समाज


कोरोनालाई जितेकी बागलुङकी १९ वर्षीया युवतीले यसरी सुनाइन् आफ्नो अनुभव

कोरोनालाई जितेकी बागलुङकी १९ वर्षीया युवतीले यसरी सुनाइन् आफ्नो अनुभव

खेमराज गौतम
बैशाख १३, २०७७ शनिबार ३:११,

बागलुङकी १९ वर्षीया युवती अंशु सापकोटा शुक्रबार कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएकी छन्।

उनको पाँचौँ र छैटौँ स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि धवलागिरि अञ्चल अस्पतालले डिस्चार्ज गरेको हो। बागलुङ नगरपालिका-४ कुँडुलेकी सापकोटाको पाँचौँ रिपोर्ट नेगेटिभ आएपछि पुनः स्वाब परीक्षणका लागि शुक्रबार पोखरा पठाइएको थियो।

पोखरामा गरिएको परीक्षणमा पनि रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार राति अस्पतालले अंशुलाई डिस्चार्ज गरेको धवलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.शैलेन्द्र बी पोखरेलले जानकारी दिए।

२८ दिनको अस्पताल बसाइपछि घर फर्कने क्रममा अंशुले आफूले कोरोनालाई जितेर घर हिँड्दा खुशीको सीमा नरहेको बताइन्।

आत्मबल नै सबैभन्दा ठूलो भएको भन्दै उनले धैर्यता गर्न सबैलाई आग्रह गरिन्। ‘सबैभन्दा ठूलो कुरा आत्मबल र धैर्यता रहेछ’, उनले भनिन्, ‘कोरोनालाई जित्न रोग प्रतिरोधी क्षमता बढाउँदै आत्मबल दह्रो बनाउँदै लगेँ।’

औषधि नै पत्ता नलागेको रोगलाई जित्ने उपाय धैर्य गर्नु र आत्मबल बढाउँदै लैजानुभएको भन्दै उनले उपचारमा संलग्न चिकित्सकलाई धन्यवाद दिइन्।

‘चिकित्सकहरुको परामर्श र अभिभावकको सान्त्वनाका कारण अस्पतालमा बिताएका २८ दिन लामो लागेन’, उनले आफ्नो अनुभव सुनाइन्।

‘२८ दिनको अवधिमा एक दिन पनि आफूलाई कमजोर बनाइँन, आत्मबल झनै दह्रो बनाएर बसेँ,’ उनले भनिन्। अन्य कोरोना सङ्क्रमितले पनि स्वास्थ्यको ख्याल गर्दै मनोबल बढाउँदै लैजानुपर्ने उनको सुझाब छ।

आफूले आफैँलाई कमजोर ठाने रोगले गलाउँदै लाने भन्दै उहाँले सबैलाई रोगप्रति सचेत रहन आग्रह गरिन्। ‘मानसिकरूपमा विचलित भएमा कमजोर भइन्छ। सबैलाई सकारात्मक सोच्न, आत्मबल र धैर्यता कायम गर्न म आग्रह गर्छु, यो नै कोरोनाको अचुक औषधि हो।’

छोरीलाई कोरोना सङ्क्रमित हुँदा जीवनमा सबैभन्दा बढी पीडावोध भए पनि २८ दिनमा छोरीलाई घर फर्काउन पाउँदा ज्यादै खुशी भएको अंशुका बुबा ऋषिराम सापकोटाले बताए। उनले छोरीलाई २८ दिनसम्म एक्लै अस्पतालमा राख्दा बाबुका नाताले धेरै पीडा भए पनि सकुसल घर फर्काउँदा पीडा खुशीमा परिणत भएको बताए।

अठ्ठाइस दिनको अस्पताल बसाइमा कुनै समस्या नभएको अंशुको भनाई छ। अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले गरेको हेरचाहप्रति आफू आभारी भएको उनले बताइन्। अस्पताल बसाइमा अंशुले आफूलाई कहिल्यै कमजोर नठानेको उपचारमा संलग्न डा.शैलेन्द्र बी पोखरेलले बताए। डिस्चार्जपछि उनलाई नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्समा राखेर प्रहरीले घर पुर्याएका थिए।

उनी चैत ४ गते बेल्जियमबाट कतार एयरवेजको विमान हुँदै नेपाल आएकी थिइन्। चैत १५ गते उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

यसै सातामात्रै नेपालको छैटौँ तथा जिल्लाको दोस्रो सङ्क्रमित बानपा–३ गौडाकोटकी ६५ वर्षीया मनकुमारी पौडेल दम र उच्च रक्तचापका बाबजुद पनि सहजै कोरोनालाई जितेर घर फर्किएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad