकाम कुश्माबजार र छिमेकी जिल्ला बागलुङको बलेवा जोड्ने गरी ‘द क्लिफ’ले सञ्चालन गरेको विश्वकै अग्लो बञ्जी पुल र ‘द हार्नेस’ प्रालीले सञ्चालन गरेको विश्वकै लामो ‘सुपरम्यान’ शैलीको जिपलाइनलाई जोडेर मुदुकमा पहिलोपटक अग्लो र लामो दूरीमा हाइलाइनको अभ्यास गरिएको हो।

हाइलाइन मानसिक तथा शारीरिक शक्ति परीक्षण गर्ने अत्यन्त रोमाञ्चक खेलका रूपमा मानिन्छ। कालीगण्डकी खोँचमा ४०८ मिटर लामो र २२८ मिटरको उचाइमा पहिलोपटक हाइलाइनको परीक्षण सफल भएको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए। 

हाल जर्मनीमा बसोबास गर्दै आएका धनकुटाको हिलेका शङ्कर कोइरालाले लामो समयदेखिको गहन योजनाका रूपमा यो कार्यक्रम गरेका हुन्। कोइरालाले १५ वर्षदेखि युरोपका विभिन्न ठाउँमा हाइलाइन गर्दै आएको बताउँदै लामो प्रयासपछि पर्वतमा पनि यो सम्भव भएको उल्लेख गरे। 

साहसिक पर्यटन प्रवर्द्धनको उद्देश्यले कोइरालाको संयोजनमा नेपालमा हाइलाइनको यस्तो प्रयास हुनु पर्यटकका लागि नयाँ खेलका रूपमा स्थापित हुने क्लिफका अध्यक्ष कार्कीले विश्वास व्यक्त गरे।  

पहिलोपटक गरिएको हाइलाइनको क्रु सदस्यमा कोइरालासहित तीन जना नेपाली र तीन विदेशी छन्। गत असोज २९ गतेदेखि सुरु भएको हाइलाइन कार्यक्रम शनिबार सकिएको छ। नेपाल स्ल्याकलाइन कम्युनिटी र लोकप्रिय एड्भेञ्चर हब ‘द क्लिफ’को सहकार्यमा यो हाइलाइन आयोजना गरिएको हो।

क्लिफका अध्यक्ष कार्कीका अनुसार नेपालमा पहिलोपटक यति उचाइमा हाइलाइन गरिएको हो। ‘यसले साहसिक पर्यटनमा नयाँ सम्भावनाका ढोका खोल्ने अपेक्षा गरिएको छ’, उनले भने। 

नेपाल स्ल्याकलाइन कम्युनिटीका सदस्यको अनुभव र युरोपेली प्रशिक्षकको सहयोगमा यो परियोजना अघि बढाइएको कोइरालाले बताए। उनका अनुसार खेल हेर्दा डरलाग्दो देखिए पनि पूर्ण रूपमा सुरक्षा मापदण्ड अपनाइएको थियो। ‘हाइलाइन २० मिटरबाट सयौँ मिटर उचाइमा तानिएको लाइनमा सेफ्टी हार्नेस र लिस प्रणालीसहित हिँड्ने साहसिक खेल हो। सन्तुलनका लागि गहिरो ध्यान, स्थिर नजर र श्वास नियन्त्रण अत्यावश्यक हुन्छ’, उनले भने।

वर्षायाम सकिएसँगै पर्वतमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ। सोही अवसरमा गरिएको हाइलाइन हेर्न पनि सयौँ पर्यटक सहभागी भएका थिए। यसबाहेक जिपनलाइन, बञ्जी, स्वीङ, स्काइसाइक्लिङ, मेगाट्रोल, पिङ, रक क्लाइम्बिङ, र्‍याफ्टिङका लागि पर्यटकको आकर्षण बढ्दै गएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad